बढ्न थाल्यो स्याङ्जामा कोरोना संक्रमण

स्याङ्जा ।
तेस्रो लहरको रुपमा देखा परेको कोरोना संक्रमण (कोभिड १९) स्याङ्जामा बढ्दो रुपमा जान थालेको छ । स्वास्थ्य कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पछिल्लो एकसातामा कोरोना संक्रमण बढ्न थालेको जनाएको हो । कोरोना संक्रमणको दर दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउने गरी स्मार्ट लकडाउनको आदेश समेत जारी गरेको छ । स्याङ्जामा परिक्षण शुरु गर्न लागेको पाँचौ दिन सम्म आईपुग्दा १ सय ५० जनामा कोरोना संक्रमण भेट्टिएको छ । जिल्लाको अवस्था अहिले हेर्दा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले बताईन् । दैनिक संक्रमणका बिरामी थपिएका छन् स्वास्थ्य प्रमुख शर्माले भनिन्,‘संक्रमित थपिएपनि सिरियस अवस्थाका बिरामी भने देखिएका छैनन् ।’ यसलाई समुदायमा फैलिन नदिन विभिन्न स्वास्थ्य सचेतना बढाउने प्रयासमा छौं उनले भनिन् ।
११ पालिका मध्ये सबै भन्दा बढी पुतलीबजार र वालिङ नगरपालिकामा दखिएका छन् भने अन्य पालिकामा सामान्य देखिएको जिल्ला स्वास्थ्यले जनाएको छ । परिक्षणको दायरा बढाउने, खोप लगाउन छुटेका नागरिकलाई खोपको व्यवस्था गर्ने, आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्ने लगायतका कामलाई पहिलो चरणमा प्रथामिकता दिएर अगाडी बढेको स्वास्थ्य प्रमुख शर्माको भनाई छ । जिल्ला स्वास्थ्य सगँ भएको साधनश्रोतलाई अधिकतम् प्रयोग गर्दै नपुगेको साधनश्रोतलाई प्रदेश र संघिय सरकार सगँ समन्वय गरेर संक्रमणबाट नागरिक सुरक्षित अभियानमा लागेको शर्माले दावी गरिन् ।
विभिन्न स्वास्थ्य संस्थामा परिक्षणको तथ्याङ्क हेर्दा जिल्लामा संक्रमणको अवस्था भयावह हुने संकेत देखेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागु गर्नेगरी रणनीति तयार गरेको जनाएको छ । संघिय सरकारको निर्देशनलाई पालना गर्दै जिल्लाको हालको अवस्थाको मध्यनजर गरेर १३ बुँदे आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । प्रशासनबाट बाट भन्दा पनि नागरिक आफै संक्रमणबाट सचेत हुनु जरुरी छ प्रजिअ पौडेलले भने,‘स्वास्थ्य संवेदनशीलतामा सबै नागरिकको सहयोग आवश्यक छ ।’ बाहिरी जिल्लाबाट प्रवेस गर्ने सिमा नाकाहरुमा सचेतनाका साथ कडाई गर्दै संक्रमणबाट सचेत रहन आग्रह गरेका छौं उनले भने । भिडभाड नगर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, सेनिटाइजर लगाउने लगायतको स्वास्थ्य मापदण्ड पालना गर्न माइकिङ देखि विविध स्वास्थ्य गतिविधि संचालन गरेको उनले बताए । खोप लगाउन छुटेका नागरिकले सरकारले तोकेको मापदण्ड अनुसार खोप लगाउन नछुटौ भन्दै सबै स्याङ्जावासीमा प्रजिअ पौडेलले अपिल गरेका छन् ।
प्रतिक्रिया