जनमुखी काम गर्न काँग्रेस उपसभापति खड्काको आग्रह

स्याङजा ।

नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका स्याङ्जाका जनप्रतिनिधिहरुको लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति खड्काले जनप्रतिनिधिहरुले जनमुखी काम गरे मात्रै काँग्रेस पार्टी बलियो हुने बताएका हुन् ।

जनप्रतिनिधिहरुको लागि प्रशिक्षणका समेत दिदै उपसभापति खड्काले स्थानीयतहबाट नै काम गर्न थाल्ने हो भने पार्टी त्यसै बलियो हुने बताए । काँग्रेसले मतदाता समक्ष गरेको प्रतिबद्धतालाई पुरा गर्नु जनप्रतिनिधिको दायित्व हो, उनले भने,‘शासक भएर होइन सेवक बनेर जनताको काम गरौ ।’ काँग्रेसले नै मात्रै नागरिकको अधिकारको रक्षा गर्न सक्छ भन्ने तथ्य जनजनमा पुर्याउनु पर्ने भन्दै खड्काले जनताको सेवक भएर काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
रुपान्तरण आफैबाट हुनु पर्ने भन्दै खड्काले काँग्रेसको नीति र सिद्धान्तलाई पालना गर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सिद्धार्थ राजमार्गको स्तरउन्नती नभए स्याङ्जाको भविष्य छैन ः उपसभापति गुरुङ

सिद्धार्थ राजमार्गको स्तरउन्नती नभए स्याङ्जाको भविष्य नरहने काँग्रेस उपसभापति धनराज गुरुङले बताएका छन् । नेपाल कै पुरानो सडक भए पनि राज्यको ध्यान नजाँदा सिद्धार्थ राजमार्ग अस्तव्यस्त भएको छ गुरुङले भने । नेता गुरुङले सिद्धार्थ राजमार्गलाई चारलेनको बनाउनै पर्ने भन्दै यसतर्फ लाग्न जिल्लाका सबै नेताहरुलाई आग्रह गरे ।

जनप्रतिनिधिहरुलाई सुझाव दिदै उपसभापति गुरुङले बेरुजु रकम घटाउन तर्फ ध्यान दिन आग्रह गरे । बेरुजु रकम दिनप्रतिदिन बढिरहेको छ जसका कारण नेपालको आर्थिक समस्या बल्झदो छ, यसमा सबै सचेत रहनु होला जनप्रतिनिधिलाई प्रशिक्षणमा गुरुङले भने ।
नेता गुरुङले काँग्रेस पार्टीमा रुपान्तरण भए मात्रै जीवन्त रहने बताए । काँग्रेसमा रुपान्तरण अति आवश्यक छ काँग्रेसबाट जितेका सबैले यस तर्फ ध्यान दिन जरुरी छ नेता गुरुङले बताए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सरस्वती तिवारी, काँग्रेसका अग्रज नेता भोजराज अर्याल, खगेन्द्रराज रेग्मी, काँग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेस सभा सदस्य एबं मन्त्री मेखलाल श्रेष्ठ, प्रदेशसभा सदस्य भागवत प्रकाश मल्ल, गण्डकी प्रदेश सदस्य तथा वालिङ नगरउपप्रमुख कविता तिवारी, गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोबिन्द कर्माचार्य, काँग्रेस जिल्ला उपसभापति केदार काफ्ले लगायतले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिकाका बारेमा बोलेका थिए ।
बधाई तथा शुभकामना एबं अभिमुखिकरण कार्यक्रममा काँग्रेसबाट निर्वाचित भएका स्याङ्जाका प्राय सबै जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया