भीरकोटको गौशालाले प्रशोधित गौमुत्र उत्पादन गर्न थाल्यो

अमृत अर्याल
स्याङ्जा ।
जिल्लाको भीरकोट नगरपालिका सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन गर्न सफल देखिएको छ । नगरपालिकाको सहयोगमा स्थानीय समिति मार्फत वडा नं. ८ को छोरेडाँडा र वडा नं. ४ को धरमपानीमा गौशाला संचालनमा रहेको छ । वडा नं. ८ को छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरि गोअर्क उत्पादन गर्न थालेको छ । गौमुत्र प्रशोधन गर्ने आधुनिक मेसिन जडान गरि गौशालाले औषधीजन्य गोअर्क उत्पादन गर्न थालेको हो ।
गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर रु ४ सयमा बिक्री गर्ने भएको छ । यस गौशालाद्धारा उत्पादित गौमुत्र अब बजारमा पनि किन्न पाउने व्यवस्था मिलाइने छोरेडाँडा गौशाला व्यवस्थापन तथा प्रवद्र्धन समितिका संरक्षक छायाराम खनाल बताउँछन् । उनले भने, “बिहानको समयमा सुर्याेदय हुनभन्दा अगाडी गहुत थापी आधुनिक हिटिङ प्लान्टमा पकाई त्यसबाट निस्किएको गहुत प्याक गरेर बिक्री गर्न थालेका हौँ”
खनालले भने, “अहिले गौशालामा २९ गाई छन् ।” । विगतमा प्रतिबोरा रु १ सयका दरले मल बेचेर १ बर्षमा ४० हजार कमाएको गौशालाले अब गहुत पनि बिक्री गर्ने भएको हो । गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती र फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले अब किलोका हिसाबले बिक्री गर्ने योजना रहेको खनाल बताउछन् ।
समितिका अनुसार गौशालामा रहेको गहुत प्रशोधन केन्द्रबाट दैनिक १० लिटरसम्म गोअर्क उत्पादन हुन्छ । प्रशोधित गहुत (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाईदा भएको समितिका अध्यक्ष खुमकान्त खनाल बताउछन् । स्थानीयले मर्दापर्दा देखि पुजाआजामा समेत यहीका गाईकोे सुविधा लिँदै आएका छन् । उक्त कार्यवापत गाईको न्यूनतम मूल्य लिने निर्णय समितिले गरेको छ ।
भीरकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग र स्थानीयको ६ लाख गरि १६ लाखमा निर्माण भएकोे गौशाला गएको बर्षदेखि स्थानीय समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन खर्च समिति आफँैले बेर्होने गरेको छ । नगरपालिकाले वार्षिक रु १ लाख ८० हजार छुट्याउने गरेकामा त्यो रकम १ जना पशु सेवकमै खर्च हुने गरेको छ । त्यहाँ ३ जना गौसेवक कार्यरत छन् । १ जना गोअर्क उत्पादनका रुपमा कार्यरत छन् । ३ जनाको तलब खर्च वार्षिक ५ लाख जति रहेको अध्यक्ष खनालको भनाइ छ । पालिकाले दिने रकम १ जनाको तलबमै खर्च हुने भएपछि पशुको आहारा तथा अन्य व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ ।
प्रतिक्रिया