१७ सय बंगुरका पाठापाठी अनुदानमा वितरण

गल्याङ् ।
स्याङ्जाको गल्याङ् नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७ सय वटा बंगुरका पाठापाठी वितरण गरिएको हो । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी अनुदानमा वितरण गरिएको छ । गल्याङ् नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम भैरहेको गल्याङ् नगरपालिका प्रमुख भुपराज अधिकारीले बताए । अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने नीति अनुसार उक्त सहकारीलाई यसको जिम्मा दिएको अधिकारीले बताए ।
नगरप्रमुख अधिकारीले दुध उत्पादनका साथै मासुमा पनि गल्याङ्लाई आत्मनिर्भर बनाउने योजना अनुरुप ल्याइएको बताए । मासुको क्षेत्रमा पनि व्यवसायिक र आत्मनिर्भर किसान उत्पादन गर्ने नगरपालिकाको लक्ष्य छ, हामी विक्रीको ग्यारेण्टी दिएर किसानलाई उत्साह ल्याउन लागि परेका छौं अधिकारीले भने । नगरप्रमुख अधिकारीले बाख्रा पालनका लागि नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) मार्फत काम भैरहेको भन्दै बंगुर पालनका लागि नगरपालिकाले आफै कार्यक्रमको संयोजन गरेको बताए ।
अहिले पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ, किसानको उत्साहको आधारमा थप रकम विनियोजन गरेर बंगुरको मासु र पाठापाठीमा आत्मनिर्भर बनाउने अभियानमा हामी लागेको उनले बताए । नगरप्रमुख अधिकारीले अहिले वितरण गरिएको पाठापाठीबाट अर्को वर्षमा दश हजार पाठापाठी र तीन करोडको मासु उत्पादन हुने अपेक्षा गरिएको बताए । यस आधारमा दुई वर्षमा दुई अर्बको बंगुरको मासु र पाठापाठी उत्पादन गर्ने लक्ष राखिएको उनको भनाई छ । उत्पादित मासु र पाठापाठी विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएकाले किसानहरु ढुक्कसँग बंगुरपालन व्यवसायमा लाग्न आग्रह गरे । भविश्यमा पोखरा तथा बुटवलमा सहकारी मार्फत आफ्नै कोल्ड स्टोर स्थापना गरी विक्रीको व्यवस्थापन गर्न सकिने पनि बताए ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले किसानहरुको माग भए अनुसार बंगुरका पाठापाठी वितरण गरिएको जानकारी दिदै बंगुरपालक किसानहरुका लागि तालिमको पनि व्यवस्था गरिएको बताए । उनले विभिन्न १५ स्थानमा किसानलाई आवश्यक तालिम पनि दिइएकाले तोकिएको लक्ष्य प्राप्त हुने आशा व्यक्त गरे । पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले बंगुरका पाठापाठी वितरण कार्यक्रमबाट नगरपालिका भित्रका करिब एक हजार किसान परिवार लाभान्वित भएको जानकारी दिए । उनले बंगुरका लागि निशुल्क विमा, निशुल्क खोप र जुकाको औषधी (ड्रेञ्चिङ) को पनि व्यवस्था गरिएको जानकारी दिए । गल्याङ नगरपालिका पशु चिकित्सक डाक्टर अनिस सापकोटाले किसानहरुलाई आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सेवाका लागि आफुहरु तयार रहेको बताए । किसानहरुमा अहिले बंगुरपालनमा उत्साह देखिएको भन्दै यसकै माध्यमबाट जीविकोपार्जन गर्न सकिने बताए ।
कल्लेरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कुमार रानाले ११ वटै वडामा पुगेर बंगुरका पाठापाठी वितरण गरिएको बताए । एउटा बंगुरको पाठापाठीलाई छ हजार रुपैयाँ पर्नेमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसानको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भैरहेको हो । रानाले अहिलेसम्म ब्राह्मण समुदाय बाहेक अन्य परिवारहरु यस कार्यक्रममा सहभागी भएको जानकारी दिए ।

 

प्रतिक्रिया