वालिङ नगरको सफल कार्यक्रम—‘कृषि उद्यमशीलतामा नागरिकलाई जोड्ने परियोजना’

वालिङ ।
वालिङ नगरपालिकालाई कृषिमा उद्यमशीलता बनाउने उदेश्यले संचालन गरिएको वालिङ कृषि विकास परियोजना सफल कार्यक्रम भएको निष्कर्ष निकालिएको छ । वालिङ नगरपालिकाको कार्यपालिका सहित परियोजना अनुगमन तथा समन्वय बैठकले नागरिकलाई उद्यमशीलतामा जोड्दै आयआर्जनमा टेवा पुराउन यो परियोजनाले सफलता मिलेको निष्कर्ष निकालिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको जनप्रतिनिधिहरुको बुझाई छ ।
नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको बृत्तचित्र मार्फत जानकारी गराईएको थियो । नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।
साना किसानको गोठ सुधार, बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । समिक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधिमा नै उत्कृष्ट काम गर्न सफल भएको बताए । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको खाँणको भनाई छ ।
साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल र सक्षम हुने नगरप्रमुख खांणले बताए । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खाँणको भनाई छ । कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न यो कार्यक्रम निकै प्रभावकारी भएको बताए । सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल, भीम बहादुर गुरुङ, छबिलाल आले, श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनीहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमले नागरिकलाई उद्यमहीलतामा जोडिन खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए । छलफलमा कार्यपालिका सदस्यहरु, विभिन्न शाखाको प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसर चालु आर्थिक बर्ष २०८१÷८२ को फागुन सम्ममा गरिएका क्रियाकलापको बारेमा जानकारी गराईएको परियोजनाका संयोजक डुम्रेले जानकारी दिए ।
प्रतिक्रिया