सम्पादकीय— नमरोस् मानवीय संवेदना
हिजोआज जन्मदिन मनाउन तारे होटलमा धाउने र रक्सीको खोलो बगाउने प्रचलन बढेको पाईन्छ । केही मानवीय संवेदना भएका मनहरुले भने यस्ता क्षेत्रमा फजुल खर्च नगरी उक्त रकम दान पुण्यमा लगानी गरेको पाईन्छ । यसै क्रममा स्याङ्जा भीरकोटका युवा राजकुमार गुरूङले सवारी दुर्घटनामा परि उपचारको क्रममा रहेकी भीरकोट नगरपालिका –९ निवासी अनु गुरूङलाई स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । गुरूङले हरेक बर्ष आफ्नो जन्मदिन यस्तै सामाजिक काम गरी मनाउने गर्दछन् । अनु गुरूङको परिवारलाई यतिबेला सहयोगको खांचो छ । श्रीमान् श्रीमती दुबै ओछ्यान पर्दाको पिडा कम मार्मिक छैन् । अनुको श्रीमानको आर्थिक अभावका कारण लामो समयदेखि मृगौला प्रत्यारोपण गर्न नसकेर डायलाईसिस गरिरहेका छन् । दुवै श्रीमान–श्रीमतीले अहिले आर्थिक सहयोगको अपेक्षा गरेका छन् ।
यतिबेला हाम्रो समाजमा निस्वार्थ भावले समाजसेवा गर्ने व्याक्तिको खांचो छ । अबदेखी हरेकले जन्मदिनमा गर्ने फजुल खर्चलाई यस्तै खाले सहयोगी कर्ममा लगाउन सक्नुपर्दछ । आर्थिक अवस्था कमजोर भएका अनुको जस्तो परिवारलाई सबैले सहयोग गर्नु मानवीय कर्तव्य पनि हो । ‘धन देख्दा महादेवका तीन नेत्र’ भन्ने उखान अहिले दिनहुँजसो चरितार्थ भइरहेको छ । आजका मानिसमा भौतिक सुख उपभोग गर्ने लालसा यति बढेर गएको छ कि आफ्नो–बिरानो पनि चिन्न छाडिएको छ । त्यसकै उदाहरण हुन् आर्थिक अभावमा उपचार नपाएर मृत्युवरण भएका घटना तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छरपष्ट भइरहेका अपराधका घटनाहरु ।
भौतिकताको पछि दौडिने मानसिकताले हत्यासम्मका अमानवीय र क्रुरता प्रदर्शन भइरहनु मानव सभ्यतामाथिको कलंक हो । श्रीमान–श्रीमती, दाजु–भाइ, बाबु–छोराबीचमा बढ्दै गएको द्वन्द्व र त्यसको पराकाष्ट हो ‘मरामर’ गर्ने सम्मका अमानवीय कर्म । अत्यन्त निकटतामा बढ्दै गएको यस्ता अपराधमा विज्ञानका उपलब्धीहरु पनि सहायक बनिएका कारण सुरक्षा संयन्त्र जतिसुकै व्यवस्थित भए वा गराइए पनि, कानूनी प्रबन्ध र दण्डजरिवाना गर्दागर्दै पनि यस्ता दुष्कर्म बढ्दै गएका छन् । यसले मानव जातिलाई आदिम युगभन्दा पनि अघिको अवस्थामा पु¥याउन थालेको आभाष हुन थालेको छ । शिक्षाले मानिसको चेतनाको स्तर बढाउँछ भनिन्छ ।
अहिले शिक्षा सर्वसुलभ छ र इच्छा हुनेले सहजै शिक्षा ग्रहण गर्न सक्ने वातावरण बनिएको छ । त्यसैगरी आधुनिकता र भौतिक विकासले मानिसको जीवन पद्धतिलाई सहज पनि बनाइदिएको छ । तर, त्यही बढेको चेतना मानव जातिकै संहारतर्फ उन्मुख हुनु पक्कै पनि सुखद् परिणाम होइन । सुख, ऐश्वर्य र विलासिताकै निम्ति हत्या जस्तो क्रुर र मानवता विरोधी गतिविधिमा संलग्न हुने विकृत मानसिकतालाई हतोत्साही गर्न सकिएन भने विज्ञानका उपजहरु नै हाम्रा लागि दुर्भाग्यपूर्ण हुनेछन् । त्यसैले मानवता विरोधी, मानवीय संवेदना र मानव सभ्यतामाथि कलंक लाग्ने प्रवृत्तिको अन्त्य गर्न नैतिक शिक्षालाई चेतनाको मूल संवाहक बनाउनुपर्छ । अन्यथा सर्वश्रेष्ठ प्राणीको विशिष्टता दन्त्यकथा जस्तो मात्रै हुनेछ ।
प्रतिक्रिया