‘शक्तिको सबैभन्दा ठूलो श्रोत मानवश्रोत’
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले शक्तिको सबैभन्दा ठूलो श्रोत मानव श्रोत भएको बताएका छन् । मङ्गलबार ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता पुनर्ताजगी कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख खाँणले पशुको स्वास्थ्य मानव स्वास्थ्यसँग जोडिएको बताए हुन् । मानव स्वास्थ्य सबल हुन पशु स्वास्थ्य पनि सबल हुनुपर्ने खाँणले धारणा व्यक्त गरे । उनले अमूक प्राणीको समस्या बुझेर तिनीहरुको स्वास्थ्योपचार गर्ने कार्य जटिल भएकोेले पशुप्राविधिकहरुले पूण्यको काम गरेको उल्लेख गरे ।
अहिले विश्वका धेरै मानवसमुदायले पशुजन्य उत्पादनबाट लाभ लिइरहेकोले आर्थिक वृद्धिको लागि पशु स्याहार पनि महत्वपूर्ण भएको बताए । नगरप्रमुख खाँणले किसानहरुका समस्या बुझेर गुणस्तरीय सेवा प्रदान गर्न पशु स्वास्थ्य कार्यकर्ताहरुलाई निर्देशन दिए । तालिमको सन्दर्भमा सिकेको ज्ञानहरुलाई प्रभावकारी ढङ्गले उपयोग गर्न खाँणले अनुरोध गरे ।
वालिङको समृद्धिको लागि किसानहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै पशुपालक किसानहरुलाई चाहिने सम्पूर्ण सेवाहरु उपलब्ध गराउन नगरपालिका तत्पर रहेको बताए । तालिमका सहभागीहरुले बेला बेलामा तालिम तथा गोष्ठीहरुको आयोजना गरी नयाँ सीप तथा ज्ञानहरुको साटासाट गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । वालिङ नगरपालिकाको पशु स्वास्थ्य शाखाको आयोजनामा असार १२ देखि ३ दिनसम्म चलेको तालिममा नगरपालिकाभित्रका २३ जना पशु स्वास्थ्य कार्यकर्ताहरुको उपस्थित थिए ।
प्रतिक्रिया