‘वालिङ महोत्सव स्याङ्जाको पहिचान हो’

(खगुपती न्यौपाने)
आर्थिक संयोजक,
वालिङ महोत्सव २०८२ मूल आयोजक समिति,
एवम्,
कोषाध्यक्ष, उद्योग वाणिज्य संघ–वालिङ ।

आलमदेवी मन्दिर, चण्डीभञ्ज्याङ गढी, गह्रौकालिका मन्दिर, राम्दी (राम्दीघाट), हरिनास कोट, भीरकोटे तथा गह्रौकोटे दरबार क्षेत्र, सिरुबारी गाउँ (होमस्टे पर्यटन), पञ्चासे क्षेत्र, आँधीखोला, कालीगण्डकी, वालिङ आसपासका हरियाली डाँडा र दृश्यहरु, गुरुङ, मगर, ब्राह्मण, क्षेत्री समुदायको भाषा, भेषभूषा, नाचगान र चाडपर्व, रोधी संस्कृति, पञ्चेबाजा, लोकदोहोरी जस्ता अद्धितिय ऐतिहासिक र पर्यटकीय सम्पदा सहितको प्राकृतिक विविधताले भरिपूर्ण स्याङ्जा जिल्लामा थुप्रै सम्भावनाहरु रहेका छन् । यी सम्भावनाहरुलाई चिनाउने प्रयास स्वरुप यस जिल्लाको पर्यटकीय, कृषिजन्य एवं विविध सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रबद्र्धन एवं प्रचार प्रसारका माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने, स्थानीय उत्पादनमा जोड दिने, पर्यटन प्रवद्र्धन गर्ने, कृषिजन्य उद्योग स्थापनाका लागि वातावरण निर्माण गर्ने र लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित वालिङ उद्योग बाणिज्य संघले २०६३ सालदेखि वालिङ महोत्सव संचालन गर्दै आइरहेको छ । यस वर्ष यहि माघ १४ गतेदेखि २५ गतेसम्म वालिङ खेलमैदानमा गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला वालिङ महोत्सव २०८२ संचालन हुँदैछ । यसै विषयमा केन्द्रित रहेर पब्लिक आवाजका सम्पादक अमृत अर्यालले महोत्सव मुल आयोजक समितिका आर्थिक संयोजक एवं वालिङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष खगुपती न्यौपानेसँग गरेको कुराकानीको सारांश ः

१. न्यौपाने सर आराम हुनुहुन्छ ? महोत्सवको तयारी कहाँ पुग्यो ?

धन्यवाद, नमस्कार । म आरामै छु । नवौं संस्करणको वालिङ महोत्सव माघ १४ देखि २५ गतेसम्म वालिङ खेलमैदानमा आयोजना हुने तय भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले सम्म ७५% प्रतिशत काम सम्पन्न गरि सकेका छौं । स्टल, वाल उद्यान लगायत व्यवसायिक स्टलहरु बुक भै सकेका छन् । विषयगत समिति, उप–समिति निर्माण भइ कामहरु भैराखेका छन् । अहिले हामी महोत्सव भन्दा पहिला गर्नुपर्ने विशेष प्रचार–प्रसार तथा पुर्व तयारीको रुपमा गर्नुपर्ने सबै कार्यहरु सम्पन्न गरि सकेका छौं । समग्रमा भन्नुपर्दा महोत्सवको महत्वपूर्ण तयारी तिव्र गतिमा अघि बढिरहेको छ । आयोजक समिति सक्रिय रुपमा तयारीमा जुटेको छ । कार्यक्रम–स्टल व्यवस्थापन, प्रदर्शनी केन्द्रहरुको सेटअप, पर्यटन तथा सांस्कृतिक कार्यक्रम संयोजनमा काम भइरहेको छ ।

२. स्टल र मुल आयोजक समिति बारे केहि बताइदिनुस् न ?

