भीरकोटको नमूना कृषि फर्मको सपना अधुरै

पब्लिक आवाज
भीरकोट ।
जिल्लाको भीरकोटमा २ बर्ष अगाडी स्थापना भएको नमूना कृषि फर्म संचालनमा नआउने भएको छ । यस कृषि फर्म अन्तर्गत तत्कालको लागि एक ‘मोडल बिउबिजन फर्म’ प्रवद्र्धन गर्ने भनिएको थियो । भीरकोट नगरपालिकामा यसअघिको कार्यपालिकाले स्थापना गरेको नमूना कृषि फर्मको जग्गा भाडा सम्झौता अहिलेको कार्यपालिकाले रद्ध गर्ने निर्णय गरेको छ । वडा नं. ६ को आँधीखाल्टामा कृषकहरुको ४० रोपनी जग्गा भाडामा लिएर संचालनमा ल्याइएको नमूना कृषि फर्मबाट अपेक्षित उपलव्धि हाँसिल हुन नसकेको निष्कर्षमा पुग्दै नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठक एवम् भीरकोट नगर कार्यपालिकाको ८७ औं बैठकले सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।
२०७७ पुस २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिका र जग्गा धनीबिच सम्झौता गरी प्रति रोपनी प्रतिवर्ष रु. १७ हजार ४५ का दरले पाँच वर्षको लागि जग्गा भाडामा लिइएको थियो । सम्झौता रद्ध गरेको नगरपालिकाले कृषकहरुलाई २०७९ कार्तिकसम्मको जग्गा भाडा उपलब्ध गराउने निर्णय समेत गरेको छ । यद्यपी उक्त जग्गा प्रयोग गरी खेतीबाली लगाउन चाहने सम्बन्धित जग्गाधनीले नगरपालिकामा सम्पर्क गरी तत्काल खेतीबाली लगाउन सक्ने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए ।
उक्त जग्गामा मौसमी कृषिबाली, मौसमी बेमौसमी तरकारी तथा ड्रागन फ्रुटको समेत खेती गरिएको थियो । जालीले तारबार गरिएको उक्त जग्गामा २ ओटा कृषि टनेल समेत रहेका छन् । हाल उक्त क्षेत्रमा अधिकांश जमिन बाँझो रहेको छ । स्रोत र साधनको सही व्यवस्थापन गरी अपेक्षित प्रतिफल लिन नसकेपछि सम्झौता रद्ध गरिएको जानकारहरु बताउँछन् । उन्नत जातको बीउ बिजनसमेत उत्पादन गर्दै प्रयोगात्मक कृषि पाठशाला बनाउने उद्देश्यले स्थापना गरिएको भएतापनि अपेक्षित प्रतिफल प्राप्त नभएपछि उक्त स्थानमा गरिएको लगानी बालुवामा पानी भएको छ ।
निवर्तमान स्थानीय सरकारका जनप्रतिनिधिहरुले नमूना कृषि फर्मलाई आफ्नो उपलब्धिको रुपमा चर्चा गरेपनि वर्तमान सरकारले लगानी अनुसारको प्रतिफल प्राप्त नभएको भन्दै सम्झौता रद्ध गरेको हो । निवर्तमान नगरप्रमुख छायाराम खनालको नेतृत्वको स्थानीय सरकारले एकिकृत कृषि विकास कार्यक्रमको लागि नेपाल सरकारको विशेष अनुदान शीर्षकमा आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा प्रदान गरेको २ करोड २५ लाखबाट कृषकहरुलाई मल तथा बीउमा अनुदान, कृषिमा यान्त्रीकरण र नमूना कृषि फर्म निर्माण लगायतका कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया