अनियमिता बिरुद्ध नागरिक अख्तियार धाउदै

स्याङ्जा ।
सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित बिरुद्ध नागरिक अख्तियार धाउने क्रम रोकिएको छैन । नागरिकले सरकारी निकाय र सामाजिक संघ संस्थामा हुने अनियमित रोक्न अख्तियार पुग्ने गर्दछन् । अनियमित बिरुद्ध छानविन गरिदिन भन्दै स्याङ्जाका नागरिकले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा १ सय ३१ जनाले उजुरी दर्ता गराएका छन् ।

आर्थिक बर्ष २०८१/०८२ मा स्याङ्जाबाट अख्तियारको कार्यालयमा १ सय ३१ उजुरी दर्ता भएका हुन् । लिखित निवेदन, इमेल, टेलिफोन, म्यासेन्जर, पत्रपत्रिका लगायत मार्फत अख्तियारमा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । अख्तियारको तथ्याङक अनुसार आर्थिक बर्ष २०८१/०८२ मा भन्दा आर्थिक बर्ष २०८०/०८१ मा स्याङ्जाबाट उजुरी गर्नेको संख्या बढी थियो । दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा क्रमिक रुपमा अख्तियारमा उजुरी दर्ता गर्नेको संख्या घट्न थालेको हो की भन्ने देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय सहप्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार देशभर उजुरीहरु नघटेको बताए । कुनै जिल्लामा बढ्ने र घट्ने बेला—बेलामा भइरहने हुन्छ उनले भने,‘उजुरीहरु घट्दिए हुन्थ्यो भन्ने अख्तियारको चाहाना हो ।’ उजुरी तलमाथी हुदैमा अख्तियारको विश्वास घट्यो भन्न मिल्दैन उनले भने ।

आर्थिक बर्ष २०८०/०८१ मा स्याङ्जाबाट १ सय ६८ उजुरी दर्ता भएका थिए । गत आर्थिक बर्ष २०८१/०८२ मा स्याङ्जाबाट १ सय २१ उजुरी दर्ता भएका छन् । जसमध्ये अघिल्लो आर्थिक बर्षको फछ्यौट हुन बाँकी १० उजुरी सहित गरेर स्याङ्जाका १ सय ३१ उजुरी अनुसन्धानमा परेका थिए । कार्यालयले दिएको जानकारी अनुसार संघ, प्रदेश र स्थानीयतह मध्ये सबैभन्दा बढी उजुरी स्थानीयतहको रहेको छ । स्थानीयतहमा जनप्रतिनिधि र कर्मचारीको लापरवाहीमा भएका विकास निर्माण, खरीद, वितरण लगायतका बिषयमा बढी उजुरी परेको अख्तियारको तथ्याङकमा उल्लेख छ ।

अख्तियारको कार्यालय पोखराले दिएको जानकारी अनुसार संघिय सरकारका २३, प्रदेश सरकारका १६ र स्थानीय सरकारका ९२ उजुरी दर्ता भएका छन् । हरेक लापरवाहीमा नागरिकले आवाज उठाएपनि स्थानीय सरकारले सुनुवाई नगरेपछि नागरिक अख्तियार पुग्न थालेको यो तथ्याङकले देखाउछ । आर्थिक बर्ष २०८१÷०८२ मा गल्याङ नगरपालिकाका १५, चापाकोट नगरपालिकाका ३९, पुतलीबजार नगरपालिकाका २६, भीरकोट नगरपालिकाका २ र वालिङ नगरपालिकाका १९ ओटा उजुरी दर्ता भएका थिए । गाउँपालिकातर्फ अर्जुनचौपारीका १३, आँधीखोलाका ४, कालीगण्डकीका ३, फेदिखोलाका १, बिरुवाका ७ र हरिनासका २ उजुरी गरी १ सय ३१ दर्ता भएका थिए । दर्ता भएका उजुरी मध्ये १ सय २ फछ्यौट भएका छन् भने २९ उजुरी अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।
गल्याङ्को ३, चापाकोटको १४, पुतलीबजारको ४, वालिङ नगरपालिकाको २, अर्जुनचौपारीको १, आँधीखोलाको ३, कालीगण्डकीको १, हरिनासको १ गरी २९ ओटा उजुरी अख्तियारको अनुसन्धानकै क्रममा रहेका छन् । भीरकोट, बिरुवा र फेदिखोलाका उजुरीहरु फछ्यौट भई शुन्यमा झरेको तथ्याङकले देखाएको छ । अख्तियारको कार्यालयले दिएको जानकारी अनुसार स्थानीयतह (संघिय मामिला), शिक्षा, पर्यटन, शिक्षा, विज्ञान तथा प्रविधि र अन्य बिषयमा उजुरी परेका थिए ।

गण्डकी प्रदेशभरी बाट अख्तियारको कार्यालय पोखरामा ११९६ उजुरी दर्ता भएका थिए । आर्थिक बर्ष २०८०/०८१ को बाँकी १ सय ६० गरी १३५६ उजुरी आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका थिए । गण्डकी प्रदेशकै तथ्याङ्क हेर्दा पनि स्थानीयतहकै उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । नागरिकले नजिकको सरकारको रुपमा चिन्ने स्थानीय सरकारमा भष्ट्रचार धेरै हुन्छ भन्ने तथ्याङ्क अख्तियारमा परेको उजुरीका आधारमा देखिन्छ ।

 

प्रतिक्रिया