शिक्षक सरुवा प्रकरण— सरुवाको रिटमा कारण देखाउ आदेश

वालिङ ।
वालिङ नगरपालिकाले कानुन विपरीत शिक्षक सरुवा गरेपछि अभिभावकहरु न्याय माग्न अदालत पुगेका छन् । शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको दोहोरो सहमति नगराई नगर शिक्षा समितिले सरुवा गरिदिएको थियो । विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिइ गरिएको सरुवा बदर गर्न अभिभावकहरुले माग गरेपनि नगरपालिकाले बेवास्था गरेको थियो । नगरपालिकाले अभिभावकको माग सुनुवाई नगरेपछि सरुवाको बदर माग गर्दै रणविर जनहित माध्यमिक विद्यालयका अभिभावकहरु न्याय खोज्दै उच्च अदालत पोखरा पुगेका छन् ।

अभिभावकहरुले दायर गरेको रिटको उच्च अदालत पोखराले सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । अभिभावकको तर्फबाट पुष्पकमल रेग्मीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रेग्मीले दायर गरेको रिटको सुनुवाई गर्दै अदालतले वालिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय, वालिङ नगरपालिकाको नगरकार्यपालिकाको कार्यालयका नगर प्रमुख कृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वालिङ नगर शिक्षा समितिको कार्यालय, वालिङ नगर शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले र नगर शिक्षा समितिका सदस्य लक्ष्मीप्रसाद रेग्मीलाई कारण सहित छलफलमा आउन अदालतले आदेश दिएको छ । अदालतले कारण सहित कार्तिक २७ गते अदालतमा आफै वा प्रतिनिधि पठाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अदालतले कारण देखाउ आदेश दिएका शिक्षा समितिका सदस्य लक्ष्मीप्रसाद रेग्मी रणविर जनहित माविका प्रधानाध्यापक समेत हुन् ।

वालिङ नगर शिक्षा समितिले असोज १३ गते महेन्द्र माविका शिक्षक अर्जुन पोख्रेललाई रणविर जनहित मावि र रणविर जनहित माविका शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा सरुवा गर्ने निर्णय गरेको थियो । दुवै विद्यालयका व्यवस्थापन समितिको सहमति नगराई नगर शिक्षा समितिले शिक्षक सरुवा गरेपछि उक्त निर्णय विवादित बन्न पुगेको हो । शिक्षक सरुवा निर्देशिका २०८१ र वालिङ नगर शिक्षा ऐनमा शिक्षक सरुवा गर्दा दोहोरो विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने उल्लेख छ । तर नगर शिक्षा समितिले व्यवस्थापन समितिको सहमतिबेगर सरुवा गरेपछि रणविर जनहित माविका अभिभावकहरु असन्तुष्ट भएका हुन् । रणविर जनहित माविका प्रअ रेग्मी नगर शिक्षा समितिको सदस्य समेत हुन् । उनले विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिइ शिक्षक सरुवा गर्ने निर्णय गरेपछि विद्यालयका अभिभावकहरु प्रअ रेग्मी प्रति रुष्ट भएका छन् ।

 

प्रतिक्रिया