एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित
स्याङ्जा ।
नेकपा एमाले स्याङ्जाको आठौँ अधिवेसनबाट सुर्यप्रसाद गैह्रे पारस अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार गरिएको मतगणना अनुसार ४४० मतसहित गैह्रे विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नारायण मरासिनीले २५७ मत प्राप्त गरे। यस अघि उपाध्यक्षमा कृष्ण खांण निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सचिवमा राजेन्द्र डुम्रे विजयी भएका छन् । डुम्रे ३९४ मत सहित विजयी भएका हुन् । उनका प्रतिष्पर्धी भुपराज अधिकारीले २८० मत प्राप्त गरे । उपसचिवमा विश्व पौडेल ३९५ मत र तारा शर्मा ३७३ मतसहित विजयी भएका छन् । उपसचिवका उम्मेद्धारहरु जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ मत प्राप्त गरेका थिए ।
कुल ७०९ मत मध्ये सोमबार सम्पन्न मतदानमा ६९८ जनाले मतदान गरेका थिए । सोमबार नै मतदान सकिएपनि मंगलबार मात्रै मतगणना गरिएको थियो । पुस २३ गते अधिवेसनको उद्दघाटन गरिएपनि लामो समयको सहमति प्रयास गरिएपनि अन्तत सोमबार दुई प्यानल चुनवी प्रतिष्पर्धामा होमिएका हुन् । जिल्ला अध्यक्ष गैह्रे र सांसद नारायण मरासिनी आ–आफ्ना प्यानलसहित मैदानमा उत्रिएका थिए। पदाधिकारीमा मरासिनी प्यानलका सहसचिव पौडेल बाहेक अन्य उपाध्यक्ष, सचिव र अर्का सहसचिव गैह्रे प्यानलका हुन् । १ सय ५ सदस्यीय जिल्ला कमिटिमा अन्य सदस्यहरुको मतगणना अव केहि बेरमा गरिँदैछ । १३ हजार ६६५ संगठित सदस्य रहेको एमाले स्याङ्जाको अधिवेसनका लागी ११ पालिका र ९७ वडाबाट प्रतिनिधि छनौट गरिएको थियो ।
प्रतिक्रिया