‘गल्याङका सुत्केरी आमालाई घरमै कोसेली’

क्रान्ति अर्याल,
गल्याङ ।
सुत्केरी आमाहरुको स्वास्थ्य जोखिम न्युनिकरण गर्न गल्याङ नगरपालिकाले ‘उपप्रमुखसँग सुत्केरी भेटघाट तथा पोसिलो झोला’ कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम उत्कृष्ट उदाहरण बनेको छ । ‘उपप्रमुखसँग सुत्केरी भेटघाट तथा पोसिलो झोला वितरण कार्यक्रम’ अन्तर्गत गल्याङ नगरपालिकाले सुत्केरी आमाहरुलाई पोषणयुक्त सामग्री हस्तान्तरण गर्दै स्वास्थ्य प्रति चासो र सहानुभूतिको सन्देश फैलाएको छ ।

अहिलेसम्म दुई वडामा ४८ जना सुत्केरी आमाहरुलाई यो कार्यक्रम पुगेको छ । सबै वडाहरुमा पु¥याउने उदेश्यका साथ नगरपालिकाले सुत्केरी आमाहरुलाई पोसिलो सामाग्री वितरण गरिरहेको छ । कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिका वडा नम्बर ९ मा सम्पन्न गरेको गल्याङ उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् । नगरप्रमुख गुरुप्रसाद भट्टराई र वडा अध्यक्ष नामदेब खनालको सहभागितामा २६ जना सुत्केरी आमाहरुलाई भेटघाट गरी पोसिलो झोला वितरण गरिएको उपप्रमुख न्यौपानेले बताइन् ।

त्यस्तैगरी गल्याङ नगरपालिका वडा नम्बर ६ पिडिखोलामा पनि २२ जना सुत्केरीलाई भेटेर पोसिलो झोला वितरण गरिएको छ । झोलामा एक क्यारेट अण्डा, हर्लिक्स, घिउ र सरसफाइ सामग्रीहरु राखिएको छ । जसले सुत्केरी आमाहरुको स्वास्थ्य सुदृढीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उनीहरुलाई गर्भवती हुँदा समय समयमा चेकजाँच गर्ने र बच्चा स्वास्थ्य संस्थामै जन्माउन सुझाव पनि दिइने गरेको नगरपालिकाले जनाएको छ ।

आफ्नै वडामा आएर जनप्रतिनिधिबाट पोषण सामग्री पाउँदा सुत्केरी महिलाहरुको अनुहारमा खुशी झल्किएको बताइएको छ । स्वास्थ्यप्रति गम्भीर प्रतिबद्धता जनाउँदै, सम्पूर्ण वडामा यस कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । नागरिकको स्वास्थ्यमा स्थानीय सरकारको दायीत्व भएकाले नगर भित्र रहेका सबै सुत्केरी महिलाहरुलाई यो कार्यक्रम मार्फत सहयोग गर्दै आएको भट्टराईले बताए ।

 

 

प्रतिक्रिया