स्थानीय तहमा अघिल्लो वर्षको भन्दा घटेर आयो बजेट

स्याङ्जा ।
स्याङ्जाका स्थानीय तहमा अघिल्लो वर्षको भन्दा बजेट घटेर आएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ स्थानीय तहलाई ४ अर्व ६३ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लाका पालिकालाई विनियोजन भएको यो रकम आर्थिक वर्ष २०७८÷७९ को भन्दा २ करोड ४६ लाख कम हो । गत आर्थिक वर्षमा ४ अर्व ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएकोमा अहिले ४ अर्व ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ । राजस्व सङ्कलनमा आएको कमीसँगै सरकारले अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेटको आकार घटाएको हो । स्याङ्जाका स्थानीय तहका लागि यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा ०.५३ प्रतिशत कम हो ।
यो वर्ष अनुमान गरिएकोभन्दा निकै कम राजस्व उठेकाले बजेट घटेर आएको विज्ञहरुको भनाई छ । राजस्व सङ्कलन कम भएपछि अर्थ मन्त्रालयले जिल्लाका अधिकांश स्थानीय तहको यो आर्थिक वर्षको बजेटमा समेत रकम कटौती गरेको थियो । बजेट घटेपछी धेरैजसो स्थानीय तहहरुले सरकारी खर्चमा मितव्ययिता कायम गर्ने योजनाहरु अघि सारेका छन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बजेटको बुदाँ नंं ४२३ मा संघियता कार्यान्वयनको लागि काम गरिनेछ भनिएतापनि कार्यान्वयनको लागि बजेट नछुट्टाइएको गुनासो गरे । थापाले यो बजेट संघियता बिरोधी भएको बताए । बजेट घटेर आएपछि आन्तरिक आय बढाउने योजना रहेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको भनाई छ ।
पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र आधिँखोला गाउँपालिकाको बजेट गतवर्ष भन्दा बढी र अन्य पालिकामा कम विनियोजन भएको छ । यो वर्ष विनियोजन भएको रकम मध्ये स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७५ करोड ४ लाख र ६ गाउँपालिकाको लागि १ अर्ब ८८ करोड ७४ लाख विनियोजन गरिएको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ४० करोड २२ लाख विनियोजन भएको छ । वालिङ नगरपालिकालाई ६० करोड ९० लाख, गल्याङ नगरपालिकालाई ५२ करोड ८५ लाख र चापाकोट नगरपालिकालाई ४८ करोड ७९ लाख विनियोजन गरेको छ ।
गाउँपालिकामा सबैभन्दा बढी आधिँखोला गाउँपालिकालाई ३५ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम फेदीखोला गाउँपालिकालाई २६ करोड ९९ लाख विनियोजन भएको छ । कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ३६ लाख, विरुवा गाउँपालिकालाई ३२ करोड ६८ लाख, अर्जुनचौपारी गाउँपालिकालाई २८ करोड ९४ लाख र हरिनाश गाउँपालिकालाई २८ करोड ९० लाख विनियोजन भएको छ ।
प्रतिक्रिया