पुतलीबजारको अभियान— ‘पुर्ण सरसफाई तथा वातावरणमैत्री नगर’

रमेश घर्ति,
प्रमुख प्रशासकीय अधिकृत,
पुतलीबजार नगरपालिका, स्याङ्जा ।

संघीय संरचनामा स्थानीय तहलाई अधिकार सम्पन्न सरकार मानिएको छ । त्यसको प्रशासनिक नेतृत्व र वित्तीय कामको अधिकार प्रशासकीय अधिकृतले प्राप्त गरेका हुन्छन् । कुनै पनि स्थानीय तहमा स्थापित हुने संरचनाको काम कारबाही एवं स्थायित्वमा प्रशासकीय अधिकृतको प्रमुख भूमिका हुन्छ । नेपालको संविधानद्वारा व्यवस्थित नेपाल राज्यको पुनः संरचनाअनुसार नेपाल ७ प्रदेश र ७ सय ५३ स्थानीय तहका सरकार संविधानप्रदत्त अधिकारसहित क्रियाशील छन् । जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरेर विकासका योजना सञ्चालन गर्दै आइरहेका छन् । तर, कर्मचारीको अस्थिरताले विकासका काममा समेत असर पु¥याउने गर्छ । स्थानीय नीति निर्माण गर्ने जनप्रतिनिधि हुन् । त्यसको कार्यान्वयन गर्ने पक्ष कर्मचारी, त्यसैले छोटो समयमा नै कर्मचारी फेरबदल हुनाले विकासले गति लिन सक्दैन । त्यसमा पनि प्रशासकीय अधिकृतले नै विकासका योजना कार्यान्वयन गर्नुपर्छ । स्थानीयस्तरको विकासमा कर्मचारीको अस्थिरताले असर पु¥याएको हामीले देख्दै र सुन्दै आइरहेका छौँ । एक ठाउँको कर्मचारी अर्को ठाउँमा जाँदा पालिकाको वस्तुस्थिति र परिवेश बुझेर काम गर्नसमेत समय लाग्छ । त्यसैले दिगो विकासका लागि एउटै व्यक्ति एक आर्थिक वर्ष प्रमुख प्रशासकीय अधिकृत रहने हो भने विकासमा बाधा नपुग्ने प्रशासकीय अधिकृतहरुकै बुझाइ छ । कुनै–कुनै स्थानीय तहमा कानुन र नियम भनेको जनताको भोट हो भन्ने केही जनप्रतिनिधिको बुझाइले काम गर्नसमेत समस्या हुने गरेको कर्मचारीहरु बताउँछन् । जनप्रतिनिधिकै लफडाका कारण कर्मचारी नटिक्ने, साथै त्यो स्थानीय तहमा जानै नमान्ने गरेका घटना पनि छन् । जनप्रतिनिधिको अनुकूल र आफूले भनेअनुसार काम गर्नुपर्ने अवस्थामा केही प्रशासकीय अधिकृत छन् । लामो अनुभवसहित स्थानीय तहमा काम गर्ने इच्छा लिएर स्याङ्जाको सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकामा काम गर्दै आइरहेका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिसँग काम गर्दाको अनुभव, विकास निर्माणको अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर पब्लिक आवाज पत्रिका र अनलाईनका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सार ः
१. हाकिम साव आराम हुनुहुन्छ ? पुतलीबजार नगरपालिकाको बर्तमान अवस्था कस्तो छ ?

हजुर आराम छु । पुतलीबजार नगरपालिका पहाडी जिल्ला स्याङ्जाको सदरमुकाममा रहेको ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ सतौंकोट, नुवाकोट, कोल्माकोट, चन्द्रकोट आदि ऐतिहासिक स्थलहरुका साथै भालुपहाड, चण्डीकालिका मन्दिर, निर्माणाधिन भारकोट स्तुपा लगायतका ठुप्रै धार्मिक तथा पर्यटकीय स्थानहरुले भरिएको छ । विकास प्रकृयाको हिसावले हेर्दा बिभिन्न स्थानहरुमा सडक यातायातको लागि ट्र्याक खुलेका छन्, धेरै महत्वपूर्ण भित्री मूख्य सडकहरु पक्की सडकमा स्तरोन्नती हुँदैछन् । नगरपालिकाका विभिन्न वडा कार्यालयहरुको आफ्नै प्रशासनिक भवन सहित सेवा प्रवाहका लागि मजबुत बनाईदैछ । साविकमा स्वास्थ्य चौकीहरु टाढा रहेका स्थानहरुमा आधारभुत स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रहरु स्थापना गरी संचालनमा ल्याईएका छन् । कृषिमा यहाँको प्रचुर सम्भावना रहेको छ । पुतलीबजारलाई ओरेन्ज सिटीको रुपमा विकास गरिदैछ । व्यवसायिक कृषि र पशुपालनमा कृषकहरु प्रयासरत हुनुहुन्छ । भर्खरै नगरपालिकाको लागि स्थानीय तहको निर्बाचन सम्पन्न भई नयाँ जनादेशका साथ जनप्रतिनिधिहरु आउनुभएको छ । आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्दै नगर सभाको एघारौं अधिवेशन यहि असार ९ गते सम्पन्न भईसकेको अवस्था छ ।

