कृषि औजार वितरण
वालिङ ।
स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको हो । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको संस्थाले जनाएको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा सहकारीले कृषि औजार वितरण गरेको हो ।
कृषि औजार हस्तान्तरण गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नकालागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले अनुदानमा प्राप्त भएका कृषि औजारहरुको सही सदुपयोग गर्न पनि कृषकहरुमा आग्रह गर्दै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने बताए ।
कृषकहरुको माग र आवश्यकताका आधारमा सहकारीमार्फत कृषकहरुलाई कृषि औजारहरु उपलब्ध गराईएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताए । सहकारीमार्फत एघार वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको अध्यक्ष खनालले बताए । “गाउँमा काम गर्नसक्ने जनशिक्त विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौँ”, खनालले भने, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमीन बाँझो राख्न थालेपछि सहजताका लागि ५४ हजार पर्ने औजारलाई २७ हजार रजिष्टार कार्यालय र २७ हजार किसान समूहले ब्यहोर्नेगरी औजार वितरण गरेका हौँ ।” औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको अध्यक्ष खनालको भनाइ छ । यसैगरी रजिष्टार कार्यालयको अनुदानमा यहाँका मुख्य बस्तीमा ११ वटा कुटानी–पिसानी मिल वितरण गरेको छ ।
किसानलाई कृषिकार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न सहयोग गरिएको रजिष्टार कार्यालयले जनाएको छ । वालिङ १० का वडाध्यक्ष सुनिल खनालले विस्तारै औद्योगिकीकरण र यान्त्रिकीकरणलाई जोड दिएको बताए । गाउँका किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने पनि खनालले बताए ।
प्रतिक्रिया