‘एकलौटी रुपमा कुनै निर्णय गर्दैनौं, वाह ! पुतलीबजार भन्ने बनाउँछौं’

तुलसीराम रेग्मी,
मेयर,
पुतलीबजार नगरपालिका,
स्याङ्जा ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्वर ५ निवासी पोमनारायण रेग्मी र नोनादेवी रेग्मीको दोश्रो सन्तानको रुपमा विक्रम संबत २०२२ मा जन्मिएका तुलसीराम रेग्मी विद्यार्थी काल देखि नै राजनितिमा अभिरुची राख्ने भएपनि २०३५ साल देखि नेपाली कांग्रेस पार्टीमा सकृय रहेर आधिकारिक रुपमा राजनीतिक यात्रा सुरु गरे । नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका रेग्मी जिल्ला सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हुन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरको उम्मेदवार रहेका रेग्मी नेकपा एमालेको उम्मेदवार सिमा क्षेत्रीसंग पराजय हुनुपरेको थियो । यसपटक उनै क्षेत्रीलाई हराउँदै रेग्मी आफू मेयर मात्र बनेनन्, २५ वर्षपछि पुतलीबजारमा एमालेको विरासत समेत ढलाइदिए । कांग्रसका उम्मेदवार रेग्मी १२ हजार ५१५ मत ल्याएर चुनाव जित्दा एमालेबाट उम्मेदवार सिमा क्षेत्रीले १० हजार ९०० मत मात्र ल्याईन् । प्रस्तुत छ, पुतलीबजारका नवनिर्वाचित मेयर रेग्मीसँग स्थानीय चुनाव, मत परिणाम र पुतलीबजार नगरको भावी योजनाका विषयमा पब्लिक आवाज पत्रिकाका सम्पादक अमृत अर्यालले गरेको कुराकानी ः

१. मेयर साव आराम हुनुहुन्छ ? नेपाली कांग्रेसको उम्मेदवार मेयर हुनु भएको छ । अन्य जनप्रतिनिधि त एमालेका पनि छन् नि ? काम गर्न देलान् ?

हजुर आराम छु । नेपाली काँग्रेसले बिस्वास गरेर पुतलिबजारको प्रमुखको रुपमा उभ्यायो, र म निर्बाचित पनि भए । नेपाली काँग्रेसको लोकतान्त्रिक अभ्यास र चरित्रमा बिस्वास राख्ने आम नेता तथा कार्यकर्ता, आम नगरबासि सम्पुर्ण मतदाताज्यूहरु, कर्मचारि मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, पत्रकार मित्रहरु शुभेच्छुक लगायत सबैप्रति यो साथ सहयोग र सदासयताको निम्ति हार्दिक आभार प्रकट गर्न चाहान्छु । पहिलो कुरा त म जनताको प्रतिनिधि हुँ । जनताले पुतलिबजार नगरपालिका अब समुन्नत बनाउनुपर्यो भनेर मलाई निर्बाचित गर्नुभएको छ । जनताले काम गर्न भनेर पठाउनु भएको छ त्यसैले जुनसुकै मुल्यमा पनि मैले काम गर्छु । अर्को कुरा हामी एमालेसँग द्वेष राख्न, प्रतिशोध साध्न, पैठेजोरि खेल्न निर्बाचित भएका हैनौ । यसमा उहाहरुले काम गर्न नदिनु पर्ने केहि छैन । पुतलिबजार सबैको साझा फुलबारि हो । यसको बिकासका लागि सबैसंग सल्लाह र परामर्श लिदै, हातेमालो गर्दै अघि बढ्ने हो । यसकारण उहाहरुले काम गर्न नदिने हैन सहयोग गर्नुहुन्छ । एकलौटी रुपमा कुनै निर्णय गर्दैनौं, वाह ! पुतलीबजार भन्ने बनाउँछौं ।

२. मेयरको रुपमा तपाईँ पुतलीबजार नगरको कुर्सीमा पुग्दै गर्दा तपाईंको पहिलो प्राथमिकता के हो ?