२. तपाई प्रमुख प्रशासकीय अधिकृत भएर कार्यभार सम्हालेपछी शिक्षा, स्वास्थ्य क्षेत्रमा थप उपलब्धी भएको छ ?

शिक्षामा नियमित कामका साथै यहाँको सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्न पछिल्लो समयमा रुम टु रिड र ब्रिटिस काउन्सिलसंगको सहकार्यमा कार्यक्रम गर्ने समझदारी गरिएको छ । क्रमशः स्थानीय पाठ्यक्रम निर्माण गरी पढाई शुरु गरिएको छ । स्वास्थ्य तर्फको कुरा गर्दा ज्येष्ठ नगरिकहरुको घरमै स्वास्थ्य परीक्षण र औषधी वितरण कोभिड महामारीको कुशल व्यवस्थापन जस्ता कामहरु भएका छन् । कोभिड महामारी व्यवस्थापनमा पुतलीबजार नगरपालिका गण्डकी प्रदेशमै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । कोभिड पूर्ण खोप घोषणा गर्ने सवालमा गण्डकी प्रदेशमै पहिलो हुन सफल भएको छ । स्वास्थ्य प्रवर्धनका नियमित कार्यक्रम र अभियानहरु चलिरहेकै छन् ।

३. आधुनिक शिक्षाको लागि थप नीति पनि परिमार्जन गर्नुभएको छ कि ?

आधुनिक शिक्षाको लागि नगरपालिका भित्रै बहुप्राविधिक शिक्षालय स्थापनाको लागि जग्गा व्यवस्थापनको प्रकृया चलिरहेको छ । व्यवहारिक शिक्षा प्रदान गर्न र शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासहरुसंग लिंक गर्न ब्रिटिस काउन्सिलसंगको सहकार्य गरिदैछ । विद्यार्थीहरुको सृजनात्मक क्षमता विकासका लागि बिभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्ने गरी कार्यक्रमहरु तय गरिएका छन् । व्यवहारिक शिक्षाका विषयवस्तुहरु समेटेर स्थानीय पाठ्यक्रम सञ्चालन गर्दैजाने नीति लिईएको छ ।

४. कृषक लाभान्वित योजना पनि नगरपालिकासँग छ ?

अवस्य छ । एक घर एक करेसाबारी, एक टोल एक नर्सरी कार्यक्रमले निरन्तरता पाएको छ । सुन्तला सुपरजोन कार्यक्रम सञ्चालन भईरहेको छ । बाख्रा, भैसी आदी पकेट क्षेत्र कार्यक्रमहरु लगायत पशु विकास तर्फ बिभिन्न सपोर्टको कार्यक्रमहरु सञ्चालन हुनेछन् । खास गरी आगामी आर्थिक वर्षदेखि कृषकहरुको तथ्याङ्क व्यवस्थापन गर्दै डिजिटाईज गर्ने कार्यक्रम रहेको छ । जसबाट सरकारी अनुदानको अनुगमन र प्रभाव मूल्याङ्कनमा समेत सहजता हुनेछ । बाँझो जमिन लिजमा लिई खेती गर्न नगरपालिकाले सहजिकरण गर्ने गरी “हाम्रो पाखो, गह्रा सबै हराभरा” भन्ने नीतिका साथ कार्यक्रम तय गरिएको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन र स्थानीय उत्पादन बिक्री केन्द्रको स्थापनाबाट बजार सहजीकरणमा योगदान पुग्ने अपेक्षा रहेको छ ।
५. दलित र पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारको लागि नगरपालिकाले के गर्दैछ ?
पोखरा विश्वविद्यालयको अध्ययन प्रतिवेदनबाट पहिचान भएका विपन्न बर्गको लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम र सीप विकास तालीमहरु प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ सय ४२ जनाले यस आर्थिक वर्षमा रोजगार पाएका छन् । लघु उद्यम विकास कार्यक्रम मार्फत तालीम र प्रबिधि हस्तान्तरण गरिएका छन् । संघ सरकार संगको समन्वयमा खरको छानो विस्थापन गर्ने कार्य अन्तिम चरणमा रहेको छ । आगामी आर्थिक वर्षमा विपन्न लोपोन्मुख जातीहरुको निशुल्क स्वास्थ्य बीमा, स्याङ्जा जिल्ला अस्पतालमै मृगौला पिडितहरुको निशुल्क नियमित डायलाईसिस सेवाको सञ्चालन लगायतका थप कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

