आँधीखोला तटबन्धन व्यवस्थापनमा भीरकोटको अग्रसरता
भीरकोट ।
मनसुन सघन हुँदै जाँदा बाढी पहिरोको प्रभाव धेरै देखिन थालेको छ । आंधीखोलाको तटीय क्षेत्रमा हुने बाढी पहिरो र डुवान आदी अहिले जटिल बनेर देखिन थालेको छ । अघिल्ला वर्षहरुमा भन्दा ६० देखि ७० प्रतिशतले पानी बढी पर्ने अनुमान पनि सत्य साबित हुँदै जान थालेको छ । त्यसैले पनि यस वर्ष बाढी अत्यधिक हुने र क्षति रोक्न सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
वर्षासँगै आंधीखोलामा आएको बाढीका कारण बर्षेनी धेरै क्षती हुने गरेको छ । आंधीखोलाले पु¥याउन सक्ने संभावित क्षती न्यूनिकरण गर्न तटबन्धनको व्यवस्थापनमा भीरकोटले अग्रसरता देखाएको छ । जोखिममा रहेका खेतीयोग्य जमिनका आधारमा प्राथमिकीकरण गरी अस्थायी तटबन्ध गर्न लागिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । आंधीखोला तटबन्धका क्रममा प्रमुख कर्माचार्यले आफूले गर्न सक्ने पहलमा कुनै पनि कसर बाँकी नराख्ने र स्थानीय पनि उक्त काम भए÷नभएको कुरामा चनाखो रहन आग्रह गरेका छन् । भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले विगतमा आंधीखोलाले पकान र सिमलचौरको फांटका क्षेत्रमा बढी क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने कुरा प्राथमिकतामा रहेको कुरा बताए ।
भीरकोट नगरपालिकाले आगामी बर्षको निती तथा कार्यक्रममा पनि नदीजन्य प्रकोप नियन्त्रण एवं विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नवनिर्वाचित नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको पहलमा आँधीखोलाको दायाँबायाँ करिब १.५ किलोमिटर क्षेत्रमा अस्थायी तटबन्धन गरिएको छ ।
मनसुनजन्य विपद् सुरु हुनु अगावै नगरपालिकाको र भाडाका डोजर तथा ट्रीपर प्रयोग गरेर तटबन्धन गरिएको हो । चालू आर्थिक वर्षको अन्त्यतिरको समय भएकाले हामीसँग बजेटको अभाव छ । तर मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि हामीले नदी नियन्त्रण र तटबन्धनलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्थायी तटबन्धन भएपनि नदीजन्य प्रकोप नियन्त्रण र विपद् न्यूनीकरणमा यसले पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ, नगर प्रमुख कर्माचार्यले भने, ‘नयाँ आर्थिक वर्षको लागि आँधीखोलामा व्यवस्थित तटबन्धन गर्न र नदीकिनारमा हरित सडक निर्माण गर्न १ करोड रकम विनियोजन गरेका छौं । विपद् व्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।’ अब आँधीखोलाको दायाबाँयाको भाग सुरक्षित हुने छ उनले भने ।
तीन वटा डोजर र चारवटा ट्रीपर प्रयोग गरेर एक महिनाको अवधिमा सीमित स्रोत साधनका बावजुत नगरपालिकाले वडा नं १, २, ४ ,५ र ६ क्षेत्र अन्तर्गतको आँधीखोला नदीको दाँयाबाँया १.५ कि.मी. अस्थायी तटबन्धन गरेको हो । करिब एक करोड बराबरको काम गरिएको नगरपालिकाले जनाएको छ । आँधीखोलाको व्यवस्थित तटबन्धन गर्नको लागि प्रदेश र संघीय सरकारसँग पनि आवश्यक सहकार्यका लागि अनुरोध गरिने नगरप्रमुख कर्मचार्यले जानकारी दिए । तटबन्धन व्यवस्थित नहुँदा सिमलचौर, पकान, बयरघारी, गैह्राथोक लगायतका फाँटहरु, सडकमार्ग र नदी किनारका बस्तीहरु सधैं जोखिममा पर्दै आएका छ्न् ।
प्रतिक्रिया