प्राथमिकता भन्दा पनि आबश्यकता महत्वपूर्ण हो । हामी सबै खालका आबश्यकताले घेरिएका छौं । पुर्बाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र उद्यम हाम्रा आबश्यकता र अपरिहार्यता हुन, यसमा सबै पक्षलाई समानुपातिक तरिकाले संगसंगै लिएर जानुपर्ने बाध्यता छ । किनकि यिनिहरु एक अर्कामा परिपुरक छन् ।

३. प्राय मान्छे (नेता)हरु सत्तामा पुगेपछि बिग्रने गरेका छन् नि ?

बिग्रने भन्दा पनि जनभावना अनुरुप काम गर्न नसक्नुभएको होला तर पुतलिबजारलाई समुन्नत बनाउन हामी दृढ छौं ।

४. तपाईसँग जनताले के आशा राखेका होलान् ?

जनताको आकांक्षाहरु धेरै छन । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, स्वरोजगार, रोजगार, पर्यटन बिकास, उद्यमशिलता लगायत धेरै कुराको आशा जनताबाट हुन्छ । यिनिहरुको क्रमागत विकासमा हामी स्पष्ट छौं । सबै कामहरु एकैचोटि हुन सक्दैनन्, क्रमिक रुपमा प्राथमिकताको आधारमा हामी गर्दै जानेछौं । आम पुतलिबजारबासि सम्पुर्णमा धैर्यताकासाथ एकपछि अर्को गर्दै नगर, प्रदेश र संघबाट हुने काममा सहयोग गर्नुहुन र कमिकमजोरि भएका ठाउमा आवाज र औला उठाउनुहुन आग्रह गर्दछु ।

५. दलका उम्मेदवारले जितेर गएपछि नगरपालिकामा आफ्ना कार्यकर्ता र आफन्तलाई भर्ती गर्ने गरेका थिए । तपाईंले चाहिँ के गर्नुहुन्छ ?

मेरा कार्यकर्ताको मेहेनत र आफन्तको माया सहयोग तथा आम मतदाताको म प्रति र मेरो पार्टि नेपाली काँग्रेसप्रति हरेक मतदाताले गरेको बिस्वासले यो सफलता हासिल गरेको हो । यसका लागि सबै धन्यवादको पात्र हुनुहुन्छ । उहाँहरुको बिस्वास २÷४ जनाले जागिर पाएको भरमा पुरा हुदैन । हामी त रोजगार खोज्नेलाई स्वरोजगार बनाउने सपना बोकेर हिडेका छौ । आबश्यकता, दक्षता र क्षमताका आधारमा जो कोहि पनि आउन सक्छ । नेपाली काँग्रेसका कार्यकर्ता मात्र, मेरा आफन्त मात्र हैन, हामी त अनाबश्यक कर्मचारि भर्नाको बिपक्षमा हौं । हामीबाट यस्तो काम कदापि हुँदैंन ।

६. मेयर पदमा विजयी भएपछि तपाईंले यो–यो काम गर्छु भनेर गर्नुभएको प्रतिबद्धता पूरा हुने आधार के छन् ? यहाँ निर्वाचनको समयमा प्रतिबद्धता गरिन्छ तर पछि त्यसको पालना भएको पाइँदैन नि ?

हामीले निर्बाचनमा होमिदै गर्दा बिभिन्न प्रतिबद्धताहरु गरेका छौ । हामीले वडास्तरमा, पालिकास्तरमा र केन्द्रियस्तरमा संकल्पपत्र नै तयार पारेका छौ । जे गर्न सकिन्छ ति कुराहरु मात्र हामीले बोलेको हुदा सबै प्रतिबद्धताहरु एकपछि अर्को पुरा गर्दै जाने हाम्रो योजना छ । पुरा गर्न नसक्ने कामहरु हामी बोलेका छैनौं । यसकारण पनि हामीले गरेका प्रतिवद्धताहरु पुरा हुनेमा सबैमा विस्वस्त हुन आग्रह गर्दछु ।

७. बितेका ५ वर्षलाई कसरी मुल्यांकन गर्नु भएको छ ?

