जंगल छाडेर बस्तीमा झरे बाँदर

स्याङ्जा ।
भीरकोट ४ छाङ्छाङ्दीका हिमलाल अर्यालको अहिले बिहान र बेलुका बाँदर धपाउने काम शुरु हुन थालेको छ । करिब ५ महिना हराएका बाँदर फेरी बस्तीतिर झरेपछि उनको काम बाँदर हेर्ने र आफुले लगाएको वालीनाली जोगाउने हो । हरेक बर्ष फागुनको दोस्रो सातादेखी वालीनाली नथन्काए सम्म उनको काम बाँदर धपाउने मै वित्न थालेको धेरै भइसक्यो । बाँदरले बारीमा लगाएको अन्नवाली, तरकारी लगायतका खेती खाएर हैरान पारेपछि बारी बाझो राख्न बाध्य भए अर्याल । बारी बाँजो छाडेपछि उनले खेतीयोग्य जमिनमा धान मात्रै नरोपेर बेमौसमी खेती गर्न थाले । खेतमा लगाएको तरकारी देखी अन्नवालीमा समेत बाँदर खान पुगेपछि अर्याल अत्यन्तै चिन्तित् छन् । बारी बाँजो राखेर खेतमा लगाएको बालीनालीबाट निर्भर रहेका अर्याल बाँदरको हैरानीले खेती गर्ने मन लाग्न छाडेको छ । यो समस्यामा उनी मात्रै होइन सिङ्गो गाँउ बाँदरबाट सास्ती खेप्न बाध्य भएको छ ।
बेमौसमी तरकारी, खेतमा मकै छर्ने र गँहु पाकेको खान बाँदर यतीबेला स्याङ्जाका बस्ती बस्तीमा आएका छन् । अर्याल एउटा पात्र मात्रै हुन् तर यो समस्या जिल्लाका हरेक बस्तीमा छ । अहिले बस्ती झरेका बाँदर झण्डै साउन सम्म रहने र दुखदिने गर्छन् । नागरिकको दैनिकी सगँ जोडिएका सरकारी कार्यालय र स्थानीयतहहरुमा बाँदर नियन्त्रण गरिदिन किसानका निवेदनको चाङ् छन् । तर अहिले सम्म बाँदर नियन्त्रण गर्न यी निकायले प्रयास गरेपनि केही हुन सकेको छैन । खेतवारी मात्रै नभएर घरभित्रै पसेर खाना पकाएका भाँडाहरु समेत लैजान थालेपछि अब स—साना बावुनानीहरुमा समेत डरत्रासको अवस्था सिर्जना हुन थालेको छ ।
अर्का वालिङ ८ आग्रीडाँडाका केशभक्त गुरुङको पनि उस्तै समस्या छ । उनले लगाएको सुन्तलाखेती बाँदर नष्टगरेपछि अहिले उनले सुन्तला विक्रिबाट कमाई थोरै भएको गुनासो गरे । आयआर्जनको एक मात्रै माध्यम रहेको सुन्तलाखेतीमा बाँदरले हैरानी बनाउन थालेपछि यसको नियन्त्रणको उपायको खोजीमा गुरुङ् छन् । प्राकृतिबाट बल्ल—बल्ल बचाएका सुन्तला बाँदरले खाइदिएर हैरानी बनाउन थालेपछि उनले बैकल्पीक पेशाको खोजीमा रहेको गुरुङले बताए । बाँदरकै समस्यामा गुज्र्रिएका अर्का किसान हुन् वालिङ ९ डुड्खोलाका अग्नीप्रसाद गैह्रे । गैह्रे यतीबेला मानिस बचाउ, बाँदर धपाउ भन्ने अभियानमा छन् । किसानलाई बचाउने हो भने पहिला बाँदर नियन्त्रण गर भन्दै वडा र नगरपालिकामा धाइरहेको बताउछन् । बाँदरकै कारण झण्डै २ घरपरिवार समस्यामा परेको उनले बताए । यो खबरमा भीरकोटका अर्याल र वालिङका गुरुङ्, गैह्रेको मात्रै समस्या होइन् । उनीहरु त पात्र मात्रै हुन् । जिल्लाका हरेक बस्ती बस्तीका आवाजहरु उस्तै छन् । वडातह देखि स्थानीयतह, प्रदेश देखी संघिय सरकार सम्म बाँदरको समस्या पु¥याएपनि अहिले सम्म कुनै ठोस काम भने नभएको स्थानीयहरु बताउछन् ।
बाँदरकै कारण बस्ती छाडेर बसाई सर्न बाध्य भएका जिल्लाका केही गाँउहरु अहिले रित्तै छन् । बाँदरले केही गर्न नदिएपछि भीरकोट र वालिङ नगरपालिकाले बाँदर लखट्ने यन्त्र बन्दुक बनाएर पड्काउने काम पनि गरे । केही हदसम्म नियन्त्रणमा आएजस्तो देखिएपनि अहिले सो बन्दुक पड्काउदा पनि भाग्न छाडेको स्थानीयहरुले बताए । जंगलमा खानेकुरा नभएपछि बाँदरहरु बस्तीसम्म आईपुगेको विज्ञहरु बताउछन् । बाँदरको समस्याको गुनासोले जिल्ला कृषि ज्ञानकेन्द्र पनि अत्यन्तै आजित भएको जनाएको छ । यो बिषयमा प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण गराएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । बाँदरको समस्या लिएर किसानहरु दैनिक आउन थालेका छन् हमालले भने,‘यसको समाधानको उपायनै हामीसगँ नभएको गुनासो व्यक्त गर्ने गरेका छौं ।’ किसानको मेहनतमा बाँदरको रजाईले ज्ञानकेन्द्र पनि अत्यन्तै चिन्तित् छ उनले भने ।
अवैज्ञानीक जंगल छ, खानेकुरा पाईने रुख जस्तै बर, पिपल, स्वामी मासिए अनि बाँदर खाना खान बस्ती—बस्तीमा आउन थाले हमालले भने । किसानले कि बैकल्पीक खेती गर्नु आवश्यक छ कि प्रत्येक घर परिवारले बाँदर पाल्ने अभियान शुरु गरे केही न्युनिकरण हुने हमालको भनाई छ । देशभरीकै समस्यामा रहेको बाँदर न्युनिकरण गर्ने अन्तिम उपाय घरमा पाल्ने नै रहेको हमालले जोड दिए । बन्यजन्तुमा मान्यता पाएको बाँदरलाई मार्न नपाईने कानुनी व्यवस्था छ । मार्न नपाईने र बस्ती बस्तीमा पुगेर नागरिकलाई हैरानी बनाउने बाँदर नियन्त्रणमा राज्यले बेलैमा ध्यान दिनुपर्ने स्थानीयले बताउछन् । यसको समयमै निधान गर्नेतर्फ ध्यान नदिने हो भने धेरै मानवीय क्षतीतर्फ बाँदर उन्मुख हुन सक्ने संकेत देखा पर्ने देखिन्छ ।

प्रतिक्रिया