बजेटको पूर्ण सदुपयोग भएको छ ः नगरप्रमुख खनाल
भीरकोट ।
बालमैत्री नगरपालिकाका नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रुपमा सदुपयोग भएको दाबी गरेका छन् । नवौं नगर सभामा आफ्नो मन्तव्य राख्दै नगरप्रमुख खनालले सो दाबी गरेका हुन् । खनालले भने,‘सिमित स्रोत र साधन प्रयोग गरेर जनताका असिमित आवश्यकता पूरा गर्ने प्रयास गर्दा कमीकमजोरी भएको हुन सक्छ तर बजेट दुरुपयोग भएको छैन् ।’ उनले थपे, ‘मैले नगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बजेट र करमा १ रुपैयाँ पनि हिनामिना भएको भए प्रती १ रुपैयाँ रु १ लाखका दरले क्षतिपूर्ति दिन तयार छु ।’ आज्ञाकारी र जिम्मेवार जनप्रतिनिधि र अनुभवी एवं कर्तव्यनिष्ट कर्मचारी संयन्त्रका कारण आफ्नो कार्यकाल पूर्ण रुपमा सफल रहेको दाबी गर्दै उनले सम्पूर्ण जनप्रतिनिधिहरुलाई आफ्नो बाँकी कार्यकाल थप उपलब्धिमूलक बनाउन समेत निर्देशन दिए ।
नवौं नगरसभाले दुइवटा प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विधायन समितिका संयोजक दिपेन्द्र के.सी.ले प्रस्तुत गरेको नगर यातायात गुरुयोजना र नगर सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले प्रस्तुत गरेको बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान सर्वसम्मत पारित भएको हो । नगर यातायात गुरुयोजनामा नगर क्षेत्रका सडकहरुको प्राथमिकीकरण, वर्गीकरण र सडक अधिकार क्षेत्र निर्धारण समेत गरिएको छ । योजना अनुसार नगरक्षेत्र भित्रका ३ वटा सडकलाई ‘क’ वर्गमा, १३ वटा सडकलाई ‘ख’ वर्गमा, ३३ वटा सडकलाई ‘ग’ वर्गमा र ५२ वटा सडकलाई ‘घ’ वर्गमा राखिएको छ । सडक गुरुयोजनामा ‘क’ वर्गको सडक अधिकार क्षेत्र १४ मिटर, ‘ख’ वर्गको सडक अधिकार क्षेत्र १० मिटर, ‘ग’ वर्गको सडक अधिकार क्षेत्र ८ मिटर, ‘घ’ वर्गको सडक अधिकार क्षेत्र ६ मिटर कायम गरिएको छ । यसैगरी क र ख वर्गको सडकको सेटव्याक २ मिटर र ग र घ वर्गको सडकको सेटव्याक १.५ मिटर कायम गरिएको छ ।
यसैगरी ‘बजेट विनियोजन र स्रोत व्यवस्थापनको संशोधित अनुमान’ मा आर्थिक वर्ष २०७८÷७९ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६८ करोड २६ लाख ४७ हजार विनियोजन गरिएकोमा प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षिका तथा कर्मचारी र भीरकोट नगर अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक एवं नगरपालिकाको अन्य दायित्व व्यवस्थापनको लागि रु १ करोड थप गरि ६९ करोड २६ लाख ४७ हजार विनियोजन गरिएको छ ।
नगर सभामा जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा हालसम्म प्राप्त गरेका सफलता र अनुभव प्रस्तुत गरेका थिए । वडा नं ४ का वडा अध्यक्ष चन्द्रबहादुर बस्नेतले नगर कार्यपालिकामा सबै जनप्रतिनिधिहरुले पार्टीको विचार र दलीय स्वार्थभन्दा माथि उठेर काम गरेकाले काम गर्न सहज भएकोमा खुसी व्यक्त गरे । वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र के.सी.ले पूर्वाधार विकास र कृषिको क्षेत्रमा नगरपालिकाले क्रान्तिकारी प्रगती गरेको दाबी गरे । वडा नं ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारीले जनप्रतिनिधिको रुपमा काम गर्दा भएका वैचारिक मतभेद, बहस र छलफल समृद्ध भीरकोट निर्माणका लागि गरिएकाले कसैले पनि व्यक्तिगत रुपमा लिन नहुने भन्दै व्यक्तिको भन्दा पनि विधिको शासनका लागि आफूले फरक मत राख्ने गरेको बताए । नगरसभा उपाध्यक्ष सिमा के.सी. कर्माचार्यले सबैको सहकार्यले नै नगरपालिकाले सोचेभन्दा बढी प्रगती गरेको र अहिलेको कार्यपालिकाको टिमले आगामी सरकारको लागि मार्गदर्शन गर्ने खालका रणनीतिक योजना र गुरुयोजना तयार गरेको दाबी गरिन् । नगर सभाको संचालन प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले गरेका थिए ।
प्रतिक्रिया