त्रिभुवन आदर्श क्याम्पसमा कानुन पढाइने

स्याङ्जा ।
स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा अवस्थित क्याम्पस त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा यसै वर्षदखि कानुन विषयको पढाइ हुने भएको छ । कानुनको आकर्षण बढ्दै गए तापनि जिल्लामा कानुनको पढाइ कतै पनि नभएकाले एसइइपछि विद्यार्थी ११ र १२ पढ्न बाहिर जानुपर्ने अवस्था रहेकाले कानुन विषयको पढाइ सुरु गर्न लागिएको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुकुमार सिग्देलले बताए । उनले भने, ‘जिल्ला अदालत स्याङ्जा नजिकै भएकाले जनशक्तिको पनि खाँचो नहुने र विद्यार्थीका आवश्यकता पनि पुरा हुने भएकाले यस वर्षदेखि कानुन विषयको पढाइ सुरु गर्न लागेका छौं ।’ यस वर्षदेखि कानुन मात्र नभएर शिक्षा र व्यवस्थापन विषयमा पनि कक्षा ११ मा पढाइ सञ्चालन हुने सहायक क्याम्पस प्रमुख प्रमोद पंगेनीले बताए । उनले भने, ‘विद्यार्थीहरुको एउटै छानामुनि कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने चाहनालाई सम्बोधन गर्नका लागि कक्षा ११ को पढाइ सुरु गर्न लागेका हौं ।’ पूर्व क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले समुदाय र विद्यार्थीको चाहना र आवश्यकतालाई मध्यनजर गरेर कक्षा ११ र १२ मा कानुन, व्यवस्थापन र शिक्षाका कक्षाहरु सञ्चालन गर्न लागिएको बताए । उनले भने, ‘धेरै विद्यार्थी र अभिभावकले हामीलाई यसका लागि प्रेरित गर्नुभयो । गरिब वर्गका तर निजी संस्थामा शुल्क तिर्न नसक्ने विद्यार्थीहरुका लागि पनि हामीले कक्षा ११ को पढाइ सुरु गर्दा राहत हुने भएकाले हामी यस कार्यमा अघि बढेका हौं।’ हालसम्म स्नातक र स्नातकोत्तरमा व्यवस्थापन शिक्षा र मानविकी सङ्कायका कक्षाहरु सञ्चालनमा रहेको यस क्याम्पसमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सामुदायिक क्याम्पस भएकाले यस क्याम्पसबाट विद्यार्थीले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा पाइरहेको नेपाल विद्यार्थी सघं क्याम्पस ईकाइका सभापति गौरव प्रधानले बताए ।त्रिभुवन आदर्श बहुमुखी क्याम्पस पूर्व शिक्षामन्त्री तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको विशेष सक्रियतामा समुदायद्वारा स्थापित तथा सञ्चालित क्याम्पस हो । हाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका श्रेष्ठकै पहलमा क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया