व्यक्तिगत घटना दर्ता सप्ताहको प्रचारप्रसार

पब्लिक आवाज
वालिङ ।
जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले नयाँ वर्ष २०७९ सालको पहिलो हप्ता संचालन हुन गैरहेको “व्यक्तिगत घटना दर्ता सप्ताह” को प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । २०७९ साल वैशाख १ देखि ७ गते सम्म सञ्चालन हुन गइरहेको “व्यक्तिगत घटना दर्ता सप्ताह” को प्रचारप्रसारको लागि पालिकाले पालिकाको केन्द्र अर्जुनचौपारी बजार र आसपासका क्षेत्रमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको हो । उक्त प्रभातफेरी एवं ¥याली कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, गाउँपालिकाका सम्पुर्ण शाखाका प्रमुख एवं कर्मचारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा व्यक्तिगत घटना दर्ताको आवश्यकता र महत्व समेटिएको सचेतनामुलक संचार सामाग्रीको प्रशारण सहित अर्जुनचौपारी बजार, मजुवा हुदैं बजार परिक्रमा गरिएको थियो ।
जन्म, मृत्यु, बिवाह, बसाइँसराइ र सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनाहरु ३५ दिन भित्र स्थानीय तहमा दर्ता गर्दा कुनै शुल्क तिर्नु पर्दैन् । बालबालिकालाई विद्यालय भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, सामाजिक सुरक्षा प्राप्त गर्न, राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य रुपमा जन्मदर्ता गरेको हुनुपर्छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि ७ गतेसम्म देशैभर अभियानका रुपमा “व्यक्तिगत घटना दर्ता सप्ताह” संचालन गर्दैछ ।
यसैगरी जिल्लाका अन्य स्थानीय तहहरुले पनि यो अभियानको औपचारिक रुपमा सुरुवात गरेका छन् । व्यक्तिगत घटना दर्तामा नागरिकले चासो नदेखाउँदा संयुक्त राष्ट्रसंघमा सरकारले गरेको प्रतिबद्धता पूरा नहुने सम्भावना बढेको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल बताउछन् । संयुक्त राष्ट्रसंघको सन् २०१४ सेप्टेम्बरमा भएको ६९ औं महासभामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०२४ भित्र नेपालले सबै व्यक्तिगत घटना दर्ता गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर प्रतिबद्धता पूरा गर्ने गरी काम अघि बढ्न सकेको छैन ।
वालिङ नगरपालिकाले वडास्तरमा यो अभियानको प्रचारप्रसार गरेको छ । राज्यसँग व्यक्तिको कानुनी सम्बन्ध व्यक्तिगत घटना दर्तासँगै जोडिने बताउछन्, वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनप्रसाद भट्टराई । भट्टराईले भने, जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता र सम्बन्ध विच्छेदसम्बन्धी घटना दर्ता भएपछि राज्य र व्यक्तिको सम्बन्ध सुरु हुन्छ । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले अंशबन्डा, नागरिकता, राहदानी, नाबालक परिचयपत्र, पठनपाठनदेखि राज्यबाट पाउने अरु सेवा सुविधा उपभोग गर्न पनि घटना दर्ता अनिवार्य हुने बताए । न्यौपानेले यसकै आधारमा राज्यले दिने सेवा सुविधा र कानुनी अधिकार स्थापित हुने हुदाँ समयमै उक्त घटना दर्ता गर्न सबैलाई आग्रह गरे । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा १८ ले यस्ता घटना घटेको ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारी (वडा कार्यालय) र विदेशमा भए कूटनीतिक नियोगमार्फत घटना दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया