खेल क्षेत्रका लागी गण्डकी प्रदेश प्रतिवद्ध ः मुख्यमन्त्री पोख्रेल

कला राना,
स्याङ्जा ।
गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोख्रेल नेपालीले खेल क्षेत्रको विकासका लागी प्रदेश प्रतिवद्ध रहेको बताएका छन् । बुधबार आँधीखोला गाउँपालिका १ सिरुबारी कुर्ले स्थित शिरसुबा गम्भीरसिंह स्मृति कप भलिबल प्रतियोगिताका अवसरमा बोल्दै खेलकुद क्षेत्रले नै नेपालको नाम विश्वमा चिनाईरहेका कारण खेल क्षेत्रको विकास गरी खेलाडीहरुलाई स्थापित गर्ने दायित्व सरकारको रहेको मुख्यमन्त्री पोख्रेलको भनाई छ ।
मुख्यमन्त्री पोख्रेलले खेल क्षेत्र व्यवसायीक बनाउनुपर्छ भन्दै खेल क्षेत्रको विकास र खेलाडीको क्षमता विकासका लागी प्रदेशले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढ्ने बताए । साथै मुख्यमन्त्री पोख्रेलले डिभी तथा पिआर त्यागेर नेपालमै केहि गर्छु भन्ने युवाहरुका लागी प्रदेशले सहयोग गर्ने बताए ।
युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्नका लागी प्रदेशले सरकारले अनुदान समेत दिएको भन्दै वैदेशिक रोजगारीबाट फर्केका तथा नेपालीमै उद्यमी गर्न चाहाने युवालाई प्रोत्साहन हुने बताए । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा सहित पर्वका टिमहरुको सहभागिता छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमशः १ लाख, ५० हजार, २५ हजार नगदसहित शिल्ड, मेडल प्रमाण प्राप्त गर्ने सचिवालय सदस्य उमाकान्त पौडेलले जानकारी दिए ।
फाल्गुन २३ गते प्रतियोगिताको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्दघाटन गरेका थिए । आफ्ना स्व. बुवाआमा शिरसोभा र गम्भीर सिंह गुरुङको स्मृतिमा छोराहरु मेजर लिलबहादुर गुरुङ, देउबहादुर गुरुङ पुर्व डिआईजी हिमबहादुर गुरुङ तथा परिवारले हरेक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएका छन् । यो प्रतियोगिता १० औँ संस्करण हो ।

 

 

 

प्रतिक्रिया