पालिका प्रमुख हुन नसकेका महिला उम्मेदवारहरु

वालिङ ।

स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् । पुतलीबजार नगरपालिकाको प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट पुतलीबजार नगर प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघि नगर प्रमुख थिईन् । विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका तुल्सीराम रेग्मीलाई पराजित गरेकी क्षेत्री अहिले रेग्मीबाट नै पराजित हुन पुगिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रेग्मी १२ हजार ४ सय ९४ मत पाएर पुतलीबजारको नगर प्रमुखमा निर्वाचित भए भने पराजित भएकी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।

 

त्यस्तै अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी गुरुङ नेपाली कांग्रेसका प्रकाश तिवारीसित पराजित हुुन पुगिन् । गाउँपालिकाको अध्यक्षमा विजयी तिवारीले ५ हजार २ सय ९१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी गुरुङले ३ हजार ३ सय ४७ मत ल्याईन् । गुरुङ २०७४ मा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिईन् ।

 

त्यस्तैगरी कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी राना एमालेका उम्मेदवार खिमबहादुर थापासित पराजित हुन पुगिन् । अध्यक्षमा विजयी भएका थापा ६ हजार ७ सय मत ल्याएर विजयी हुँदै गर्दा राना ५ हजार ५५ मत ल्याएर पराजित हुन पुगिन् । विसं २०७४ को निर्वाचनमा थापा गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघिको निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिकामा क्षेत्रीमात्रै एकल महिला उम्मेदवार बनी विजयी भए पनि यसपटक क्षेत्री, गुरुङ र राना तीन जना थिए तर तीनै जना अनुमोदित हुन सकेनन् ।

प्रतिक्रिया