अर्जुनचौपारीमा काँग्रेसबाट तिवारी र गुरुङ बिजयी

स्याङ्जा ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय घोषित भएका हुन् ।

तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा गुरुङले ३ हजार ३ सय ४७ मत ल्याएकी छन् । गुरुङ अघिल्लो निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

यस्तै, १ हजार ६० मतको अन्तरालमा उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका टंकप्रसाद खनाललाई पछाडि पार्दै विजेता बनेकी हुन् । गुरुङले ४ हजार ८ सय २७ मत ल्याउँदा खनालले ३ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्जुनचौपारीका वडामा पनि कांग्रेसकै बहुमत रहेको छ । अर्जुनचौपारी १ मा कांग्रेसका रणबहादुर थापा, २ मा कांग्रेसका धनबहादुर गुरुङ, ३ मा कांग्रेसका शोभाकान्त काफ्ले, ४ मा कांग्रेसका भुवनसिंह गुरुङ, ५ मा कांग्रेसकै बद्रीप्रसाद पौडेल र ६ मा एमालेका नारायणप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए । २०७४ मा काँग्रेसको नेतृत्व अल्पमतमा परेका कारण एमालेबाट निर्वाचित भएकी उपाध्यक्ष चिनमाया गुरुङले असहयोग गरेकाले गाँउपालिकाको विकासमा अवरोध भएको थियो । २०७९ को स्थानीय तहको निर्वाचनले काँग्रेसलाई बहुमत दिएकाले जनताको अपेक्षा अनुसार विकास हुने विश्वास लिइएको छ ।

 

 

प्रतिक्रिया