नेकपा परित्याग गरि सयौं नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश, भन्छन् ः अहिलेसम्म अलमलिएछौँ

फेदीखोला, स्याङ्जा ।
जिल्लाको फेदीखोलामा नेकपा (एमाले) र अन्य पार्टी परित्याग गरी करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । फेदीखोला गाउँपालिका २, फेदीखोलामा नेपाली काँग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बिहीबार भव्यताका साथ सम्पन्न भएको छ । खासगरी नेकपा एमालेका सयौं कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद बरालको नेतृत्वमा एकैपटक ठुलो संख्यामा पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ । नेकपा एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति राजु थापाले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य पौडेलले स्याङ्जा लगायत देशैभरी नेपाली काँग्रेसमा आम जनताको लहर बढ्दै गएको बताए । अब काँग्रेस देशमा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत पौडेलले दावी गरे । कांग्रेसले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ कुनैदिन पनि कांग्रेस प्रवेश गरेकामा तपाईंहरुलाई पश्चाताप हुने छैन भन्दै मुलुकको सबै समस्याको समाधानको नाम नै नेपाली कांग्रेस भएको बताए । केन्द्रिय सदस्य पौडेलको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा पौडेलले नयाँ बर्ष २०७९ कोअवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

नेकपा एमालेको गड रहेको फेदीखोलाबाट एकैपटक सयौंको संख्यामा पार्टी प्रवेश गराउने लक्ष्मीप्रसाद बराल नेकपा एमाले जिल्ला कमिटि सदस्य, प्याब्सन गण्डकी प्रदेशका सदस्य तथा सिद्धार्थ बहुमुखी क्याम्पसका अध्यक्ष समेत हुन् । पञ्चायती व्यवस्थाबाट नेकपा एमालेको राजनीति सुरु गरेका ५४ वर्षीय बरालको दर्जन भन्दा बढी संघसंस्थाको उच्च पदमा संलग्नता रहेको छ । बरालसँगै काँग्रेस पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले फेदीखोला वडा नं. २ का वडा सदस्य शोभित बहादुर कार्की, बरिष्ठ बस व्यावसायी कृष्णप्रसाद पौडेल, ३० बर्षदेखि एमाले निकट कर्मचारी संगठनमा रहेर काम गरेका अवकासप्राप्त कर्मचारी राजेन्द्रप्रसाद बराल लगायतका छन् ।
नेकपा परित्याग गरि कांग्रेसको सदस्यता लिएका लक्ष्मीप्रसाद बरालले भने, अहिलेसम्म हामी नेकपाले बाँडेको सपनामा अलमिलएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने महसुस भएर नेपाली काँग्रेसमा प्रवेश गरेका छौँ । कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो । कार्यक्रम नेपाली कांग्रेस फेदीखोला गाँउकार्यसमितीका सभापति महेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया