५ सहकारीलाई व्यवस्थापन हस्तान्तरण
वालिङ ।
दुई बर्ष अगाडी स्थापना गरिएका ५ साना किसान सहकारीलाई व्यवस्थापन हस्तान्तरण गरिएको छ । तुल्सीभञ्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेड गल्याङले ५ वडा साना किसान सहकारीलाई व्यवस्थापन हस्तान्तरण गरेको हो । तुल्सीभञ्याङ् साना किसानको आयोजना तथा नेपाल कृषि सहकारी केन्द्रिय संघको प्रर्वद्धनमा वालिङमा एक कार्यक्रम गरी सहकारी व्यवस्थापन जिम्मेवारी हस्तान्तरण गरिएको थियो । सहकारी व्यवस्थापन हस्तान्तरण कार्यक्रममा बोल्दै पुर्व मन्त्री पद्मा अर्यालले कृषि नै समृद्धिको आधार भएकाले कृषिको विकास आवश्यक रहेको बताइन् ।
आँफू सहकारी मन्त्री हुँदा जिल्लाका विभिन्न सहकारीलाई सहयोग गरेको भन्दै सहकारीका माध्यमबाट उत्पादनशील कार्यमा नागरिकलाई जोड्नुपर्ने अर्यालले बताइन् । कृषिमा यान्त्रिकीकरण आवश्यक रहेको भन्दै अर्यालले परम्परागत प्रणालीलाई परिर्वतन गर्दै आधुनिक प्रविधिको प्रयोग गरी धेरै भन्दा धेरै कृषि उपज उत्पादन गर्नुपर्ने धारणा व्यक्त गरिन् । बजारीकरणका लागी ३ तहको सरकारले सहजीकरण गर्नुपर्ने बताउदै सामुहिक तथा चक्लाबन्दी कृषि प्रणालीलाई अबलम्बन गरी अगाडि बढ्न सकिएमा नागरिकको जिवस्तर माथि उठ्ने र हरेक नागरिक आर्थिक रुपमा सक्षम र सबल हुने अर्यालले दावी गरिन् ।
कार्यक्रममा नेपाल कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष ख्याम पाठकले साना किसानको सञ्जाल देशभरका ७५ जिल्लामा पुगिसकेको भन्दै अव छिट्टै ७७ जिल्लामै पुग्ने बताए । साना किसानले ऋण र वचतको मात्रै कारोबार नगरी उत्पादनमुलक कार्यमा समेत सक्रिय रहेको भन्दै कृषि उद्यमीका लागी ३ प्रतिशत व्याजमा ऋण लगानी गर्नका लागी गण्डकी प्रदेशका सरकारसंग छलफल भईरहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सांसद मोहन रेग्मीले सहकारीका माध्यमबाट निम्न आय भएका सदस्यहरुलाई माथि उठाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा जनकल्याण साना किसान कृषि सहकारी संस्था वालिङ २, अकला नमुना साना किसान कृषि सहकारी वालिङ ६, वालिङ साना किसान कृषि सहकारी वालिङ ९, गह्रौँकालिका साना किसान कृषि सहकारी संस्था वालिङ १० र रापाकोट साना किसान कृषि सहकारी संस्था अर्जुनचौपारी गाउँपालिका ३ लाई व्यवस्थापन हस्तान्तरणको जिम्मेवारी दिइएको थियो । कार्यक्रम तुल्सीभञ्याङ्का अध्यक्ष दलबहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अकला नमुना साना किसानका अध्यक्ष पुण्यप्रसाद अर्यालले र सञ्चालक तुल्सीभञ्याङ साना किसानका प्रबन्धक सम्भु अधिकारीले गरेका थिए ।
प्रतिक्रिया