निर्वाचन आचारसंहिता पालना गर्न स्याङ्जामा समिति गठन
स्याङ्जा ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न स्याङ्जामा समिति गठन भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा सरोकारवालाहरुले आचारसंहिता पालना गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेका छन । जिल्ला सदरमुकाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा सो निर्णय एवं प्रतिवद्धता गरिएका हुन ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई पनि लागू हुनेछ । ३० वैशाखमा हुने चुनावका लागि १० वैशाखमा उम्मेदवारी दर्ता हुनेछ । दाबी, विरोध र फिर्ताको समय दिएर १५ वैशाखसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्यसपछि २८ वैशाखसम्म उम्मेदवारले चुनावी प्रचार गर्न पाउनेछन् ।
निर्वाचनका बेला उत्पन्न हुन सक्ने जुनसुकै परिस्थितीको समाधानका लागि प्रमुख निर्वाचन अधिकृत संयोजक रहनेगरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुका प्रमुखहरु, निर्वाचन अधिकृतहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन भएको हो । यसैगरी, पालिका स्तरमा पनि सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतको संयोजकत्वमा, स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रमुखहरु र स्थानीय तहमा रहेका सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने समिति गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले निष्पक्ष, भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु सबैको कर्तब्य र जिम्मेवारी रहेको बताउदै सबैले निर्वाचन आचार संहिता पालना गर्नुपर्ने बताईन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आचार संहिता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जिल्लाका बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीले गरेका थिए । कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन अधिकृत, जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख एवं प्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया