अर्जुनचौपारीको बजेट ४४ करोड, सडक सञ्जाललाई प्रथामिकता

भीरकोट ।
अर्जुनचौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को लागि ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट प्रस्ताब गरेको छ । पालिकाको ११ गाउँसभामा उपाध्यक्ष सपना गुरुङ्ले बिनियोजन बजेट मध्ये १४ करोड ३३ लाख ८९ हजार रुपियाँ पुजिगत तर्फ प्रस्ताब गरेकी छन् भने सात करोड ३९ लाख ३० हजार रुपियाँ चालु खर्च तर्फ प्रस्ताब गरेकी छन् । बजेटमा सशर्त अनुदान तर्फ १८ करोड ४५ रकम चालु तथा पुजिगत बजेट बिनियोजन भएको छ ।

आगामी बर्षको अनुमान गरिएको बजेटमा नेपाल सरकारबाट बित्तिय समानिकरण अनुदान नौ करोड चार लाख, राजस्व बाटफाटबाट छ करोड ७८ लाख २५ हजार, सशर्त अनुदान १८ करोड ४८ लाख, संघिय बिशेष अनुदान दुई करोड ३० लाख, प्रदेश सरकारबाट बित्तिय समानिकरण ९८ लाख ३९ हजार, समपुरक अनुदान ५० लाख, शसर्त अनुदान ५० लाख, प्रदेश राजस्व बाडफाड ३७ लाख ५५ हजार, संघ समपुरक ७० लाख, आन्तरिक राजस्वबाट ५५ लाख र अल्या चार करोड खर्च ब्यहोर्ने श्रोत रहेको छ ।

अर्जुनचौपारी गाउँपालिकाको ११ औ गाउँ सभाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम सदरमुकामबाट सबैभन्दा नजिकको पालिका सदरमुकाममा एक मिटर पनि कालोपत्रे नभएको र कर्णालीको रुपमा रहेको तिवारीले बताए । अर्जुनचौपारी नुवारभञ्ज्याङ स्याङ्जा जोड्ने सडक अर्जुनचौपारी, आँधीखोला र पुतलीबजारका करिब ४० हजार जनताले उपयोग गर्ने भएतापनि यो सडकको अवस्था अत्यन्तै नाजुक रहेको छ । उक्त सडक गाउँपालिकाबासीलाई जिल्ला सदरमुकाम र प्रदेश राजधानी पुग्नलाई धेरै सजिलो, समयको साथ साथै लागतको बचत हुने भएकाले पालिकाले कृष्ण चन्द्र मार्ग घोषणा गर्दै रणनैतिक महत्वको रुपमा राखेको छ ।

नीति तथा कार्यक्रममा विकास निर्माण कार्यहरु गर्दा बिगतमा परिमाणमा मात्रै ध्यान दिईएको र गुणस्तरमा सम्झौता भएको बताउदै तिवारीले अब उप्रान्त गुणस्तरमा कुनै सम्झौता नगरिने बताए । कालोपत्रे गर्न ढिलाई भएको हेलु–अर्जुनचौपारी सडकलाई सम्वन्धित निकायसँग सहकार्य गरी कालोपत्रे कार्य शीघ्र सम्पन्न गर्ने छ । पालिकाको सदरमुकामबाट सबै वडा र बस्तीहरुमा सडक सञ्जालको पहुँच पु¥याउने लक्ष्य अनुरुप सडकलाई महत्व दिइएको हो ।
पालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेकोमा उक्त भवन छिटै सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गरिने बताइएको छ । अर्जुनचौपारी बजारको फोहरमैला व्यवस्थापनका लागि घट्टेमा फोहरमैला प्रशोधन केन्द्र जीर्ण अवस्थामा रहेको र फोहरमैलाको उचित व्यवस्थापनको काम अगाडि बढ्न सकेको नसकेको बताउदै समुदायसँगको सहकार्यमा श्रोतमा नै फोहरको बर्गीकरण गर्ने र फोहरमैलाको उचित व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाले सदरमुकामदेखि सबै वडालाई छुने गरी नुवारभञ्ज्याङ्–दरौं–आरुचौर–एकानन्दगुफा–आग्रिखर्क–टाउँघडेरी–लामडाँडा–माझपाटा–नव्वे जोड्ने अर्जुनचौपारी चक्रपथलाई सम्भाव्यता अध्ययन गरी अगाडि बढाउने लक्ष्य लिएको छ ।

पालिकाले अति विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा, महिलाहरुको नेतृत्व र निर्णायक भूमिका स्थापित गर्न सामुदायिक विकासका कार्यहरुमा समान सहभागिता, सबै जातजातिको प्रतिनिधित्व हुने गरी सबै टोलमाआमा समूहको गठन र परिचालन, दलित उत्थान केन्द्र र रोजगार समन्वय ईकाइ स्थापना, अति विपन्न परिवारको आर्थिक सुधारको लागि बीउ पूँजीको रुपमा प्रत्येक व्यक्तिहरुलाई दुई हजार तीन सय प्रदान नीति लिएको छ । श्रम बजारमा प्रवेश गर्ने युवा, बैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका र स्थानीय तहको रोजगार समन्वय ईकाइमा सूचीकृत भएका बेरोजगारहरुलाई क्षमता अभिबृद्धि गर्न हस्तकाला, प्लम्बिङ, बिजुली मर्मत, सिकर्मी, डकर्मी, ड्राइभिङ जस्ता सीप बिकास तालिमलाई प्राथमिकता लिएको छ ।
माध्यमिक तहको शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान, माध्यामिक तहमा वित्तीय साक्षरता शिक्षा संचालन गर्ने पालिकाले लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया