वालिङ नगरको बजेट झण्डै ९२ करोड

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गरेकी हुन् । नगरपालिकाको आ.व.२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गरेकी छन् । बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५.८ प्रतिशत चालुतर्फ तथा ५४.२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।

बजेटको आयस्रोतको रुपमा आन्तरिक आय, गत वर्षका अल्या, संघीय सरकारको राजश्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान तथा सशर्त अनुदान गरी जम्मा ८७ करोड ३१ लाख १३ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँड, समानीकरण अनुदान, समपुरक अनुदान तथा सशर्त अनुदान गरी जम्मा ४ करोड ५१ लाख ७ हजार रहेका छन् । विनियोजित बजेट मध्ये सबैभन्दा धेरै सामाजिक विकासको लागि ४५ करोड १३ लाख ७८ हजार र सबैभन्दा कम सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रको लागि १ करोड ३२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसै गरी क्षेत्रगत रुपमा आर्थिक विकास, पूर्वाधार विकास, वडा स्तरीय विकास, वातावरण तथा विपद् व्यवस्थापन र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा बजेट विनियोजन गरिएको छ । प्रस्तुत बजेटको स्वास्थ्य क्षेत्रमा नागरिकलाई स्वास्थ्य सेवाको सुनिश्चित गर्न जेष्ठ तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, स्वास्थ्य बीमाको पहँुच विस्तार लगायतमा प्राथमिकता दिइएको छ । शैक्षिक विकासको लागि प्रतिभाको खोजी कार्यक्रम, शैक्षिक केन्द्रहरुलाई इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती, प्रोत्साहनमा आधारित लगानी तथा प्रत्येक विद्यालयमा इन्टरनेट र कम्प्युटरको जस्ता कार्यक्रमहरुलाई बजेट विनियोजन गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स तथा संकलन केन्द्रको स्थापना, नश्ल सुधार तथा कृषि बीमा, स्थानीय कृषि उत्पादनको ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । त्यसै गरी पर्यटन, भाषा, संस्कृति संरक्षणका कार्यक्रमहरु, युवा तथा खेलकुद क्षेत्रको विकास लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ । आ.व.२०७९ ÷०८० को बजेटले स्वरोजगारमा विकास, उत्पादनको वृद्धि, पूर्वाधार तथा पर्यटकीय क्षेत्रमा संरचना निर्माणमा नीजि क्षेत्रको लगानीलाई प्रोत्साहन लगायतका उद्धेश्यहरु राखेको छ ।

प्रतिक्रिया