यो महोत्सवको मुख्य आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ हो । जसले नवौँ वालिङ महोत्सव–२०८२ आयोजना गर्दैछ । महोत्सवमा स्टल बुकिङ संयोजकको रुपमा केशव पराजुली हुनुहुन्छ । यस महोत्सवमा महोत्सव भित्र व्यवसायिक, कृषि, प्रदर्शनी लगायतका ४ सय १० स्टल रहन्छन् । ३ सय ५० वटा व्यवसायिक स्टल हुन्छ, अन्य ६० मा घरेलु, कृषि र प्रदर्शनी गर्ने खालका स्टलहरु रहन्छन् । महोत्सवभित्र स्वस्थकर खाना खुवाउने उद्देश्यले होटलका स्टल बृद्धि गरिएको छ । यस भित्र जिल्लाको पर्यटन प्रर्वद्धन गर्नुपर्ने खालका स्टल पनि रहन्छन् ।
३. व्यवसायीहरुले स्टल कसरी बुक गर्न सक्छन् ?

वालिङ उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुलाई ३० प्रतिशत छुट गरि स्टल उपलब्ध गराइनेछ भने कृषि तथा लघु उद्यमीहरुका लागि निशुल्क स्टल उपलब्ध गराइने भएको छ । अहिलेसम्म व्यवसायिक प्रयोजनको लागि दिने भनेको अधिकांश स्टल बुकिङ भै सकेको अवस्था छ । अव हामीसंग बुक भर्न व्यवसायिक स्टल धेरै बाँकी छैन । बाँकी रहेका स्टल संख्या सीमित भएकाले अब छिटो स्टल दर्ता गर्नु फाइदाजनक हुन्छ । तर, खाद्य स्टलका लागि स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ । स्थानीय उत्पादन÷कृषि व्यवसायीलाई बढी प्राथमिकता दिइएको छ ।

४. नवौं वालिङ महोत्वसको मुख्य आकर्षण के के बन्न सक्लान् ?

स्याङ्जा आइडल र टिकटक प्रतियोगिताका अलाबा यस पटक हामीहरुले महिला सशक्तिकरणका लागि ममी डान्स प्रतियोगिता समेत आयोजना गर्ने भएका छौं । हामीले नवौं वालिङ महोत्सव भन्दा पनि २०६३ सालमा भएको महोत्सव देखि नैै जिल्लाका स्थानिय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य हो । त्यसै अनुरुप हामीले अहिले नवौं वालिङ महोत्सवमा हाम्रो कृषि प्रदशनी तथा घरेलु उत्पादनको प्रदर्शनी एवं विक्रि वितरण राष्ट्रिय तथा स्थानीय प्रवद्र्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि, हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण, जडिवुटिको प्रदर्शनी विक्रि तथा जानाकारी हाम्रो जिल्लामा भएका आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी रहेको छ । त्यस्ती गरी अटो मोवाइल्सको प्रदर्शनी तथा विक्रि वितरण र रमाइलो मेला, बालउद्यान लगायत विभिन्न खालका कार्यक्रमहरुलाई आकर्षण बनाउँदै जिल्लामा आर्थिक गतिविधिहरु संचालन गर्ने हाम्रो प्रयास हो । अब हामीले व्यापार व्यवसाय अलि फराकिलो ढंगले गर्नुपर्छ । परम्परागत व्यवसायबाट अलिमाथि उठ्नु पर्छ भन्ने नै महोत्सवको एजेन्डा रहेको छ ।

५. महोत्सवबाट के अपेक्षा गर्न सकिन्छ ?

