समृद्ध वालिङ बनाउन मेरो उम्मेदवारी

उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवार आआफ्ना एजेन्डा लिएर जनतामाझ जान थालेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै पार्टीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । यसै सेरोफेरोमा रहेर नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार दिलिपप्रताप खाँण सगँ गरिएको कुराकानी

क) नयाँ संविधानअनुसार तीन तहको सरकारको पहिलो निर्वाचनले प्रतिनिधि बनाएको व्यक्तिका रुपमा तपाईंको अनुभव कस्तो छ ?

मेरो अनुभवमा यो पहिलो प्रयास थियो । पहिलो प्रयासमै मैले धेरै कामको सुरुवात गरेको छु । संविधानले स्थानीय तहलाई २२ वटा अधिकार दिएको छ । तिनै अधिकारको परिधिमा रहेर मैले काम गर्न सकेजस्तो लाग्छ । विगतका ५ बर्षमा संविधानको आशय अनुशार सहकार्य, सहअस्तित्व र समन्वयको आधारमा मात्र मैले काम गरेको छु । नेपालमा यो ३ तहको सरकारको नौलो अभ्यास थियो । यो अभ्यासमा मेरो अनुभव सकारात्मक नै छ । निर्वाचित भएर आएपछि बिदा लिने समयसम्म आइपुग्दा जुन परिकल्पनाका साथ आएका थियौँ सोचेजस्तो प्रगति गर्न सकिएन । हामीलाई धेरै कुराहरुको अभाव थियो । २०औँ वर्षसम्म जनप्रतिनिधिको अभावमा कर्मचारीले शासन व्यवस्था सञ्चालन गरेका थिए । थुप्रै ऐन तथा कानुनहरु निर्माणदेखि भौतिक पूर्वाधार निर्माणका कामहरु गर्नुपर्ने भएकाले निकै समस्या हुँदो रहेछ । हामीले थुपै्र जटिलता पार ग¥यौँ । अब आउने जनप्रतिनिधिले त्यो झेल्नु नपार्ला ।

ख) पाँच वर्षअघि निर्वाचनमा भाग लिंदा तपाईंले गर्नुभएका कुन घोषणा पूरा भए, कुन पूरा हुन सकेनन् ?

५ बर्ष अघिका घोषणाहरु अधिकांश सैद्धान्तिक थिए । यस अवधिमा घोषणा अनुशार धेरै कामहरु सम्पन्न भएका छन् । ति सबैको फेहरिस्त यहां संभव नहोला । कानुन निर्माणका कामहरु पूरा भएको छ । २० बर्षको दिर्घकालिन, मध्यकालिन र अल्पकालिन योजना बनाईएको छ । २० बर्षमा स्मार्ट सिटी बनाउने योजना अनुरुप बेसिक सिटी निर्माणको काम सुरु भएको छ । हामीले सकेसम्म वालिङवासी जनताहरुलाई संघीयताको अनुभूत हुने गरी सेवा प्रवाह गर्न खोज्यौँ । हरेक विषयहरुमा त्यसलाई गम्भीरताका साथ लियौँ । संघीयताको महसुस हुनेगरी नै हामीले पहलकदमी ग¥यौँ । विकासका कामहरुदेखि यावत कुराहरुको सेरोफेरोभित्र हामीले संघीयताको मर्मलाई आत्मासाथ ग¥यौँ । जनताको घरघरमा पुगेर सेवाप्रवाह गरेका छौँ । संघीयता आइसकेपछि अलिकति फरकचाँही पर्दो रहेछ, स्थानीय सरकार पनि अधिकारसम्पन्न हुने र यसले इच्छाशक्तिका साथ ऐनकानुनलाई सर्वोपरी मानेर काम गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने कुरा वालिङवासीले अनुभूत गरेका छन् ।

ग) तपाई फेरि उम्मेदवार हुदै हुनुहुन्छ, तपाईंलाई नै भोट दिनुपर्ने कारण ?

यो बिचमा केन्द्र सरकारले सहयोग नगरेका कारण साढे २ बर्ष बाहेक राम्रोसंग काम गर्न पाईएन् । मेरा धेरै अधुरा योजना यो पटक पूरा गर्नै तिव्र ईच्छा छ । मेरो योजनामा शहरी सडक तथा रिंगरोडको विकास, ढल निकासको प्रवन्ध, सवारी पार्किङको प्रवन्ध, सम्पदाहरुको संरक्षण र पर्यटन विकास, फोहरमैला व्यवस्थापन र वातावरण संरक्षण, उर्जा उत्पादन तथा विद्युतीकरण, औद्योगिक तथा घरेलु उद्योगको विकास, स्वास्थ्य शिक्षा तथा अस्पतालहरुको स्थापना, प्रशासनिक सुधार लगाययत मेरा केही दिर्घकालिन र अल्पकालिन योजनाहरु सार्वजनिक गरेको छु । विगतमा हामीले जेजति ग¥यौ, गर्न सक्यौँ यो वालिङवासीले सकारात्मक ढंगले लिनुभएको होला । अहिलेसम्मको अवस्थामा आउनुका लागि वालिङमा बसोवास गर्नुहुने र विदेशमा बस्नुहुने सम्पूर्णमा वालिङवासी साथीभाइहरुको सहयोगले संभव भएको हो । यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । वालिङवासी जनतालाई प्रदेश र संघभन्दा स्थानीय तह अलिकति फरक भएकाले इमान्दार, कुशल, अनुभवी, योग्यता, दक्षता, क्षमता भएको जाति, पार्टी र धर्मभन्दा अलि माथि उठेर त्यस्ता व्यक्तिलाई आउँदो निर्वाचनमा मध्यनजर गरेर निर्वाचित गर्न पाए अझ वालिङ नगरपालिका समृद्ध बन्न सार्थक हुनेछ भन्ने अनुरोध र सुझाव छ । त्यसका लागि मलाई नै भोट दिनुस म योग्य छु भन्न चाहन्छु ।

प्रतिक्रिया