सम्पादकीय— असारे बजेट र त्यसले निम्त्याएको विपत्ति

मानवीय क्रियाकलापका कारण प्राकृतिक स्रोत र साधनको चरम दोहन, प्राकृतिक सम्पदाको विनास, बन्यजन्तुहरुको विनास जस्ता कारणले प्राकृतिक विपत्तिहरु आएका छन् । प्राकृतिक चक्र नियमित भएसँगै नेपालमा पनि अहिले प्रशस्त मात्रामा पानी परेको छ । जसले वर्षातमा बाढी, पहिरो र डुवानको संभावना र जोखिम बढाएको छ । लगातार परेको वर्षातको कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुवानहरु भएका छन् । पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा बाढीले डुवान भएको छ । विगतमा कोरोना कहरमा रहेको नेपाली अर्थतन्त्रलाई यसले थप प्रभावित बनाएको छ । नेपालमा बाढी र पहिरो आउने प्रमुख कारणको रुपमा मानवीय क्रियाकलाप नै हो । विकासको नाममा स्थानीय तह र वडा, गाउँटोलहरुमा मोटर बाटो र्लैजाने होडवाजीले गाउँघर अहिले पहिरोको जोखिममा परेको छ । डोजरले खनेका बाटोहरुमा जथाभावी फालिएको माटोको कारण पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम छ भने पहाडको पहिरोसँगै गएको बाढीले चुरे, तटीय तथा तराई, भित्रि मधेश क्षेत्रमा डुवान र बाढीहरु बढेको छ । नेपालको असारे बजेट सक्काउन वर्षातको समयमा हतार हतार गरेर डोजर लगाउँदा पानीसँगै करोडौं रकम राताम्य र हिलाम्य हुँदै खोलामा पुगेको छ ।

जसले एकातर्फ सरकारी ढुकुटीको अरबौं रकम सकिएको छ भने अर्को तर्फ बाढी, पहिरो, विपत्ति जस्ता प्राकृतिक विपत्तिले धनजनको क्षति भएको छ । स्याङ्जाको वालिङ ११ मा आंधीखोलामा पुल निर्माण गर्न थालिएको ५ बर्ष भयो । २ बर्षमा निर्माण भैसक्नुपर्ने पुल हालसम्म पनि नवन्दा यसले विपद निम्ताउने खतरा बढेको छ । विकासे वजेटको लागि सबैले असार कुर्ने परिपाटीको अन्त्य हुनु जरुरी छ । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । आंधीखोला लगायत अन्य धेरै खोलाहरुमा यस्ता कैयौं पुलहरु निर्माण शुरु गरेर अलपत्र छाडिएको छ । हिउदमा खन्नुपर्ने बाटो बजेट सिद्धाउनैका लागि यतिबेला खन्दा धेरै ठांउका खेतीयोग्य जमिनहरु पुरिएका छन् । वालिङ ११ को आंधीखोलामा निर्माणाधिन पुल पूर्ण नहुदां डौवा फाटमा आंधीखोला पस्ने जोखिम बढेको छ । काम गर्नलाई असारै कुर्नुपर्ने मानसिकताले दिगो विकास हुन सकेको छैन् ।

असारमासमा खनिएका धेरै ग्रामिण बाटाहरुबाट आएको ढुंगामाटो सहितको भेलपानीले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । भीरकोटको सिमलचौर फांटमा ग्रामिण सडककै कारण धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । ठेकेदार मात्रै धनी हुने सर्वसाधारण कृषक झन गरिब हुने कस्तो खालको विकास हो भनेर जनताहरुले प्रतिप्रश्न गर्न थालेका छन् । त्यसको न्यूनिकरणका लागि नेपालका नीति निर्माता, तीनतहका सरकार, जनप्रतिनिधिहरुको ध्यान बेलैमा पुग्नुपर्ने हुन्छ । अन्यथा नेपालमा पछिल्ला समयमा विकासका नाममा हुने यस्ता विनासात्मक विपत्तिले विकास नभइ थप संकट र जटिलताहरु आउन सक्दछ त्यसतर्फ सबै सरोकारवाला निकायको ध्यान पुग्नु आवश्यक रहेको छ ।

 

 

प्रतिक्रिया