यो महोत्सव वालिङको पहिचान हो । महोत्सवले मनोरञ्जन मात्र प्रदान गर्दैन, आर्थिक क्रियाकलापलाई चलायमान पनि गराउँछ । यो वर्षको मेलाको अपेक्षाका हिसावले २ वटा पाटो हुन्छन् । एउटा पाटो आर्थिक समृद्धिको लागि गरिन्छ र अर्को जिल्लामा हामीले व्यवसाय गरि राखेका छौँ । परम्परागत व्यवसायबाट अलि माथि उठेर आथिक रुपमा अलि सक्षम सवल बनेर स्थानिय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने र जिल्लामा आन्तरिक र वाह्य पर्यटकको आगमन हुने र आर्थिक क्षेत्रमा व्यपार व्यवसाय वढाउने व्यवसायीहरुको स्तर माथि उठाउने महोत्सवबाट अपेक्षा गरिएको छ ।

६. बाल उद्यान रमाइलो मेलाले जिल्लाको पैसा वाहिरिन्छ भन्ने छ जिल्लाको आर्थिक विकास कसरि सम्भव छ ?

देशमा आन्तरिक उत्पादन नहुँदा बालउद्यानबाट मात्र हैन हरेक बस्तुबाट पैसा बाहिर नै गएको छ । मानिसहरुको मनोरञ्जनमा खर्च गर्ने स्वभाव छ । सय रुपैंयाँमा पिङ खेल्न पाउँदा यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । हाम्रो मुख्य उद्देश्य बजार चलायमान गराउनु हो । यी र यस्तै क्रियाकलापबाट नै बजार चलायमान हुन्छ भन्ने हाम्रो अपेक्षा हो । निश्चय पनि बाल उद्यान रमाइलो मेलामा आउनु भएका व्यवसायि साथिहरुले जिल्लाबाट कमाएर लैजानु हुन्छ । यो स्वभाविक प्रक्रिया हो । यो क्षेत्रमा गरिएको खर्च बाहिर जान्छ भन्नु भन्दा पनि यो एउटा व्यवसाय हो यसलाई पनि विस्तार गर्नुपर्छ भन्नेतर्फ लाग्नुपर्छ । जिल्लाको समग्र आर्थिक स्थिती सुधार गर्न बाहिरको मान्छे पनि त यहाँ आएर खर्च गर्छ ति अन्य क्षेत्रमा खर्च हुँदा नदेखिएर गएको हुन्छ । यस्ता महोत्सवमा त्यति ठूलो धन राशी जादैन । जिल्लामा यस्ता कार्यक्रमले फाइदा नै गर्छ ।

७. अघिल्ला वर्षको महोत्सव भन्दा पृथक केहि छन् ?

उस्तै उस्तै हुन् । नयाँ खासै केही छैन । धेरै कार्यक्रम गर्न समय पुग्दैन त्यसैले अघिल्ला वर्षहरुका कार्यक्रमलाई निरन्तरता दिदैं नयाँ ममी डान्स प्रतियोगिता राखिएको छ । अहिलेको महोत्सवमा हरेक क्षेत्रबाट व्यवसायिक रुपमा सहभागिता तर्फ योजना बनाएका छौँ । यसमा कतै राजनैतिक हस्तक्षेप छैन, यो महोत्सव साच्चिकै व्यवसायिक महोत्सव हुनेछ । अहिलेको महोत्सव सबै क्षेत्रबाट पृथक रहेर एउटा व्यवसायिक ढंगबाट महोत्सव सञ्चालन गर्दैछौं । यसपटकको महोत्सव बढी व्यवस्थित, स्थानीय केन्द्रित र व्यवसायमैत्री बनाउने प्रयास गरिएको छ ।

८. महोत्सवमा आयोजकहरुले आफ्ना आफन्तहरुलाई मात्र टिकट र गेटपास दिन्छन् भन्ने आरोप छ यसपालि टिकट र गेट पास कसरी व्यवस्थित गर्नुहुन्छ ?

विगतमा पास व्यवस्थापनमा थोरै चुनौति भएको थियो । महोत्सवमा मान्छे ल्याउने आधार पनि गेट पास भएको हुँदा यसको व्यवस्थित तरिकाले वितरण गरिनेछ । यसपालि हामी गेट पासलाई थप व्यवस्थित गराउने पक्षमा छौं । जो कोहि हाम्रा आफन्तहरुलाई टिकट काटेर नै भित्र प्रवेश गराउँछौ । कोहि कोहि साथीहरुले लाइनमा बसेर टिकट काट्नको साटो प्याड नै किनेर लैजानु भएको अवस्था पहिलाको महोत्सवमा भएको हो । भित्र गायव गरेर आफ्ना मान्छेलाई प्रवेश गराउनु भन्ने कुरा चाहिँ होइन । महोत्सवमा खटेर काम गर्नुपर्ने मान्छेले प्याड खरिद गरि आफन्त लाई दिन सक्छन् । यसपालि हाम्रो आफन्त नातोगोता राजनिक दल भनेर टिकट दिने गेटपास उपलब्ध गराउने नीति हाम्रो छैन । यसपालि कुनै किसिमका टिकट गेटपासको दुरुपयोग हुँदैन ।

९. मेलाको प्रायोजक तथा सह–प्रायोजकको बारेमा यसपाली कस्तो व्यवस्था गरिएको छ ? कसरी छनौट गर्नुहुन्छ ?

महोत्सवको मुख्य प्रायोजकको रुपमा गरिमा विकास बैंकलाई छनौट गरिएको छ भने अन्य सहप्रायोजक र प्रायोजकहरुको हालसम्म फाइनल भएको छैन । उद्योग वाणिज्य संघले बेलावखतमा गर्न महोत्सवबाट केहि लाभ होस् भन्न हेतुले नै महोत्सव गरिराखेका छौँ । हामी व्यवसायिक क्षेत्रका मान्छे, हामीसँग जोडिएका विभिन्न बहुराष्ट्रिय कम्पनी, उद्योग कलकारखानालाई वालिङ महोत्सवमा सहयोगको लागि आग्रह गरिएको छ । हाम्रो आग्रहलाई स्वीकारे अनुशार व्यवसायी फर्म साथीहरुलाई प्रायोजकको रुपमा छनोट गर्छौं । यसपालीको वालिङ महोत्सवमा प्रायोजनलाई व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउने स्पष्ट नीति अपनाइएको छ, जसले महोत्सवको स्तर र विश्वासनीयता दुवै बढाउने अपेक्षा गरिएको छ ।

१०. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यही माघ १४ देखि २५ गतेसम्म हुन गैरहेको नवौं वालिङ महोत्सवमा सहभागी हुन सबैलाई चुल्है निम्तो गर्न चाहन्छु । वालिङ महोत्सव केवल मेला वा मनोरञ्जनको कार्यक्रम मात्र होइन, यो स्थानीय उत्पादन, स्थानीय उद्यमी, कला–संस्कृति र पहिचानको सामूहिक उत्सव हो । हामी सम्पूर्ण वालिङवासी तथा स्याङ्जाबासी दाजुभाइ दिदीबहिनीहरुलाई महोत्सवमा सहभागी भइदिन, स्थानीय उत्पादन प्रयोग र प्रवद्र्धन गरिदिन, आफ्ना अतिथि, साथीभाइ र परिवारलाई पनि महोत्सव अवलोकनका लागि ल्याइदिन हार्दिक अनुरोध गर्दछौं । यस महोत्सवको सफलताले स्थानीय व्यवसाय मजबुत हुन्छ, युवालाई अवसर सिर्जना हुन्छ तथा वालिङको पहिचान देशभर चिनिन्छ । त्यसैले, महोत्सवलाई आफ्नै कार्यक्रम ठानेर सहयोग गरौं भन्न चाहन्छु । सरसफाइ, अनुशासन र सामाजिक मर्यादा कायम राखौं र सकारात्मक सहभागितामार्फत वालिङको गरिमा अझ माथि उठाऔं । तपाईंको उपस्थिती, सहयोग र सुझाव नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो । त्यसैले महोत्सवमा भेटौं, वालिङको समृद्धिका लागि सँगै अघि बढौं ।

प्रतिक्रिया