भत्किएर जिर्ण बनेको झोलुङ्गे पूल बनाउन शुरु

स्याङ्जा ।
जिल्लाको दुई पालिकाका मानिसहरु आवतजावत गर्ने एकमात्र झोलुङ्गे पूल भत्किएर जिर्ण बनेपछि सामाजिक संजालमा पूलको अवस्थाबारे सार्वजनिक भएको थियो । सामाजिक संजालदेखी संचार माध्यममा खबरहरु छ्यापछ्याप्ती आउन थालेपछि झोलुङ्गे पुल निर्माणकार्य शुरु भएको छ । पुतलीबजार नगरपालिका–४ ठुलीबेसी र आँधिखोला गाउँपालिका–६ जोड्ने पुलको ठुलीबेसी तर्फको भाग भत्किएपछि आवागमनमा अत्यन्त जोखिमपूर्ण बनेको थियो । विगत केही महिनादेखि पुल जीर्ण अवस्थामा रहे पनि मर्मत–सम्भार नहुँदा स्कुले बालबालिकादेखि वृद्धसम्म सबैलाई पार गर्न कठिनाइ भोग्दै आएका थिए ।

संचार माध्यम र सामाजिक संचालमा तस्विर राखेर दवाव बढेपछि पुतलीबजार नगरपालिकाले हाललाई भत्किएको ठाउँलाई मर्मत गर्न लागेको छ । बर्षादको समयमा दुवै वडाका बासिन्दाहरुलाइृ आवतजावतमा सहजता बनाउन पुतलीबजार नगरपालिकाले मर्मत गर्न लागेको हो ।
भत्किएको पर्खाल, खुला ढुंगाको थुप्रो र लत्रिएका फलामका रडमाथि हिँड्नु पर्ने भएकाले सानो चुकमा पनि गम्भीर दुर्घटना हुनसक्ने भन्दै छिट्टै पूल निर्माणका लागि स्थानीयले माग गर्दै आएका थिए । वडा नं. ४ का वडा अध्यक्ष शिव थापा विगत २ वर्ष देखि सम्पर्क विहीन भएका कारण पनि समस्या दीर्घकालीन रूपमा रहँदै आएको बताइएको छ । कार्यबहाक वडा अध्यक्षले पुलको सिढी भत्किएको खबर नगरलाई जानकारी गराएपछि इन्जिनियर सहित टोली पुगेर अवलोकन गरिएको पुतलीबजारका नगर प्रवक्ता मनोज पौडेलले बताए ।

बर्षादको समय भएको र काम गर्ने मजदुर नपाउदा केही ढिला हुन गएपनि अहिले मर्मत गर्ने काम शुरु भएको प्रवक्ता पौडेलले बताए । वडा सदस्य सुरेन्द्र केसीलाई उक्त पुलको भत्किएको भाग बनाउन जिम्मेवारी दिएको र उनैकै नेतृत्वमा भत्किएको ठाउँमा धमाधम काम भइरहेको पौडेलले बताए । निर्माण कार्य सम्पन्न नहुन्जेलसम्मका लागि ओहोरदोहोर गर्न बाँसको भ¥याङ् बनाएर सहज बनाइएको पौडेलले बताए । बिशेषगरी आँधीखोला गाउँपालिका ६ बाट जिल्ला सदरमुकाम तर्फ पढ्न आउने विद्यार्थीका लागि पुलको सिढी भत्किएपछि निकै कष्टकर भएको थियो । अवको एकसाता भित्र भत्किएको ठाउँ बन्ने नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया