पोर्चुगलमा मृत्यु भएका भीरकोटका अंकितको परिवारलाई आर्थिक सहयोग

मुक्ति सुबेदी,
स्याङ्जा ।
२८ वर्षको कलिलो उमेरमै स्याङ्जा भिरकोटका अंकितको पोर्चुगलमा ज्यान गयो । जनावरी ३० तारिकको दिन अंकितको परिवारको निम्ति कालो दिन बन्न पुग्यो । परिवारको र आफ्नै सपना साकार पार्न वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा पुगेका उनको अकस्मात ज्यान गएको हो । जनावरी २९ तारिकका दिन काम गर्दागर्दै एक्कासि बेहोस हुन पुगेका उनलाई अस्पताल पु¥याइयो, ३० तारिकका दिन अस्पतालले मृत घोषणा ग¥यो । मृत्युको कारण थियो हृदयघात । विरानो मुलुक अनि उनका चिनजानका साथिहरु पनि एकदमै कम तर परिवारको आग्रह थियो, ‘शवलाइ जसरि पनि नेपाल ल्याइदिनुप¥यो’।
विदेशमा नेपालीलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्न र केहि सामाजिक कामहरु गर्ने उद्येश्यले विभिन्न संस्थाहरु खोलिएका हुन्छन । कसैको मृत्यु भएको बेला, नेपालमा आइपर्ने विभिन्न दैवीप्रकोपका घटनामा, शारीरिक अपाङ्गता, आर्थिक अभावले उपचार नपाएकाहरुका निम्ति सहयोग गर्न भनेरै विभिन्न कार्यक्रमहरु तथा अभियानहरु पनि संचालन हुने गर्दछन ।
भर्खरमात्र स्थापित स्याङ्जा सहयोग समाज पोर्चुगललाई पनि यस घटनामा केहि भूमिका खेल्नुपर्छ भन्ने लाग्यो र आर्थिक संकलन अभियान सुरु ग¥यो । संस्थाका अध्यक्ष अर्जुन अर्यालले यसको समन्वय गर्दै धेरैलाई हारगुहार समेत गरे र केहि रकम संकलन भयो । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गत युरोप क्षेत्रका विभिन्न देशहरु स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, एनआरएनए पोर्चुगल, स्याङ्जा सहयोग समाज पोर्चुगल र विभिन्न देशमा रहेका नेपालीहरु मिलेर करिब १४ लाख ८० हजार रुपियाँ संकलन गर्न सफल भए ।
संकलित रकम मध्ये करिब ५ लाख रुपैयाँ शव पोर्चुगलबाट काठमाडौं सम्म ल्याउनका लागि खर्च भएको र बाँकी रकम ९ लाख ८० हजार परिवारको निम्ति हस्तान्तरण गरिएको छ । भिरकोट–५ सिम्लेस्थित उनको परिवारलाई उक्त रकम घरमै पुगेर संस्थामा आवद्ध सदस्यहरु तथा जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको छ । नवौं पुण्य तिथिको अवसरमा उक्त रकम हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज बेल्जियमका अध्यक्ष पर्शुराम रेग्मीले बताए । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याल लगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको अगुवाइमा रकम संकलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३ सय ५, पोर्चुगलबाट तीन हजार ४ सय १७ यूरो र थप केही संघसंस्था तथा व्यक्तिबाट रकम संकलन गरी घर पठाइएको हो ।
संकलित रकम हस्तान्तरण गर्दै भिरकोट नगरप्रमुख छायाराम खनालले २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा ठूलो मेहनतबाट संकलित रकमको सही ठाउँमा सदुपयोग गर्न परिवारजनमा अनुरोध समेत गरे । खनालले शोकाकुल परिवार तथा इष्टमित्रमा समवेदना तथा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै सहयोगी व्यक्तिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
संकलित रकम हस्तान्तरण कार्यक्रममा भीरकोट नगर उप–प्रमुख सीमा कर्माचार्य, भीरकोट ५ का वडा अध्यक्ष एवम् नेपाली कांग्रेस भीरकोट सभापति याम प्रसाद अधिकारी, वालिङ्ग उद्योग वाणिज्य संघका सचिव ध्रुव खाँण, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका सचिव मिन क्षेत्री, स्याङ्जा सहयोग समाज पोर्चुगलका सल्लाहकार विपिन अर्याल, आकाश किरण श्रेष्ठ लगायतका व्यक्तिहरुले समवेदना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया