स्याङ्जामा खोपकार्ड अनिवार्य, स्वास्थ्य सर्तकता अपनाउन आग्रह

स्याङ्जा ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ओमिक्रोन भाइरस संक्रमण बढ्न थालेपछि स्वास्थ्य सर्तकता अपनाउन स्याङ्जावासीलाई आग्रह गरेको छ । ओमिक्रोन भाइरस संक्रमण बढ्न थालेसगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको हो । बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन र स्वास्थ्य सुरक्षाका मापदण्डको प्रयोग अनिवार्य गर्न सबैलाई सुझाएको छ । जिल्ला स्थित सरोकारवाल निकायको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी नहुन, मेला तथा महोत्सव आयोजना नगर्न, भौतिक दुरी कायम गर्ने र सुरक्षाका मापदण्ड मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।
यसै गरी माघ ७ गतेदेखि सरकारी कार्यालय, बैंक वित्तिय संस्था, विभिन्न होटल, रेष्टुरेन्ट तथा पार्कमा जाँदा खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर हिंड्नुपर्ने, सबै सेवा प्रदायक निकायले जनस्वास्थ्यका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्नुपर्ने, विगतमा सञ्चालित आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्ने, कोभिड रोकथामका लागि परीक्षणका दायरा बढाउने, नियमित खोप संचालन गर्न आग्रह गरिएको प्रजिअ पौडेलले बताए ।
कोभिड संक्रमित देखिएमा स्मार्ट लकडाउनका लागि प्रशासन कार्यालय अथवा जिल्ला कोभिड ब्यवस्थापन समितिमा सिफारिस गर्ने, पालिका र अस्पताल लगायतमा अक्सिजन प्लान्ट र सिलिण्डरलाई तयारी अवस्था राख्ने र आर्थिक तथा अन्य बजेट ब्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहयोगको माग गर्ने लगायतका निर्णय भएको उनले जानकारी दिए । बैठकले सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय कोभिड संक्रमणको अवस्थाको आंकलन तथा सूचना संकलन तथा विश्लेषण समिति गठन गरेको छ । अहिले सम्म स्याङ्जामा भाइरसको अवस्था सामान्य देखिएको प्रजिअ पौडेलले भने,‘संक्रमणदर बढ्दोरुपमा जान थालेमा कोभिड व्यवस्थापन समितिले नियन्त्रणका लागि छुट्टै कदम चाल्ने छ ।’ पहिलो पटक सबै नागरिकलाई सचेत बनाउने काम हुने छ उनले भने । ओमिक्रोन भाइरस संक्रमण एकसातामा ६३ जनामा देखिएको छ । भाइरसको शंकास्पद लागेकाहरुलाई एन्टिजिन र पसिआरबाट परिक्षण गर्दा ६३ जनामा देखिएको जिल्ला स्वास्थय कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया