मकैको पकेट क्षेत्र बनाउदै वालिङ
स्याङ्जा ।
कृषिमा आत्मनिर्भर बनाउन वालिङ नगरपालिकाले मकैको बिउ वितरण गरेको छ । नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन अरुण—२ नामक मकैको विऊ वितरण गरेको हो । खाद्यन्न वालीको उन्नत विउ उपयोगमा मुल्य अनुदान कार्यक्रम मार्फत वालिङलाई मकैको विउ उत्पादनको क्षेत्र बनाउने उदेश्यले विउ वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो सिजनमा २५ सय केजी अरुण—२ नामक मकैको विउ किसानलाई वितरण गरेको छ । धान फल्ने खेतमा ९० दिन भित्र तयार हुने यो मकै किसानका लागि आयआर्जनमा समेत निकै फलदायी हुने कृषि विज्ञहरुले बताएका छन् । मकैखेतीको लागि यहाँको माटो सुहाउदो भएकाले वालिङ नगरपालिकाको कृषि शाखाले मकैखेती छनोट गरेको जनाएको छ ।
मकैको विउ खोज्न अब बाहिर जान नपर्ने अभियानमा नगर लागेको वालिङ नगरपालिकाका लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले बताए । मकै खेतीको राम्रो सम्भावना रहेको वालिङलाई मकै पकेट क्षेत्र बनाउदै छौं लेखा प्रमुख अर्यालले भने,‘मकैको उत्पादकत्वमा बृद्धि गरी मकै पकेट नगरीको रुपमा विकसित गर्छै ।’ यसका लागि संघिय सरकारले सर्शत ३५ लाख अनुदान समेत दिएको छ उनले भने । पछिल्लो समय बाँदरको समस्याले किसानहरुले मकै लगाउन छाडेका छन् । मकैखेती नै लोप हुने अवस्थामा जान थालेपछि बाँदरको समस्या हलगर्दै मकै संरक्षण अभियानमा किसानलाई उत्प्रेरीत गर्न नगरले यो योजना अगाडी सारेको लेखा प्रमुख अर्यालले बताए ।
वालिङ नगरपालिकाको भौगौलिक अवस्था पनि ३ तहको तापक्रम रहेको छ । उच्च, मध्यम र समथर भागमा छुट्टाछुट्टै तापक्रम भएकाले मकै उत्पादनमा मौसम अनुकुल रहेको छ । छिटो पाक्ने र खाद्यतत्व पनि बढी हुने यो मकै बसन्ते मकैका नामबाट पनि परिचित छ । बसन्त ऋतुमा फल्ने मकै भएकाले पनि यस मकैको नाम बसन्ते मकै रहेको नगरपालिकाका कृषि शाखा प्रमुख सुवास अर्यालले बताए । अहिले १२ सय रोपनीमा यो मकै लगाउने छौं उनले भने,‘गुणस्तरीय विउ उत्पादन गरी मकै उत्पादकत्वमा बृद्धि गर्ने लक्ष्य हाम्रो हो ।’ अहिले सरकारले ५० प्रतिशत र किसानले ५० प्रतिशतमा मकैको विउ वितरण गरेका छौं उनले भने । किसानको पनि मकैखेतीमा अपनत्व होस भन्ने हेतुले ५० प्रतिशत लगानीमा किसानलाई सहभागी गराएको उनले बताए ।
नगरपालिकाले खेत र बारीमा फल्ने दुईजातको विउ वितरण गर्ने योजना बनाएको छ । बारीमा फल्ने मनकामना—३ नामक जातको मकै फागुनको अन्त्य तिर वितरण गर्दैछ । यो मकै भने १४२ दिनमा तयार हुने कृषि शाखाले जनाएको छ । नगरपालिकाले विउ मकै संरक्षण गर्न ९, ११ र १४ नम्वर वडालाई रोजेको छ । गुणस्तरीय र उत्पादकत्वमा बृद्धि गर्न ३, ४ बर्षमा मकैको विउ भने फेरीरहनु पर्ने कृषि शाखाको भनाई छ ।
प्रतिक्रिया