६. सडकको अवस्था अझै दयनीय छ भनी नागरिकहरु भन्छन् नि ?

हजुर, नगर क्षेत्रमा अझैपनि धेरै सडकहरु कच्ची अवस्थामा रहेका छन् । विगतमा नयाँ ट्र्याक खोल्ने कामहरु धेरै भएका छन् । सीमित स्रोत साधन र व्यापक विकास आवश्यकताको खाडललाई व्यवस्थापन गर्दै अब सडक स्तरोन्नतीमा नगरपालिकाको बजेट केन्द्रित हुनेछ ।

७. नगरपालिकाले आगामी वर्षका लागि कुन योजनालाई मुख्य प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट बनाएको छ ?

आगामी बजेट र कार्यक्रमले पुतलीबजार नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, उद्यमशिलता विकास, सामाजिक न्याय र विद्युतीय सेवा प्रवाहको क्षेत्रमा प्राथमिकता दिएको छ । पुतलीबजार नगरपालिकालाई बालमैत्री नगर बनाउने र पुर्ण सरसफाई तथा वातावरणमैत्री नगर बनाउने लगायतका अभियानमुखी कार्यक्रमहरु समेत प्राधमिकतामा रहेका छन् ।

८. नयाँ आर्थिक बर्षको बजेट तथा कार्यक्रमले सुशासन र सेवा प्रवाहमा सुधार गर्न केही गर्दैछ कि पुरानैको नियमितता मात्र रहेको छ ?

आगामी वर्षमा नगरपालिकाको सेवा प्रवाहलाई डिजिटाईज सेवा प्रवाहमा फड्को मार्ने गरी पर्याप्त बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षदेखि नै हामीले नगरपालिकाबाट हुने भुक्तानी प्रकृयालाई सोझै सम्बन्धित फर्म, व्यक्ति वा उपभोक्ता समितिको खातामा जाने गरी विद्युतीय भुक्तानी प्रणाली लागु गर्दैछौं । कर्मचारीहरुको क्षमता विकासमा ध्यान दिईनेछ । सुशासन कायम गर्न आवश्यक सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, प्रगति सार्वजनिकिकरण आदि कार्यलाई प्रभावकारी बनाउने कार्यक्रम रहेको छ । सरोकारवाला सबैको सूचनामा सरल पहुँचको लागि वेवसाईट, पुतलीबजार नगरपालिकाको फेसबुक पेज, नगरपालिकाको भाईबर ग्रुप, टिकटकहरु सञ्चालन गरी निरन्तर अध्यावधिक गरिराखिएको व्यहोरा समेत यस अवसरमा जानकारी गराउन चाहन्छु ।

९. अन्त्यमा पब्लिक आवाज मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त धेरै धन्यवाद दिन चाहन्छु पब्लिक आवाजलाई केहि कुराहरु भएपनि यस आमसञ्चारको महत्वपूर्ण माध्यमबाट व्यक्त गर्ने मौका दिनुभएकोमा । नगरपालिका जस्तो सार्वजनिक निकायको गतिबिधिहरु जनतामाझ लैजान पब्लिक आवाज जस्तो मिडियाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । हाम्रा कमजोरीहरुमा सजग गराउनुहुन र हामीबाट हुने सेवा प्रवाहको जानकारी जनता समक्ष पुर्याउने काममा यहाँहरुको सकृय भुमिकाको अपेक्षा गर्दछु । अन्तमा सम्पूर्ण नगरवासीहरुमा सुख, शान्ति र संमृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

प्रतिक्रिया