किर्ते नागरिकता सिफारीसमा वडाध्यक्ष सहित ५ जना पक्राउ
स्याङ्जा ।
स्थानीयतहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनहिरुले धमाधम अबैध काम कारबाहीलाई तिव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पक्राउ परेका छन् ।
नेपाली नागरिकता प्रमाण–पत्रका लागि वडा मुचुल्कामा किर्ते हस्ताक्षर गरिएको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री पक्राउ परेका हुन् । वडाध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारिस गरिएको पीडितहरूले बताएका छन् ।
उक्त कार्यमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्थानीयले संयुक्त निवेदन दिएका थिए । निवेकका अनुसार कृष्णप्रसाद पौडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा किर्ते नागरिकता बनाइएको छ, तर कृष्ण प्रसाद पौडेलको सोनु पौडेल नाम गरेको छोरी नै नभएको दावी गरिएको छ ।
आँधीखोला गाउँपालिका ३ पाख्रीबोटमा कृष्णप्रसाद पौडेल नाममा व्यक्ति भएपनि सोनु पौडेल नाम गरेकी छोरी भने नभएको बताइएको छ । निजलाई नागरिकताको प्रमाण–पत्रदिएमा फरक पर्दैन भनी हामीहरूले वडा मुचुल्कामा हस्ताक्ष्।र गरेका छैनौं, जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
निबेदकका अनुसार नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पूर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण–पत्र दिलाई दिने प्रपञ्च गरेका व्यक्तिहरूले नै हामीहरूको नाम उल्लेख गरी वडा मुचुल्का खडा गरिएको छ । हाम्रो सहीछाप निजहरूकै जालसाझी प्रपञ्चबाट हामी सिधासादा नागरिकहरूको नाम राखी फसाउने नियतले हामीहरूको किर्ते हस्ताक्षर गरी त्यस्तो वडा मुचुल्का खडा भएको निवेदनमा उल्लेख छ ।
स्थानीयको निबेदन परेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । किर्ते मुचुल्का खडा गर्ने एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्षहुन् ।
उजुरीपछि प्रहरीले किर्ते काम गरेको आरोपमा वडाध्यक्ष खत्रीलाई पक्राउ गरेको छ । खत्रीलाई उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । पक्राउ परेका खत्रीलाई छुटाउन एमाले स्याङ्जाका नेता तथा कार्यकर्ताहरूले दबाब सिर्जना गर्न थालेका छन् । यस विषयमा पूर्वमन्त्री तथा एमाले केन्द्रीय सचिव पदमा अर्यालले खत्रीलाई छाडिदिन दबाब दिएको प्रशासन श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यस बिषयको अनुसन्धानका लागि भन्दै वडा अध्यक्ष सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा वडा सचिव बालकृष्ण शर्मा, आँधीखोला गाँउपालिका ३ की सिता पौडेल, आँधीखोला गाँउपालिका ३ स्थायी वतन भई हाल जिल्ला कुस्मा बस्ने नवराज पौडेल, पर्वत कुस्मा १ का सोनु पौडेल भनिने सोनु अधिकारी रहेका छन् । पर्वत जिल्लाकी महिलालाई स्याङ्जा आँधीखोलाकी स्थायी वासिन्दा बनाएर नागरिकता सिफारीस गरिएको आरोपमा उनीहरुलाई लागेको छ । यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया