वालिङबाट राष्ट्रिय परिचयपत्र वितरण
स्याङ्जा ।
स्याङ्जाको इलाका प्रशासन कार्यालय वालिङले राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । इलाका प्रशासन कार्यालय र वडा कार्यालयमा खिचिएका राष्ट्रिय परिचयपत्र वालिङ्ले वितरण गरेको हो । इलाका प्रशासन कार्यालय वालिङ्ले चापाकोट, गल्याङ र वालिङ नगरपालिका पुरै, हरिनासका ३, बिरुवाका ३, भीरकोटका ३ वडाको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत प्रशासनीक सेवा गर्दै आएको छ । इलाका प्रशास कार्यालयले सेवा प्रवाह गर्ने सबै क्षेत्रको राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागिएको लेखा प्रमुख विशाल पराजुलीले जानकारी दिए ।
लामो समयदेखी राष्ट्रिय परिचयपत्रको प्रतिक्षामा बसेका नागरिकले अव धमाधम परिचयपत्र पाउने पराजुलीले बताए । २०७८ सालदेखी २०८१ सालसम्म फोटो खिचाएका ३९ हजार नागरिकले यो सुविधा पाउने छन् । राष्ट्रिय परिचयपत्र पाउने नागरिकको मोवाइलमा म्यासेज समेत पठाइसकिएको लेखा प्रमुख पराजुलीले बताए । पहिलो चरण ५ सयजनालाई राष्ट्रिय परिचयपत्र लिन आउनु भनेर म्यासजेज पठाएका छौं पराजुलीले भने,‘दैनिक मोवाइलमा म्यासेज पठाउछौं, म्यासेजकै आधारमा राष्ट्रिय परिचयपत्र वितरण गछौं ।’ मोवाइलमा म्यासेज पुगेका सेवाग्राहीले मात्रै राष्ट्रिय परिचयपत्र पाउने छन् उनले भने ।
अहिलेसम्म इलाका प्रशासन कार्यालय वालिङमा ७० हजार सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फोटो खिचाइ सकेका छन् । पहिलो चरण ३९ हजार सेवाग्राहीले मात्रै परिचयपत्र पाउने छन् । यो वितरण सकिएपछि अरु राष्ट्रिय परिचयपत्र पनि बिस्तारै आउने भएकाले सबैले पाउने प्रशासनले जनाएको छ । पछिल्लो समय राष्ट्रिय परिचयपत्रलाई सरकारी कामकाजका लागि अनिवार्य गर्न थालेको छ । राष्ट्रिय परिचयपत्रको लागि आवश्यक कागतजात पुरा गरेर मात्रै फोटो खिच्न आउन प्रशासनले आग्रह गरेको छ ।
नागरिकता सिफारीस गर्ने बेलामै वडा कार्यालयमा नै परामर्श गरेर मात्रै इलाका प्रशासनमा आउदा नागरिकले दुख नपाइने प्रशासनले जनाएको छ । सम्वन्धित् वडा कार्यालयले पनि सेवाग्राहीलाई सरकारी कागजातका बिषयमा सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ । राष्ट्रिय परिचयपत्र यो भन्दा अगाडी जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वितरण गर्दै आएको थियो ।


प्रतिक्रिया