वालिङ र बिरुवा पालिकाले थाल्यो गठबन्धन छलफल

स्याङ्जा ।
आगामी निर्वाचनमा गठबन्धन सहित तालमेलमा जाने बिषयमा जिल्लाका दुई पालिकाले छलफल सुरु गरेका छन् । जिल्लामा ५ दलीय गठबन्धनको छलफल सम्पन्न भएपछि पालिका स्तरमा छलफल सुरु हुन थालेको हो । वालिङ नगरपालिका र बिरुवा गाँउपालिकामा ५ दलीय गठबन्धन राजनीतिक दलले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने बिषयमा छलफल भएका छन् । वालिङमा नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डेको अध्यक्षतामा र बिरुवा गाँउपालिकामा पालिका सभापति डोलराज पोखरेलको अध्यक्षमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
वालिङमा भएको बैठकमा नेकपा माओवादी केन्द्रबाट दिपा भुषाल, नेकपा एकिकृत समाजवादीका बरुण गैह्रे गरी तिनदलीय बिच बैठक भएको नेपाली काँग्रेस नगर सचिव राजु तिवारीले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसका नगर उपसभापति पदमराज गुरुङ, नेकपा माओवादी केन्द्रका रनबहादुर गुरुङ, अमृत खनाल र नेकपा एसबाट लेखनाथ गहतराज, बलबहादुर थापा सहभागी रहेको नगर सचिव तिवारीले बताए । बैठकले सरकारमा सहभागी सबैदलहरु आगामी निर्वाचनमा सहकार्य गरेर अगाडी बढ्ने निर्णय भएको बताइएको छ । पालिकामा वडाको सुझाव अनुसार उमेदवार टुङ्गो लगाउने आन्तरिक सहमति भएको छ ।
यसै बिच बिरुवा गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरु बीच तालमेल गरेर अगाडि बढ्ने सहमति भएको छ । नेपाली कांग्रेस बिरुवाका सभापति डोलराज पोखरेलको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गण्डकी प्रदेश का बन तथा वातावरण मन्त्री दिपक चर्तीमगरको बिशेष उपस्थितीमा बिरुवामा भएको बैठकमा तालमेल गर्ने निर्णय भएको अध्यक्ष पोखरेलले बताए । बैठकमा नेकपा माओवादी केन्द्रका बिरुवा अध्यक्ष तील बहादुर गुरुङ, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश मुख्य सचिव हेमन्त थापा, नेपाली कांग्रेसका महासमिति सदस्य डोलबहादुर खड्का, महाधिवेशन प्रतिनिधि लक्ष्मी केसी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य नारायण थापा, नेपाली कांग्रेस बिरुवाका निवर्तमान सभापति युवराज केसी, नेकपा माओवादीका बिरुवा उपाध्यक्ष पहलसिहं बिक, सचिव सागर थापा, नेपाली कांग्रेस बिरुवा २ का सभापति नोम बहादुर गुरुङ, क्षेत्रीय प्रतिनिधिहरु बिरेन्द्र खड्का, निर बहादुर थापा लगायतको उपस्थिति रहेको सभापति पोखरेलले पब्लिक आवाजलाई जानकारी दिए ।

 

 

 

किर्ते नागरिकता सिफारीसमा वडा अध्यक्ष पक्राउ
स्याङजा
स्थानीयतहका जनप्रतिनिधिको म्याद सकिन लाग्दा धमाधम वडा अध्यक्ष पक्राउ पर्न थालेका छन् । नागरिकताका लागि किर्ते काम गरी सिफारीस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नम्वर ३ का वडा अध्यक्ष पक्राउ परेका छन् । नेपाली नागरिकता प्रमाण पत्रकालागि वडा मुचुल्कामा किर्ते सही गरिएको भन्दै स्थानीयले कारवाहीको माग गरेपछि वडा अध्यक्ष बिष्णु बहादुर खत्री पक्राउ परेका हुन् । वडा अध्यक्ष खत्रीकै संलग्नतामा किर्ते मुचुल्का उठाई नागरिकताका लागि सिफारीस गरिएको पिडितहरुले बताएका छन् ।

उक्त कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ५ जनाले संयुक्त निवेदन दिएका छन् । निवेदन अनुसार कृष्ण प्रसाद पौडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा नागरिकता बनाइएको छ । तर कृष्ण प्रसाद पौडेलको सोेनु पौडेल नाम गरेको छोरी नै नभएको निवेदकले दावी गरेका छन् ।

आँधिखोला गाउँपालिका ३ पाख्रीबोेटमा कृष्ण प्रसाद पौडेल भन्ने व्याक्ति भएपनि सोनु पौडेल नाम गरेकी छोरी भने नभएको बताइएको छ । निजलाई नागरिकताको प्रमाणपत्र प्रदान भएमा फरक पर्दैन भनी हामीहरुले वडा मुचुल्कामा सहि नगरेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ । गैह्र नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पुर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण पत्र दिलाई दिने प्रपञ्च गरेका ब्यक्तीहरुले नै हामीहरुको नाम उल्लेख गरी वडा मुचुल्का खडा गर्ने र हाम्रोे सहीछाप निजहरुकै जाल प्रपञ्चबाट हामी सिधासादा नागरिकहरुको नाम राखी फसाउने नियतले हामीहरुको किर्ते सही गरी त्यस्तो वडा मुचुल्का खडा भएको निवेदनमा उल्लेख छ ।
यता जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने यस बिषयमा अनुसन्धान भइरहेको बताए । किर्ते मुचुल्कामा संलग्न एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन् । प्रहरीले किर्ते काम गरेका वडा अध्यक्ष खत्रीलाई पक्राउ गरेपछि अहिले एमाले स्याङ्जाका नेता तथा कार्यकर्ताहरुले छुटाउन दवाव सिर्जना गरेको बताइएको छ । यस बिषयमा पुर्व मन्त्री तथा एमाले केन्द्रीय सचिव पदमा अर्यालले खत्रीलाई छाडिदिन दवाव दिएको बुझिएको छ ।

प्रतिक्रिया