आठ बजेपछि मदिरा पिएर होहल्ला गर्न नपाइने
स्याङ्जा ।
मुख्य निर्वाचन कार्यालयको आयोजनामा जिल्ला स्थित निर्वाचन सम्बन्धी गतिबिधी र आचारसंहिता बिषयक सरोकारवालासंग छलफल भएको छ । बैशाख ३० गते हुन गइरहेकोे स्थानीय तह निर्वाचनका बेला निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहितामा उल्लेखित ब्यवस्थाहरु सबै पक्षबाट पूर्णरुपमा पालना गर्ने जनाउदैँ कही कतैबाट उल्लंघन भएमा २४ घण्टा भित्र त्यस्ता गतिविधिलाई नियन्त्रणमा ल्याउने र आचारसंहिता विपरितका प्रचार प्रसार सामाग्रीहरु हटाउने र सो समय भित्र परिपालना नभएमा निर्वाचन अधिकृत एवं सुरक्षा निकाय मार्फत सुधार गरिने निर्णय भएको छ ।
साथै, कानूनले तोके बमोजिमका कानूनी कारवाही यथावत राख्दै साँझ ८ बजेपछि मदिरा लगायतका पदार्थ पिएर होहल्ला गर्न नपाईने गरी सामुहिक निर्णय भएको छ । छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरु, सुरक्षा संयन्त्र, नागरिक समाज र पत्रकारहरुको सहभागिता थियो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निर्वाचन आचार संहिताका बारेमा जानकारी गराउदै सबै राजनीतिक दलहरुले आ आफना कार्यकर्तालाई संयमतापूर्वक प्रचार प्रसार र निर्वाचनका प्रक्रियामा सहभागी गर्न गराउन सुझाव दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको सुरक्षा अवस्थाका बारेमा र प्रहरी उपरीक्षक राजीव बस्नेतले निर्वाचनको अघि र पछि हुनसक्ने गतिविधिका बारेमा जानकारी गराउदै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका सहसचिव तारा शर्मा र नगर अध्यक्ष भरत गोदार, नेपाली कांग्रेसका सदस्य नवराज सुवेदी, नेकपा माओवादी केन्द्रका दुर्गानारायण ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष भूमिजंग केसी, नेकपा एकिकृत समाजवादीका लोकराज शर्मा, जनता समाजवादी पार्टीका पोमनारायण अर्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रै, मंगोल नेशनल अर्गनाईजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले निर्वाचनका बेला आयोगद्धारा जारी आचार संहिता कार्यान्वयनमा जोड दिई स्वच्छ स्वतन्त्र निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया