स्थानीयतहको सवारी साधनमा झण्डै ४ अर्व खर्च
स्याङ्जा ।
महालेखापरीक्षक कार्यालयले पेश गरेको आर्थिक बर्ष २०८०÷८१ को ६२औं प्रतिवेदनमा स्थानीयतहले सवारी साधन खरिद, मर्मत र इन्धनमा झण्डै ४ अर्व रकम खर्च गरेका छन् । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ३ अर्व ६७ करोड १६ लाख ३४ हजार रकम सवारी साधन खरिद, मर्मत र इन्धनमा खर्च गरेको उल्लेख गरेको छ । यो खर्च अत्याधिक भएको र खर्चमा मितव्ययीता अपनाउन समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ मा ४५ स्थानीयतहले ३५ करोड २२ लाख १४ हजारको चारपाङ्ग्रे सवारी साधन र ७७ स्थानीयतहले ९ करोड ५९ लाख ७८ हजारको दुईपाङ्ग्रे सवारी साधन खरिदमा ४४ करोड ८१ लाख ९२ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । साथै ३७६ स्थानीयतहले सवारी साधन मर्मतमा १ अर्व १६ करोड ५० लाख ४३ हजार र ४१६ स्थानीयतहले इन्धनमा २ अर्व ५ करोड ८६ लाख ९९ हजार गरी ३ अर्व २२ करोड ३४ लाख ४२ हजार खर्च गरेको उल्लेख गरेको छ ।
स्याङ्जाका स्थानीयतहले सवारी साधन खरिद, मर्मत, इन्धनमा कति खर्च गरेका छन् भन्ने तथ्याङ्क सार्वजनिक गर्न केही ढिलाई हुने महालेखापरीक्षक कार्यालयले जनाएको छ । स्याङ्जामा सवारी खरिदमा भन्दा मर्मत र इन्धनमा धेरै खर्च गरेको अनुमान लगाइएको छ ।


प्रतिक्रिया