स्याङ्जामा दलहरु घर दैलो देखी चुनावी प्रशिक्षणमा

स्याङ्जा ।
स्थानीयतहको निर्वाचन मिति नजिकिदै गर्दा राजनीतिकदलहरु घरदैलो देखी चुनावी प्रशिक्षण कार्यक्रममा व्यस्त छन् । चुनावी सरगर्मीका कारण ठुला देखी सानादलहरु अहिले जनताको घरदैलोमा पुगेका छन् भने कार्यकर्ताहरुलाई प्रशिक्षण दिने अभियानमा लागेका हुन् । २०७४ बैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचन पछि चुनिएका जनप्रतिनिधिहरुको कार्यकाल सकिदै छ । ५ बर्षमा आफुले चुनेर पठाएका जनप्रतिनिधिले जनताको काम कसरी गरे भन्ने समिक्षा पनि यो स्थानीयतहको निर्वाचन हुने छ । जनप्रतिनिधि सगँ सन्तुष्ट र असन्तुष्ट बनेका जनताले मुल्याङ्कन गर्ने बेला आएको नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा बताउछन् । संघिय संविधान बनेसगै बनेको नयाँ शासकीय संरचना अनुरुप स्थानीयतहमा चुनिएका जनप्रतिनिधिको काम र शैली प्रति धेरै नागरिक सन्तुष्ट नदेखिएको शर्माको तर्क छ ।
५ बर्ष जनप्रतिनिधिले गरेको काम देखेका जनताको घरदैलोमा फेरी बैशाख ३० गते हुने निर्वाचनका लागि दलहरु भोट माग्न जानेक्रम बढेको छ । नेपाली काँग्रेस सहित गठबन्धन एकातिर र नेकपा एमाले एकातिर बिच हुने प्रतिष्पर्धाको नतिजा भने मतदान पछि नै हुने छ । आगामी स्थानीयतहको निर्वाचनमा गठबन्धन दलहरु एकता र सहकार्य गरी अगाडी बढ्ने भनेपनि घरदैलो र चुनावी प्रशिक्षण अभियानमा भने छुट्टाछुट्टै देखिएका छन् । नेपाली काँग्रेसले ‘घर घर— जाऔं काँग्रेस जिताऔं’ भन्ने अभियान लिएर घरदैलो, टोल विकास समिति गठन देखि पालिकास्तरमा प्रशिक्षण चलाएको छ भने नेकपा एमाले भातृसंगठन पुर्नगठन, टोल विकास समिति गठन र वाडस्तरीय भेलामा व्यस्त देखिएको छ । यस्तै नेकपा माओवादी केन्द्र पालिकास्तरका बैठक सम्पन्न पछि वडातहमा जाने तयारीमा रहेको बुझिएको छ ।
नेकपा एमालेबाट छुट्टिएर नयाँ दल बनेको नेकपा एकिकृत समाजवादी भने संगठन बिस्तार सगै प्रशिक्षण अभियानमा जुटेको छ । अन्य सानादलहरु भने भित्रभित्रै रणनीनितिक योजनामा रहेपनि जनताको घरदैलो वा वडातहमा पुगेको देखिदैन । ठुला ६ राजनीतिकदल बाहेक १३ सानादलहरुले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण बुझाएको निर्वाचन कार्यालयका प्रमुख गुरु प्रसाद मरासिनीले बताए । स्वतन्त्र उमेदवार बाहेक स्याङ्जामा १९ राजनीतिकदलले आगामी बैशाक ३० गतेको निर्वाचनमा सहभागी हुने मरासिनीको भनाई छ ।
उमेदवार मनोनयनको मिति नजिकिदै गर्दा उमेदवार छनोटमा पनि भित्रभित्रै दलहरु तयारीमा जुटेका छन् । बिशेष गरी नेपाली काँग्रेस र नेकपा एमालेमा उमेदवार बन्न धेरै नेताहरु आकाँक्षी देखिएपछि छनोटमा सकस हुने देखिएको छ । यसका लागि नेपाली काँग्रेसले वडातहका उमेदवार र पालिका प्रमुख उपप्रमुखका लागि उमेदवार माग्ने प्रक्रिया अगाडी बढाएको नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिए । सिफारीस गर्ने कार्यलाई अगाडी बढिरहेको र गठबन्धन बिच छलफल पछि मात्रै वडातहको उमेदवार टुङ्गिने र प्रमुख उपप्रमुखको बिषय भने एक साता पछि मात्रै टुङगिने लम्सालले बताए ।
नेकपा एमालेले पनि उमेदवार टुङ्गाउने क्रमलाई जारी राखेको छ । केही वडाहरुमा उमेदवारको टुङ्गो लागेपनि पालिका प्रमुख उपप्रमुखको भने छलफलकै क्रममा रहेको एमाले श्रोतले जनाएको छ । दलहरुले उमेदवार छनोट गरि चुनावी मैदानमा पठाएपछि मात्रै स्याङ्जामा चुनावको सरगर्मी बढ्ने देखिएको छ ।

प्रतिक्रिया