‘हस्पिटल चोकको एक बर्ष’
स्याङ्जा ।
वालिङ नगरपालिकामा गतबर्ष असार १२ गते एक नगरिकले निवेदन पेश गरे । निवेदन नगर प्रमुख दिलिपप्रताप खाँणलाई सम्वोधन गरेर लएिको थियो । निवेदनमा नगर प्रमुखलाई सम्बोधन गरेकाले पेश गर्न पनि उनले नगर प्रमुखलाई नै खोजे तर पटक—पटक नगरपालिका धाउदा नगर प्रमुख खाँणलाई फेला पार्न ति नागरिकले सकेनन् । नगर प्रमुख खाँणको कार्य व्यस्तताका कारण उनको निवेदन पेश गर्ने समय बढ्दै गयो । ठिक १२ दिन पछि उनले बल्ल बल्ल नगर प्रमुखलाई फेला पारे अनि निवेदन पेश गरे ।
असार १२ गते लेखिएको निवेदनमा नगर प्रमुख खाँणले २४ गते विपद् शाखा भनेर तोक लगाईदिए । निवेदकले निवेदन लेखेर झण्डै दुईसाता लगाएर लगाएको तोक पछि उनी सिधै दर्ता फाटमा पुगेर आफ्नो निवेदन दर्ता गराए । तोक आदेश लगाएको निवेदन २०१८ नम्वरमा दर्ता भयो । नगरपालिकामा पेश गरेको निवेदनमा बिषय के उल्लेख गरेका थिए त्यो भने उनले अहिले भुलिसकेका छन् । किन भने आफुले माग गरेको बिषयमा नगरपालिकाले खासै चासो नदिएकाले पछि त्यसको फलोअप गर्न छाडिदिए ।
निवेदन पेश गर्ने व्याक्ति थिए वालिङ ९ हस्पिटल चोकका शंकर प्रसाद डुम्रे । हस्पिटल चोकमा व्यवसाय गर्दै आएका डुम्रे राम्रा व्यवसायी हुन् । उनको व्यवसाय वालिङ प्रथामिक स्वास्थ्य केन्द्र जाने चोकमा पर्छ । गतबर्ष असार ४ र ५ गतेको बर्षादले ठुलो बाढी आयो । बाढीका कारण उनको पसलभित्र पानी पसेर झण्डै ५ लाख बराबरको सामानको क्षती भयो । उनको घरमा पानी पस्नाको कारण थियो वालिङ नगरपालिकाले फराकिलो बनाउने भनेर खनेको सिद्धार्थ राजमार्ग अनि प्रथामिक स्वास्थ्य केन्द्रले निर्माण गरेको भवन । राजमार्गदेखिको ढुङ्गा, गिट्टी, माटो र निर्माधिन स्वास्थ्य केन्द्र भवनको सामाग्री बाढीले बगाएर नाला थुनेपछि उनको पसलभरी पानी पस्न पुग्यो ।
डुम्रेले सोही नाला मर्मत गरिदिन र ठुलो बाढी नआउदा पसलमा पानी आउनबाट राकिदिन उनले नगर प्रमुख समक्ष निवेदन पेश गरेका थिए ।
आकाशमा कालो बादल मडारिने वित्तिकै डुम्रे लगायत आसपासका टोलवासी फेरी पानी घरभित्र पस्ने भो भन्ने त्रासमा रहदै आएका छन् । नगर प्रमुखले तोक आदेश दिएको निवेदन योजना शाखामा पुगेपनि अहिले सम्म कार्यन्वयन नभएको गुनासो उनको छ । डुम्रेले वडा देखि नगर र सामाजिक संजाल मार्फत अनुरोध गर्दा पनि सुनुवाई नभएकोमा दुख व्यक्त गरे । अहिले उनले यसको नतिजा स्थानीयतहको निर्वाचनबाट देखाउने चेतावनी दिएका छन् ।
जहाँबाट अस्पताल जाने आउने, विद्यालय र क्याम्पस जाने यो अत्यन्तै व्यस्त सडक पनि हो । नगरका अधिकांश सडकमा निर्माण गरिएका नालाहरु पुरानै संरचनामा भएका र नयाँ संरचनामा चासो नदिदा यस्ता समस्याहरु चुनौती बन्दै आएका छन् । नगर प्रमुखले तोक आदेश गरेको निवेदनमा किन कार्यन्वयन भएन भन्ने प्रश्नमा वालिङ नगरपालिका योजना शाखाका प्रमुख मणि तिवारीले समस्या पुरै समाधान नभएपनि प्रक्रिया अगाडी बढेको बताए । बजेट थोरै जनताको माग धेरै छन् तिवारीले भने,‘प्रथामिकताका आधारमा काम गर्दा केही ढिलाई हुन गएको हो ।’ झण्डै २५ लाख लाग्ने भएकाले यसको काम आगामी बर्षमा हुने उनले बताए ।
जनताले चुनेका प्रतिनिधिले समस्या भएको एक बर्ष सम्म पनि चासो नदिदा नागरिकले कति समय दुख झेल्ने हो भन्ने बिषय उठ्न थालेको डुम्रेले बताए । निवदेन दिएको एक बर्ष सम्म पनि समस्याको अनुगमन समेत नहुनु नागरिक प्रति जनप्रतिनिधिको उत्तरदायीत्व नभएको देखियो उनले भने । डुम्रेले दिएको निवेदन माथी एक बर्ष सम्म पनि कारवाहि नहुनुले यस्ता निवेदनको चाङ् नगरपालिकामा धेरै भएको अनुमान गरिएको छ । यता कार्यबहाक वडा अध्यक्ष दिपक श्रेष्ठले भने हस्पिटल चोकको समस्या थाहा भएको स्विकारेका छन् । उनले अवको एकसातामा सो समस्या समाधान हुने बताए ।
प्रतिक्रिया