स्याङ्जामा ३२ हजारले फोटो खिचाए
श्रीकृष्ण सिग्देल,
स्याङ्जा ।
स्याङ्जामा मतादाता नामावलीमा फोटो खिचाउने अभियान बन्द भएको छ । निर्वाचन आयोगले स्थानीयतहको निर्वाचन घोषणा गरे सगै मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको हो । बैशाख ३० गते स्थानीयतहको निर्वाचन एकै चरणमा गर्ने गरी घोषणा गरेपछि मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । पौष ५ गते देखी निवार्चन कार्यालयले जिल्ला प्रशासन स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट मतदाता नामावलीमा फोटो खिचाउदै आएको थियो । स्थानीयतहको निर्वाचनको मिति तोकिएपछि माघ २५ गतेदेखी मतदाता नामावलीमा फोटो खिचाउने कार्य स्थगित गरेको थियो । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार जिल्लामा झण्डै ३२ हजार बढी नागरिकले मतादाता नामावलीमा फोटो खिचाएको जनाएको छ ।
पौष ५ गतेदेखी माघ २४ गते सम्म जिल्लामा ३२ हजार ८४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयले जानकारी दिएको छ । यो १५.२७ प्रतिशत हो । २०७४ सालको तिनतहको निर्वाचनमा २ लाख १० हजार ३८ जना मतदाता रहेकोमा २०७९ को स्थानीय तहको निर्वाचनमा २ लाख ४२ हजार १ सय २२ जना मतदाता पुगेको छ । झण्डै ३२ हजारले फोटो खिचाएपनि मतदाता नामावली सार्वजनिक नभएसम्म यो संख्या आधिकारीक नहुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए । कतिपय नागरिकले दुईपटक पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् उनले भने,‘निर्वाचन आयोगले नतिजा प्रकाशन नगरेसम्म उल्लेखित संख्या आधिकारीक हुदैन ।’ हामीले २ लाख ४० हजार मतदाता हुने अनुमान गरेका छौं उनले भने । जिल्लाको आधिकारीक नामावलीको नतिजा २० गते सार्वजनिक गर्ने तयारीमा रहेको समेत उनले बताए ।
जिल्लामा १७ हजार ६ सय ९५ पुरुष र १४ हजार ३ सय ८९ महिलाले मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएका छन् । ११ पालिका रहेको स्याङ्जामा नयाँ थपिएका मध्ये सबै भन्दा थोरै फेदिखोला र सबै भन्दा धेरै वालिङ नगरपालिका रहेको छ । फेदिखोलामा १ हजार ३ सय ३८ जना र वालिङमा ५ हजार ३ सय ४ जनाले मतादातामा फोटो खिचाएको तथ्याङ्क छ । अन्य पालिकामा क्रमस अर्जुनचौपारी गाँउपालिकामा १९७६, आँधीखोला गाँउपालिकामा १९८१, कालीगण्डकी गाँउपालिकामा २४१९, गल्याङ नगरपालिकामा ४५००, चापाकोट नगरपालिकामा ३२४०, पुतलीबजार नगरपालिकामा ३६३२, भीरकोट नगरपालिकामा २५१२, बिरुवा गाँउपालिकामा २३४३ र हरीनास गाँउपालिकामा २८३९ जनाले मतदाता नामावलीमा फोटो खिचाएका छन् । २०७४ को निर्वाचनमा १ सय ९९ मतदान स्थल रहेको छ ।
स्थानीयतहको निर्वाचन घोषणा गरेसगै राजनीतिक सरगर्मी समेत जिल्लामा बढ्न थालेको छ । बाहिर नदेखिएपनि राजनीतिकदलले भित्र—भित्र जोड घटाउ अभियानमा लाग्न थालेको बताइएको छ । स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमाले विच नै कडा प्रतिष्पर्धा हुने देखिन्छ । मतदाता नामावलीमा समेत दुवैदल विच फोटो खिचाउने प्रतिष्पर्धा चलेको थियो ।
प्रतिक्रिया