स्याङ्जामा डायलाईसिस र ब्लड बैंक स्थापना
प्रकाश डोटेल,
स्याङ्जा ।
स्याङ्जा सदरमुकाम स्थित पुतलीबजारमा डायलाईसिस सेवालाई विस्तार र रक्त बैंक स्थापना गरिने भएको छ । मृगौला विरामीलाई नियमित डायलाईसिसको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य र रगतको अभावमा नागरिकको ज्यान जान नदिन रक्त बैंक स्थापना गर्न लागिएको हो । पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकले सेवाविस्तार र रक्त बैंक स्थापना गर्ने पहिलो निर्णय गरेको छ । जिल्ला अस्पतालमा नियमित रुपमा संचालन हुँदै आएको डायलाईसिस सेवाको विस्तार र थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्यकर्मी, बायोमेडिकल टेक्निसियन तथा पूर्वाधारको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ ।
जिल्ला अस्पतालमा हाल नियमित रुपमा १२ जना मृगौला विरामीले डायलाईसिस सेवा लिर्दैै आएका छन् । नगरपालिकाको यो निर्णय सँगै केहिदिन भित्रमा आवश्यक पूर्वाधारको तयार गरी झण्डै ४५ जनालाई सहज रुपमा सेवाप्रवाह गर्न लागिएको छ । जिल्लामा हाल करिब ८० जना मृगौला विरामीको नियमित डायलाईसिस गनुपर्ने छ । लाखौं रुपैयाँखर्च गरेर उपचारको क्रममा डायलाईसिस गर्नुपर्ने मृगौला विरामीको मागलाई ध्यानमा राखेर डायलाईसिस सेवालाई प्रभावकारी बनाउन लागिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । मृगौला विरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गरिने नगर प्रमुख रेग्मीले बताए । चुनावी घोषणा पत्रमा काँग्रेस स्याङ्जाले डायलाईसिस सेवालाई विस्तार र प्रभावकारी बनाउने समेत प्रतिवद्धता जनाएको थियो ।
कार्यपालिका बैठकले पुतलीबजार नगरक्षेत्रमा ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको छ । जिल्लाका सरोकारवाला निकाय सँगै रेडक्रस सोसाईटीको समन्वयमा यथाशिघ्र ब्लड बैंक स्थापना गरिने भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा विपद् व्यवस्थापन कोषमा विनियोजित बजेटबाट १० लाख बजेट निकासा गरी ब्लड बैंक स्थापना गर्न लागिएको हो । जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत हुने सुत्केरी सेवा र अन्यविरामीलाई अत्यावश्यक पर्ने रगत सहज उपलब्ध गराउन ब्लड बैंक स्थापन गर्न लागिएको हो । रगत अभावमा सुत्केरी र अन्यविरामीको अकालमै मृत्यु हुनबाट रोक्न ब्लड बैंकले सहज भूमिका निर्वाह गर्ने स्थानीयले विश्वास गरेका छन् । यो निर्णयसँगै जिल्लामा रगत अभावमा जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
पालिकाको पहिलो बैंठकले नगरपालिकाको संस्थागत विकासको अवस्था र नगरभित्र सञ्चालित योजना तथा कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृतबाट कार्यपालिकाले जानकारी लिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजना तथा कार्यक्रमहरु तत्काल अगाडी बढाउने र समयसिमामै सम्पन्न गर्न आवश्यक निर्देशन दिएको नगर उपप्रमुख देबी अर्यालले जानकारी दिईन् । नवनिर्वाचित प्रतिनिधिको कार्यपालिका बैठकले गरेको निर्णयसँगै स्थानीय हर्षित भएका छन् । लामो समयदेखि समस्याका रुपमा रहदै आएको डायलाईसिस सेवाको विस्तार र ब्लड बैंक स्थापना गर्ने निर्णयले आमनागरिकको स्वास्थ्यमा जनप्रतिनिधिहरु गम्भिर छन् भन्ने देखाएको उनीहरुले बताए ।
प्रतिक्रिया