२०७४ सालको स्थानिय तहको निर्बाचनमा फरक दलका साथिहरु निर्बाचित हुनुभएको थियो । उहाँहरुले जनचाहानानुरुप कार्यसम्पादन गर्नसक्नु भएन र उहाँहरुको बिकल्प र नेपाली काँग्रेसका उमेदवारहरुमाथि बिस्वास गरेर जनताले मत प्रदान गर्नु भएको छ । जनप्रतिनिधिहरु नहुँदा जुन तवरबाट काम हुने गरेका थिए सोहि खालका कामकार्यहरु उहाहरुले गरेका हुनाले बिकल्पको रुपमा हामी आएका छौ । तर पनि केहि न केहि आधारहरु उहाहरुले बनाएर जानुभएको छ, त्यसका लागि उहाहरुप्रति कृतज्ञ छौं ।

८. पारदर्शी न्यायोचित बिकास र सेवा दिने बिषयमा तपाइका योजना कस्ता छन ?

हामी लोकतान्त्रिक बिधि र पद्धतिबाट एउटा राजनैतिक अबधारणाले दिक्षित भएर आएका छौं । जनताको सेवा र बिकासका लागि प्राथमिकताका आधारमा बिभिन्न बिषयबिज्ञ, पत्रकार, शिक्षाबिद, निजिक्षेत्र, कृषक लगायत क्षेत्रगत रुपमा उहाहरुको परामर्श र श्रोत उपलब्धताको आधारमा बिकासका कामहरु अगाडि बढाउनेछौ । स्वास्थ्य, शिक्षा, सरसफाई, खानेपानी, ढल ब्यवस्थापन, पर्यावरण संरक्षण, फोहरमैला ब्यवस्थापन, विपन्नको हेरचाह, अपांगलाई सशक्तिकरण, भोकालाई भोजन, जनताले सरकारबाट लिनुपर्ने सेवामा चुस्तता, पारदर्शिता, स्वच्छता र प्रभाकारीतामा ध्यान दिनुपर्नेमा हामी पुर्ण सचेत छौं । हामीले देखेको समुन्नत पुतलिबजारका लागि हाम्रो दृष्टिकोण, रणनीति र कार्यनीतिको निर्माण र कार्यान्वयन दÞक्ष कर्मचारीहरुसंगको सहकार्यमा जनतालाई न्याय दिने कुरामा बिचलित हुनेछैनौं ।

९.देखिने गरि बिकासका काम भएको जनताले कसरी अनुभुती पाउलान् ?

पुर्बाधारको बिकासका लागि प्रदेश सरकार, संघिय सरकारको सहयोगमा खानेपानीको समस्या, बाटो स्तरउन्नति, जिल्ला अस्पतालको स्तरउन्नति, स्वरोजगारमा प्राथमिकता, उचित शैक्षिक ब्यबस्थापन, पर्यटन प्रबर्दन, कृषक प्रोत्साहन, ब्यबसायीक कृषि बजारिकरण लगायतका योजनाहरु हामीसंग छन् । जसबाट प्रत्यक्ष र परोक्ष रुपमा आम नगरबासि लाभान्वित हुनेमा हामी ढुक्क छौ ।

. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । म मतदाताहरुलाई उहाँहरुले दिएको भोट खेर नजाने हिसाबले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छु । अन्त्यमा पुतलीबजारवासीले कांग्रेसमा भरोसा गर्नु भएको कुरा हामीलाई थाहा छ । उहाँहरुको भरोसालाई पूरा गर्न हामीले मेहनत गर्नेछौं । म सबै आम मतदाताहरुलाई हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्न चाहान्छु ।

प्रतिक्रिया