विद्यार्थीलाई साहित्यमा जोड्दै अभियान्ता मिलन

क्रान्ति अर्याल,
गल्याङ ।

साहित्यिक चेतना र सिर्जनशील लेखन प्रति विद्यार्थीहरूमा अभिरुचि जगाउने उद्देश्यले साइन भिलेज इन्टरनेशनल एकेडेमी, वालिङमा शुक्रबार ‘विद्यार्थीसँग मिलन समीर’ नामक विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम ‘सिर्जनशील संवाद’ शृङ्खलाको पहिलो कडी हो । जसमा युवा कवि तथा साहित्यिक अभियान्ता मिलन समीर प्रमुख वक्ताका रूपमा सहभागी थिए ।

उक्त कार्यक्रममा विशेष रूपमा सिर्जनशील लेखनको आधारभूत अभ्यास, पाठ्यपुस्तक बाहिरको अध्ययनको महत्व, लेखन र जीवनबीचको सम्बन्ध, विद्यार्थी अवस्थामै साहित्यमा लाग्ने प्रेरणा र विधि, कविता, निबन्ध, कथा, संवाद लेखन अभ्यासका तरिका लगायतका विषयमा युवा कवि मिलन समीरले विद्यार्थीहरूसँग आफ्ना अनुभव र दृष्टिकोणको बारेमा प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा विद्यार्थीसँग खुला संवाद हुँदै साहित्य लेखनमा निरन्तर अभ्यास र जीवनका अनुभव कसरी समेट्न सकिन्छ भन्नेबारे प्रेरणादायी छलफल भएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले ‘सिर्जनशील संवाद’ कार्यक्रम हरेक महिनाको तेस्रो शुक्रबार नियमित रूपमा आयोजना गरिने बताए । उनले कार्यक्रम मार्फत समाजका उदाहरणीय व्यक्तित्वलाई विद्यालयमा आमन्त्रण गरिने र विद्यार्थीहरुलाई जीवनका विविध पाटोसँग परिचित गराइने योजना बनाइएको बताए । साहित्यिक बौद्धिकता र सृजनात्मकताको समन्वय गर्ने उद्देश्यले गरिएको यस्तो खालको संवाद कार्यक्रम स्याङ्जाको सन्दर्भमा पहिलोपटक भएको हो ।

उक्त कार्यक्रमको सहजीकरण कक्षा १० की छात्रा सिमरन खड्काले गरेकी थिइन् । स्याङ्जाकै करादीखोलामा जन्म लिनु भएका मिलन समीर पछिल्लो पुस्ताका सशक्त र जिम्मेवार साहित्यिक व्यक्तित्वका रुपमा परिचित छन् । कवि समीरका ‘गाउँमा साइरन बजेपछि’, ‘प्रिय दुश्मन’, ‘मिलन समीर र मिलन समीरहरू’, ‘मिलनमन्त्र’ जस्ता कृति प्रकाशित छन् भने ‘समीरसूत्र’ नामक गजल संग्रह छिट्टै प्रकाशित हुँदैछ । गल्याङ प्रज्ञा प्रतिष्ठानका संस्थापक सचिव समेत रहेका समीर विभिन्न सिर्जनात्मक अभियन्ताको रूपमा चिनिदै आएका छन् । स्याङ्जाली साहित्यलाई समर्पित योगदानका लागि मिलन स्थानीय र राष्ट्रिय स्तरका पुरस्कारले समेत सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया