वडावासीको निशुल्क स्वास्थ्य परिक्षण

आरती कुँवर ।

वालिङ नगरपालिका वडा नं ८ मा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रम शुरु भएको छ । जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाहरुका लागि ३ दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम वालिङ ८ मा शुरु भएको हो । वालिङ नगरपालिका ८ नं.वडा द्धारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम वालिङ वडा नं ८ को कार्यालयमा सम्पन्न भएको छ । स्वास्थ्य परिक्षण गरिसके पछि जटिल बिरामी भए अन्य संस्थामा रिफर गरिने र सामान्य बिरामी भए निःशल्क औषधी वितरण गरिने वडाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति सदस्य सरस्वती बगालेले पाँच वर्ष सम्मका बालबालिकाको स्वास्थ्य उपचार बेलैमा गर्न सकियो भने पछिको स्वास्थ्य अवस्था राम्रो हुने बताइन् । साथै पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्य निकै नै जटिल हुने हुदाँ यो समयमा अभिभावकले बिशेष ख्याल गर्नु पर्ने हुनाले सबै अभिभावकलाई आफ्नो बाल बच्चाको स्वास्थ्य प्रति सधैं सचेत रहन वगालेको आग्रह छ । स्वास्थ्य जाँच गरेर समस्याको पहिचान गर्न सके बेलामा नै उपचार गरे निको हुने र पछि ठुलो समस्या झेल्नु नपर्ने वगालेले बताइन । स्वस्थ रहेमा मात्रै शारीरिक, मानसिक तथा रचनात्मक क्रियाकलापमा बालबालिका सधैं अब्बल हुने उनको दाबी छ ।

त्यस्तै वडा नं ८ का वडा अध्यक्ष दामोदर तिवारीले बच्चाहरुको स्वास्थ्य अवस्थाको तथा स्वास्थ्य समस्याको बारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरेको बताए । साथै उनले बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्य प्रति आँफु लगायत सिंगो नगर नै चिन्तित रहेकाले यस्ता खाले कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तरता दिने बताए ।

वडा नं ८ का वडा अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत चोलाकान्त अर्यालले र सञ्चालन प्रेम नारायण पंगेनीले गरेका थिए । कार्यक्रममा ५३ जना बालिका र ७२ जना बालक गरी १२५ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये केही बालबालिकामा सामान्य रुघा खोकी पखला जस्ता सामान्य रोग भेटिएको छ भने केहीको स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टर देब बहादु बिं. के ले बताए । साथै एक जना बालकको अवस्था असामान्य रहेका कारण अन्य स्वास्थ्य संस्थामा जान सुझाव दिएको डाक्टर बि.के को भनाई छ । शुक्रवारबाट शुरु भएको स्वास्थ्य परिक्षण कार्यक्रम १८ गते गह्रौ शहरी स्वास्थ्यकेन्द्र काँफलडाँडा र १९ गते भगवति आधारभुत विद्यालय चिथाक भञ्ज्यामा हुनेछ ।

प्रतिक्रिया