वैराग्य प्राप्तीको सरल उपाय
खुमकान्त अर्याल ।
ज्ञान, वैराग्य, मोक्ष, सन्यास तथा वर्णाश्रम धर्मको महत्व, अर्थ र सान्दर्भिकता तथा कर्म वन्धनको प्रभाव, वैदिक ग्रन्थहरूको उपयोगिता, राम, कृष्ण समेतका भगवानहरूको कल्याण कार्यहरूको महत्व तथा वैराग्य प्राप्तीको सरल उपाय तथा अध्यात्ममार्गमा लागिसके पछि संग्रहित परिवार सम्पत्ति प्रतीको दृष्टिकोण के हुने समेतका विषयमा केही अदरणीय अग्रजहरूले मेरो धारणा जान्न खोज्नु भएकोले तत्सम्वन्धमा मेरो केही अनुभव र तर्क समेत यहाँ राख्ने प्रयाश गरको छु । दर्शन र धर्मका वारे अनुभव भएका आदरणीय विद्वान महानुभावहरूबाट यो गहन विषयमा यहाँ कमिवेसी भएका वारे अफ्ना अमूल्य मत तथा सुझाव दिनुहुने आसा राखेको छु ।
प्रस्तूत सवै विषयमा मेरो धेरै अनुभव र अध्यायन त छैन तर के निचोडमा पुगेको छु भने ज्ञान भनेको हाम्रो इन्द्रियहरूको सम्पर्कमा आएका विषयहरूको रूप, गुण, आकार, स्वाद, शव्द, गन्ध, रस आदी वारेको जानकारी तथा अनुभव हो । जो सान्सारिक पदार्थ संग सम्वन्धित हुन्छ तर यहाँ ज्ञान भनेको इन्द्रियहरूको पकडमा नआउने सन्सार भन्दा पर रहेको सन्सारको अधारतत्व जो अपरिक्षिन्न छ जसलाइ परमार्थ तत्व, व्रम्ह वा परमात्मा पनि भन्ने गरिन्छ वारे जान्ने वा अनुभव गर्नु भन्ने वुझिन्छ । सन्सारको भोग मात्रले असन्तुष्टी, छटपटी भैरहने, के नपुगेको हो त्यसै मन भतभती पोल्ने, यस्तै ताप र चिन्तामै जीवन समाप्त हुने हो कि भन्ने अभास हुन थालेकोले यही गृहस्थीबाट नभागिकनै केबाट स्थायी शान्ति र अनन्द पाउन सकिन्छ, के जानेपछि जान्ने कुरा वाँकी रहदैन, व्रम्ह के हो ? मानिसको मुख्य कर्तव्य के हो ? के पाएपछि संधै तृप्त रहन सकिन्छ ? के प्राप्त भएपछि अभय हुन्छ भन्नेवारे जान्ने अनुभव गर्ने इच्छा तिव्र भएको छ । यिनै अभिलासालाई वैदिक शास्त्रहरूमा (यथातो व्रम्ह जिज्ञासा) भनिदो रहेछ ।
यो जिज्ञासा एक हिसावले वीज हो, ढीलोचाँडो उम्रने फक्रने वढ्ने र अन्त्यमा फल्नेछ भन्नेमा विश्वस्त छु । यो ज्ञान प्राप्त भएपछिको अवस्थालाइ मोक्ष भनिदोरहेछ, अथवा कर्म र वन्धनबाट मुक्त भएको, प्रश्नहरू , जिज्ञासाहरू वाँकी नरहेको सदा सुखी र कामना रहित अवस्था, भक्तिको धारणा अनुसार यसैलाई इस्वर प्रप्तीको अवस्था पनि भनिन्छ ।
वेदले इश्वरको सत्तालाई स्वीकार गर्दछ र यसले मानिसको मूख्य कर्तव्य भनेकै इश्वर प्राप्त गर्ने वा आफ्नो सत्सवरूपको ज्ञान प्राप्त गर्नु हो भनेको छ । सवै पुराणहरू,भगवत गीता, उपनिषद वा वेदान्त दर्शन, न्याय, वैशेषिक साँख्य समेतका षडदर्शनहरू सवै वेदको मुख्य उदेश्य सम्झाउनका लागि ऋषि महर्षिहरू, महापुरूषहरू, परंहंसहरूले लेखेका अनुभव सहितका भाष्यहरू हुन् । यो सन्सार रहुन्जेल ध्रुवसत्यमा आधारित यी ग्रन्थहरू र यिनले निरूपण गरेका सिद्दान्तहरूको उपयोगिता सधै रहन्छ किनभने यी सवै सत्यमा अधारित छन्, त्यसैले त सनातन धर्म भनिन्छ ।
मेरो विचारमा विगत जन्मको कर्मको प्रभाव यस जन्ममा रहन्छ जस्तो लाग्दछ, किनभने एकै समयमा,एउटै वातावरणमा जन्मेका उस्तै उस्तै स्तरका परिवारबाट जन्मेका व्यक्तिहरू एउटै रूप, भाग्य, आयू वा वुद्दिको देखिदैनन पक्कै पनि हिजोको कर्मको परिणाम अनुसार हुन गएको होला । पुर्ण ज्ञानको अवस्थामा र निस्काम कर्म गरी सवै फलहरू इश्वरका शरणमा समर्पण गर्न थालेपछि, उसको पुर्व जन्मका सवै नराम्रा कर्महरूका प्रभावहरू ताँही सकिन्छन र अहिलेका कर्मको वन्धन र लेप पनि रहदैन होला यो चाँही मेरो तर्क मात्र हो । हामीलाई कसैले सन्चालन गर्दछ कि आँफै सन्चलित हुन्छौं भन्ने सम्वन्धमा मेरो उक्ति र तर्कमा हाम्रो शरीर तथा कर्म सन्चानलनको मूख्य आधार चाँही इश्वार वा अस्तित्व नै हो, जस्तै अहिले नै सम्झौं मैले यी २÷४ अक्षरहरू आँखा, मन, हातका औंलाहरू, केही स्मृति र केही अनुभवका आधारमा लेखी रहेको छु, ।
तर मेरो भित्रको शरीर वा स्वास प्रश्वास र अन्य प्रणालीहरू चलिरहेको छ र म लेख्नमा व्यस्त रहदा पनि यी भित्रका प्रणालीहरू चलीरहेका छन यसर्थ यो कसले चलाएको भन्ने ? मैले चलाएको हो भने मैले त लेख्न तिर लागेको छु, मेरो होसले चलाएको हैन रहेछ, मेरो इच्छाले चलाए मात्र चल्ने भए एकपल वढी सास फेरेर वढी समय वाँच्न खोज्दा पनि मैले पाँउदिन यसर्थ एकएक पल एक एक स्वासका गतिहरू उही अस्तित्वबाट सन्चालित छन् , उसले छाड्ने वित्तिकै मैले ५८ वर्ष सम्म वनाएका मेरा परिचय एक पलमा धरासायी हुन्छन । हाम्रो शरीर हरेकपल अस्तित्वले वा उसको प्रेरणाले चलेको चलाएको छ, त्यही भित्री कम्पनलाइ वाहिरबाट सन्तुलनमा ल्याएर हामी जीवन व्यवहार गरिरहेका छौ, यसलाई यसरी वुझैं जस्तै खोलाको वारीपारी एकमात्र मोटो डोरी टाँगेर त्यसलाई हल्लाइ राखिएको छ, त्यसमाथिबाट सर्कसवालाले आफ्नो शरीरको सन्तुलन मिलाएर त्यही नृत्य गर्दछ वा वारीपारी गर्दछ, हाम्रो जीवन व्यवहार करिव त्यस्तै हो ।
त्यसो भएर के टुँगोमा पुगेको छु भने यो शरीर नै हाम्रो होइन जसमा गर्व गरिरहेका छौ, शरीर प्रकृतिको सम्पत्ती हो यही भावनाले गर्दा आजकल वस्तु तथा सम्पत्ति र परिवार सवै प्रकृतिको सम्पत्ति हो र हामी सवैमा कुनै भेदछैन भन्ने लाग्दोरहेछ, जसले गर्दा यी सवै प्रतीको तादात्म्य वा आकर्षण घट्ने क्रम हुदो रहेछ जो वैराग्यको लक्षण हो । सन्सारको सम्पत्ति मेरो नभएर प्रकृतिको हो भन्ने जान्न थालेपछि स्वतः यसप्रतिको अशक्ति घट्छ तव वैराग्य फलित हुन्छ, वास्तविक सन्यासी पनि तिनैहुन जस्ले यो रहस्यलाई स्वीकार गरेको छ र व्यवहारमा उतारेको छ ।
आर्को कुरा मैले लेख्न प्रयोग गरेको यो समय मैले तास खेल्न वा अरू काम गर्न पनि त स्वतन्त्र थिएँ नि ? यसै भएर मानिसलाई प्राप्त समय शरीर आदिको उपयोग दुरूपयोग गर्ने छुट छ तर केही गलत अर्थ लगाउन खोज्नेहरू हरेक जे गरिन्छ कर्मले वा भाग्यले गराएको हुन्छ भनेर गलत कर्मको जिम्मेवारी इश्वरको थाप्लामा लगाउने गर्दछन । महापुरूषहरू, राम, कृष्णहरू वुद्दहरूले जीवनको उच्चतम प्रयोग गरे गरेनन् भन्ने कुरा जे छ वँहाहरूले सन्सारका जीव मात्र हैन अचरहरू समेतको कल्याणका लागि मार्गदर्शन गर्नुभयो त्यतिमात्र होइन सर्वसाधारणले जस्तै व्यक्तिगत कर्महरू पनि गर्नुभयो । जीवनको असली बाटो देखाउनु भयो र अहिले सम्म पनि वँहाहरूको कल्याण कार्यहरूको आदर्शमा उभिने प्रयाश चल्दैछ, वहाँहरूको मार्गदर्शन दिव्य वाणीहरू अहिले पनि उत्तिकै महत्वको छ जो सत्य छ र संधैका लागि सत्य छ । वँहाहरूलाई त के कुराको कमि थियो र केवल सन्सारको कल्याणका खातिर धेरै दुःखका कर्महरू पनि गर्नु भयो ।
आश्रमको महत्व अहिले पनि कति सान्दर्भिक छ भन्ने सम्वन्धमा मेरो वुझाइमा अघि भनेजस्तै ४ वटै आश्रमहरू अहिले पनि त्यत्तिकै महत्वपुर्ण छन किन भने व्रम्हचर्य आश्रम भनेको गुणको विकास हो अर्थात धेरै नियम र संयममा रहेर वालकको वा युवाको ज्ञान, सीप इलम, नैतिक चरित्र तथा इस्वरीय आस्थाको विकास हो । यो आश्रम पछि गुहस्थाश्रमको अहिले पनि उत्तिकै महत्व छ, तर यो आश्रममा नैतिकता र मर्यादामा रहेर भोग तथा संग्रह गर्न ,असल सन्तान जन्माउनको लागि हो, मात्रृभूमि, समाजको सेवा पितृ तथा ऋषि ऋण तिर्ने पनि गुहस्थीको कर्म हो, रोगी वृद्द तथा महाव्रतीहरूलाइ भोजन दान आदी पनि ।
गृहस्था श्रममा रहेर सन्सारको दुःख सुख तथा सत्यता वुझेर पाकेपछि वा सान्सारिक असारको आभास भएपछि मानिस स्वभावैले गुहस्थीको आशक्तिबाट टुट्छ र उ स्वतः सन्यासी भावनामा पदार्पण गर्दछ वा घरको व्यवहार सन्ततीलाइ वुझाएर आफ्नो पतिपत्नी सहित घरको जीम्मेवारीबाट टाढा वस्नुपर्दछ र हरसमय तत्वज्ञानको अनुसन्धान, सत्संग र श्रवण मनन निधीध्याशन ध्यान गरिन्छ, यसैलाइ सन्यास आश्रम हो भन्ने वुझाउँदछ । घरमा नै रहेर पनि विषय सुख र नातागोता सम्पत्ति प्रती भित्रबाट अस्पर्ष भनौं वा तादात्म्य नराखीकन आफ्नो परमार्थ प्राप्तिको निरन्तर साधना गर्नु पनि सन्यास नै हो । वाहिर हेर्दा गृहस्थ देखिने तर भित्रबाट सन्सार संगको आशक्तिबाट टाढा भैरहने झन राम्रो साधना हो भन्ने लाग्दछ । सन्यास पछिको वान्यप्रस्थ आश्रम भनेको सवै कर्मकलापहरू त्याग गरि स्वस्थ्य चित्तमा रहेर केवल भगवानको नाम जप्दै मृत्यू उत्सव कुरेर वस्नु हो । अहिले पनि यो सान्दर्भिक र उपयोगी छ यसैमा सन्सारको भलो छ ।
अत्यमा, यो सन्सारमा मेरो शरीर पनि मेरो होइन जे जति म संग छ इस्वरको वा प्रकृतिको हो । मेरो शरीर सवै सम्पत्ति नाता गोता अस्थायी वा नाशवान छ । यो सन्सारमा जेजति नाता पर्नेहरू छन सवै संगको नाता अस्थायी हो र स्वार्थम आधारित हो । मेरो भन्नु त मेरो ऋदयतिर वा नाइटोको भित्र कतै वसेर मेरो श्वास प्रश्वास चलाएर मलाई जीवित राख्ने शक्ति वा प्रभु मात्र मेरो संधैको नातेदार हो र यो म भित्र हर पल छ, जसले मलाई अहिले पनि उभ्याइरहेको छ, यत्रो सन्सार हेर्ने सौभाग्य प्रदान गरेको छ भनेर वारवार सम्झी राख्नहो भने सारा वस्तुप्रति वाहिर वाहिर भोग गरेको देखिए पनि भित्रबाट यसको तादात्म्य रहन्न, तव मन वचन कर्महरू जतिवेला पनि भगवान वा अस्तित्व संग जोडिइ राख्दछ तव सान्सारिक ताप र कष्टहरू हराउदै जीवनमा असिस्त्वको असीम प्रेम र शान्ति प्राप्त हुन्छ ,अस्तु ।
प्रतिक्रिया