सम्पादकीय— चिसोबाट बच्न पूर्वतयारी आवश्यक

गरिबका लागि विपद् बनेर आउने चिसो अर्थात् जाडोबाट बच्न तीनै तहका सरकारबाट तयारी भएको पाइँदैन । हरेक वर्ष पुस, माघका बेलामा गरिब तथा विपन्न परिवारका लागि जाडो काल बनेर आउने गरेको छ । एउटा उखान नै छ, ‘बलियो बाङ्गो बाघलाई, दुब्लो पातलो माघलाई ।’ यही उखान चरितार्थ हुने गरेको छ, जो विपन्न छन् वा गरिब छन् । एकसरो लुगा लगाउने हैसियत नभएकाहरुका लागि जाडो कालको एउटा रुप बनेर आउने गरेको छ । यसका लागि तीनै तहका सरकारबाट उतिसारो पूर्वतयारी गरेको पाइँदैन । सामान्यतः यसतर्फ ध्यान दिएको पाइँदैन । तर, यो गरिबका लागि विपद्को एउटा रुप हो । विपद् प्राकृतिक र मानवीय गरी दुई किसिमले हुने गरेका छन् । यो प्राकृतिक रुपमा आउने विपद्लाई पूर्ण रुपमा रोक्न सकिन्छ । त्यसबाट बच्नका लागि सचेतना र न्यूनीकरणका उपायलाई अवलम्बन गर्ने हो भने हामी यसबाट बच्न सक्छौं । 

तर, गरिबी सबैभन्दा ठूलो कडी बनेर बसेको छ । त्यसलाई निस्तेज पार्न सक्दैनौं, कम्तीमा जाडोबाट हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न भने अवश्य सक्छौं । त्यसतर्फ सरकारहरुले ध्यान दिन आवश्यक छ । गरिबी न्यूनीकरण गर्नेतर्फ यदि सरकारले पाइला चाल्ने हो भने पनि हरेक वर्षको पुस, माघमा आउने विपद्लाई पूर्ण रुपमा हटाउन सक्छौं । त्यसतर्फ सरकारले तत्काल कदम चाल्न नसक्ला । एउटा निश्चित अवधि र समय लाग्ला अर्थात् केही दशकभित्र गरिबीलाई न्यूनीकरण गर्न सकिएला । तर, हामी हरेक वर्षको पुस, माघलाई टार्न सक्दैनौं । त्यो त चक्रीय प्रणालीमा हरेक वर्ष आउँछ नै । त्यसो हुँदा पूर्वतयारी र सचेतना गर्न सक्ने हो भने नै हामी त्यसलाई पूर्ण नियन्त्रण गर्न सक्छौं । गरिब बस्तीका लागि दाउराको जोहो, न्यानो कपडाको जोहो गर्ने वातावरण गरिदिने हो भने पनि हामीले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । यसलाई रोक्न सकिन्थ्यो । तर, हाम्रा सरकार र सरकारमा बसेका जनप्रतिनिधिहरुले यसतर्फ ध्यान दिन सकेका छैनन् । 

यतिसम्म कि अहिले तीन तहको सरकार छ, सबैभन्दा तल्लो तहको सरकार अर्थात् स्थानीय तहले मात्रै पनि ध्यान दिने हो भने यस्ता मृत्युदरलाई नियन्त्रण गर्न सकिन्थ्यो । हामी विपद्लाई देखेर पनि अनदेखा गरिरहेका छौं । जसको परिणाम हामीले बर्सेनि भोग्दै आएका छौं । सरकारले गरिब बस्तीहरुलाई पहिचान गरेर मङ्सिर पूर्व नै त्यहाँका बालबालिका, वृद्धवृद्धाहरुका लागि न्यानो कपडा वितरण गरिदिन सक्छौं । त्यति मात्रै हैन, उद्योगी, व्यवसायीहरुलाई प्रेरित गरेर उनीहरुलाई पनि गरिब तथा विपन्न बस्तीहरुको पहिचान गरेर सहयोगको वातावरण निर्माण गर्न सकिन्छ । व्यक्तिगत रुपमा भन्दा पनि समूहगत रुपमा वितरण गर्ने हो भने त्यो प्रभावकारी हुन्छ । त्यसैले सरकारले यस्ता कुराहरुमा ध्यान दिने हो भने पनि हामीले चिसोबाट थुप्रै नागरिकको ज्यान जोगाउन सक्छौं । राज्यले कम्तीमा पनि जाडोका बेला पूर्वतयारी अपनाउने वातावरण सिर्जना गरोस् ।

प्रतिक्रिया