खोजमुलक पत्रकारिता तालिम सकियो

 

भीरकोट ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र स्याङ्जा शाखाको समन्वयमा खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ । जेठको २० देखि २४ गतेसम्म सञ्चालन भएको तालिमलाई गण्डकी प्रदेशको कानुन, न्याय तथा संचार मन्त्रालय र स्याङ्जाका विभिन्न नगरपालिकाले सहयोग गरेको छ । तालिममा पछिल्लो पटक खोजमुलक पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।

तालिमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका उपमेयर भगवती रेग्मी अर्यालले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा नगरको साथ, समर्थन रहने प्रतिबद्धता जनाईन् । उनले स्याङ्जाको पत्रकारिता क्षेत्रलाई सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको बताईन् । ‘स्याङ्जाको पत्रकारिता क्षेत्र अब नयां धारको हुनुपर्छ’, उनले भनिन्, ‘सबै काठमाडौं र पोखरामा मात्र केन्द्रित हुँदा स्याङ्जा अझै कतिपय विषयमा पछाडि परिरहेको छ, आउनुहोस् सबै मिलेर स्याङ्जा बनाऔं ।’
उनले खोजमुलक पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास जनाईन् । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याईन् । उपमेयर अर्यालले आफु आवद्ध भीरकोट नगरपालिकालाई सूचनामैत्री नगर बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताईन् । ‘भीरकोट नगरपालिकालाई सूचनामैत्री बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदैछ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्या छिट्टै समाधान गरिनेछ’, उनले भनिन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम सञ्चालन गरिएको बताए । खोजमुलक पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ स्याङ्जा मार्फत वालिङ र भीरकोट नगरपालिकाको सहकार्यमा तालिम भएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा मुख्य प्रशिक्षक धर्मेन्द्र झाले समय परिवर्तनसँगै पत्रकार पनि परिवर्तन हुन आवश्यक रहेको बताए । ‘खोजमुलक पत्रकारिता आजको आवश्यकता हो । जसका लागि आवश्यक ज्ञानको खाँचो छ । पत्रकार महासंघ स्याङ्जाले समन्वय गरेको उक्त तालिमबाट प्रशिक्षार्थीले आवश्यक ज्ञान लिनुहुनेछ भन्नेमा हामी आशावादी छौं’, उनले भने । तालिममा धर्मेन्द्र झा र सन्तोष पोख्रेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रम खोजमुलक पत्रकारिताका लागि अति नै उपयोगी रहेको पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देललले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश कानुन, न्याय तथा संचार मन्त्रालयका सचिव शम्भु रेग्मी, महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, सचिव प्रतिक्षा काफ्ले, सहसचिव तोलाकान्त बगाले, प्रेस यूनियनका अध्यक्ष प्रदिप कोईराला, प्रेस चौतारीका मुक्ति न्यौपाने, पर्यटनविद सानोबाबु सुनुवारले पनि खोजमुलक पत्रकारिताका बारेमा बोलेका थिए ।

प्रतिक्रिया